दशैं अगावै के का लागि स्कुल खोल्ने ?
अभिभावक भन्छन्,– स्कूलको दबाब र महाधिवेशनको असर देखियो

ललितपुर महानगरपालिकाले असोज १ गतेदेखि विद्यालय खुल्ला गराउने निर्णय गरेको छ । भदौं २८ गते बसेको महानगरीय शिक्षा समितिको बैठकले असोज १ गतेदेखि विद्यालयमा पठन पाठन गराउने निर्णय गरेको हो । 

त्यसका लागि जनस्वास्थ्य मापदण्डको पूर्ण पालना गराउने जिम्मेवारी सम्बन्धित विद्यालयलाई नै दिएको छ । मास्क र सेनिटाइजर महानगरले उपलब्ध गराउनेछ । 

विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा सम्बन्धित सरोकारवालाहरुसँग छलफल गरी स्वास्थ्य सम्बन्धी मापदण्डको पूर्ण रुपमा पालना गरी विद्यालय सञ्चालन गर्ने जिम्मा विद्यालयलाई दिने निर्णय गरिएको महाशाखाका प्रमुख महेन्द्रबहादुर क्षेत्रीले बताए ।  

त्यसका लागि विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा, २०७७ ले निर्धारण गरेका सम्पूर्ण प्रक्रियाहरु अवलम्बन गर्नुपर्नेछ । त्यस्तै चन्द्रागिरि नगरपालिकाले पनि असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय गरेको छ । 

स्वास्थ्य सुरक्षा मापदण्ड र सामाजिक दूरी कायम गर्दै विद्यालय सञ्चालन गर्न नगरपालिकाले अनुरोध गरेको छ । 

काठमाडौं उपत्यकाका अधिकांश क्षेत्रमा असोज १ गतेदेखि विद्यालय सञ्चालनमा आउँदैछन् । केही क्षेत्रमा भने यसअघि नै सञ्चालनमा आइसकेका छन् । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको आदेशपछि विद्यालयहरू खुल्ने थालेका हुन् । काठमाडौं उपत्यकामा मात्र नभएर देशभरका अधिकांश विद्यालय खोल्ने तयारीमा छन् । 



कोरोना महामारी कारण साढे दुई वर्षदेखि विद्यालय क्षेत्र प्रभावित भइरहेको छ । कोरोना महामारीको संक्रमण घट्ने/बढ्ने क्रम जारी छ । जिल्ला प्रशासन कार्यालयले कोरोना महामारीको जोखिमको अवस्था हेरेर खोल्ने नखोल्ने निर्णय गर्ने अधिकार स्थानीय तहलाई दिएको छ । सोही आधारमा स्थानीय तहहरूले धमाधम विद्यालय खोल्ने निर्णय गर्दै आएका छन् । 

कोरोना महामारीको जोखिम अहिले पनि कम नभएको भन्दै विज्ञहरूले तत्काल विद्यालय खोल्न नहुने बताउँदै आएका छन् । 



यस्तो अवस्थामा बाालबालिका नै बढी संक्रमित भइरहेको अवस्थामा यस्तो निर्णय गर्न नहुने उनीहरूको तर्क छ । एकातिर महामारीको जोखिम कम भएको छैन भने अर्कोतिर दशैं तिहार जस्ता चाडपर्व आउन धेरै दिन बाँकी छैन । असोज २१ गतेदेखि दशैं सुरू हुन्छ । दशैंको लागि विद्यालयहरूमा लामो बिदा दिइन्छ । असोज २९ गते दशैं सकिएपछि कात्तिकको १८ गतेदेखि तिहार सुरु हुन्छ । 

यो बीचमा असोज १ गते खोलेका विद्यालयले दशैं अगाडि १४ दिन मात्र पढाउन पाउँछन् । बाँकी ३ दिन शनिवार, असोज ३ गते संविधान दिवस छ । दशैं सकिएपछि पनि तिहार अगाडि १६ दिन मात्र विद्यालय खुल्छ । 

त्यो बीचमा २ दिन शनिबार छन् । साढे दुई वर्ष विद्यालय नखोल्दा केही नहुने, अहिले दशैं तिहारको मुखमा आएर विद्यालय खोल्दा के नै फरक पर्छ ? आम अभिभावकको प्रश्न छ । 

अभिभावक संघ नेपालका अध्यक्ष केशव पुरीले केही दिनको लागि केका लागि विद्यालय खोल्ने खोजिएको आफूले बुझ्न नसकेको बताए । ‘साढे दुई वर्ष त विद्यालय नखोली पढाइयो । अब १५ दिनका लागि विद्यालय खोलेर के गर्न खोजेका हुन् ? मैले पनि बुझ्न सकेको छैन’, अध्यक्ष पुरीले भने । 

‘पैसा उठाउन दशैं तिहार अगावै विद्यालय खोल्ने खोजिएको उनको भनाइ छ । दशैं तिहार नजिकिँदैछ । सबैलाई पैसा चाहियो । विद्यालय खोल्ने सकियो भने पो पैसा उठाउन सकिन्छ भनेर यस्तो गर्न खोजेका हुन्’, अध्यक्ष पुरीले भने ।  

दुई÷चार पैसाको लागि बालबालिकाको स्वास्थ्यमाथि खेलबाड गर्ने काम भइरहेको उनको भनाइ छ । ‘कसैलाई महाधिवेशनको लागि पैसा उठाउनुपरेको छ । पैसा उठाउने त्यही विद्यालयबाट हो । कसैलाई दशैं तिहारको बहाना छ । आखिरमा मारमा बालबालिका र अभिभावक नै परिरहेका छन्’, पुरीले भने । 

शिक्षाविद् प्रा.डा.विद्यानाथ कोइरालाले महामारीको जोखिम कायमै रहेको बेला विद्यालय खोल्नु आवश्यक नरहेको बताए । राज्यले महामारीका कसरी अगाडि बढ्ने भनेर नीति नै बनाउन नसकेको कोइरालाको भनाई छ । 

‘सरकारले एउटा नीति बनाएर अघि बढेको भए, यस्तो महामारीले विद्यालय क्षेत्रमा कुनै असर गर्दैन थियो । हामीले भनेको कसले सुन्छ । अन्त्यमा बालबालिकालाई जोखिममा हाल्ने र अभिभावकलाई मारमा पार्ने काम हुन्छ’, उनले भने । 

जनस्वास्थ्यविद् तथा इपिमिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा.बाबुराम मरासिनीले स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न सकियो भने मात्र विद्यालय खोल्न उपयुक्त हुने बताए । 

‘जनस्वास्थ्य मापदण्ड पालना गराउन त भनिएको छ तर, त्यो सबै विद्यालयले गर्न सक्दैनन् । त्यसको लागि अनुगमन कसले गर्ने ? यसरी त बालबालिका जोखिममा पर्छन्’, उनले भने । 

बालबालिकालाई खोप नलगाई विद्यालय खोल्न नहुने जनस्वास्थ्यविद् डा.रमेश आचार्यको भनाइ छ । अबको तेस्रो लहरमा बालबालिका बढी जोखिमा रहने भन्दै त्यसको वास्था नगरेर विद्यालय खोल्नु हानिकारक हुने आचार्यको भनाइ छ । 

७० देखि ८० प्रतिशत व्यक्तिलाई खोप नलगाउँदासम्म जोखिम कामयमै रहने भन्दै उनले भने, ‘अरुलाई खोप लगाउँदैमा विद्यालय खोल्नु हुदैन । त्यसका लागि त बालबालिकालाई नै खोप दिइनुपर्छ ।’

देशभरका ७० लाख भन्दा विद्यार्थी औपचारिक रूपमा विद्यालय जान नपाएको दुई वर्ष भन्दा बढी भयो । जुन कोरोना खोपको पूर्ण डोज नलगाउँदासम्म संक्रमणको उच्च जोखिममा हुन्छन् । 

दशैं तिहार अगावै विद्यालय खोल्न हतारो नगरौंः मन्त्रालय 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत तत्काल विद्यालय नखोल्न सबैलाई सचेत गराएको छ । मन्त्रालयले १८ वर्ष मुनिका बालबालिकालाई लगाउन फाइजर र मोडेर्ना खोप ल्याउने प्रक्रिया अगाडि बढाएको छ । 

खोप नलगाउँँदासम्म बालबालिकालाई विद्यालय पठाउन नहुने पक्षमा मन्त्रालय पनि छ । दशैं तिहार अगावै विद्यालय खोल्ने निर्णय नगर्न मन्त्रालयले सबैमा अनुरोध गरेको हो । मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले संक्रमणको जोखिम अझै कायमै रहेकाले तत्काल नै विद्यालय खोल्न सकिने अवस्था नरहेको बताए । 

सरकारले खोप ल्याउने प्रक्रियामा रहेको भन्दै दशैं तिहारपछि महामारीको अवस्था हरेर मात्र विद्यालय खोल्न सकिने उनको भनाइ छ । 

यसअघि गत वर्ष स्वास्थ्य मन्त्रालयको आग्रहलाई बेवास्ता गरेर देशभरका धेरै विद्यालय खोलिएको थियो । विद्यालय खोलिएको छोटो समयमै दोस्रो लहर आएको थियो । बालबालिकाबाट स्वास्थ्य मापदण्ड अपनाउन निकै गाह्रो हुने भन्दै विद्यालय खोल्न हतार गर्न नहुने पक्षमा मन्त्रालय छ । 

अधिकांश स्थानीय तहले विद्यालय खोल्ने निर्णय गर्न थालेपछि मन्त्रालयले बुधबार सरोकारवाला निकायसँग छलफल गरेको थियो । सरोकारवाला निकायलाई भौतिक उपस्थितिमा दशैं तिहार अगावै विद्यालय नखोल्ने आग्रह गरेको थियो । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँगको छलफलको क्रममा मन्त्रालयले शिक्षक, कर्मचारी र विद्यार्थीलाई कोभिड–१९ सँग आवश्यक अभिमुखीकरण गरी विद्यालय खोल्नुपर्नेमा जोड दिएको थियो । 

छलफलमा स्वास्थ्यराज्यमन्त्री उमेश श्रेष्ठ, कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका प्रमुख बालानन्द शर्मा, शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलिया, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन), नेपाल निजी तथा आवासीय विद्यालय अर्गनाइजेश, (ऐनप्याब्सन) र अभिभावक संघको सहभागिता थियो । 
 

  • प्रकाशित मिति : असोज १, २०७८ शुक्रबार ९:३२:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया