नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले देशमा रहेका नराम्रा कुराहरू हटाउने दाबी गरेका छन् । पार्टी कार्यालय स्थापना गर्दै आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन् ।
उनले भने, ‘हामी विज्ञका कुरा सुन्नेछौं । हामी कुनै पनि क्षेत्रमा जाँदा अध्ययनमा ध्यान दिनेछौं । अनुसन्धानमा ध्यान दिनेछौं । नयाँ नयाँ प्रगोगमा पनि ध्यान दिनेछौं । आजसम्म प्राप्त भएका सबै राम्रा कुराहरूको अनुशरण गर्नेछौं । देशमा रहेका नराम्रा कुराहरू हटाउनेछौं ।’
अझै पनि नेपाली समाजमा विभिन्न प्रकारका सामन्ती प्रवृत्तिहरू रहेको बताउँदै उनले भने, ‘नेपाली समाजमा विभिन्न प्रकारका सामन्ती प्रवृत्तिहरू विद्यमान छन् । विभिन्न अवशेष विद्यमान छन् । जनताका न्यूनतम चाहना छन् । गाँस, बास कपास, शिक्षा स्वास्थ्य रोजगारी । हामी त्यसमा गम्भीर हुनेछौं ।’
बानेश्वरस्थित आलोकनगरको पूजा थापा बस्नेतको घरमा रहने कार्यालय शुभारम्भ विशेष कार्यक्रम आयोजना गरेर पार्टी कार्यालय स्थापना भएको हो ।
पार्टी कार्यालय शुभारम्भ कार्यक्रममा बोल्दै अध्यक्ष माधवकुमार नेपालले नयाँ आशा र विश्वास जगाउँदै जनमानसमा भएको निराशा चिर्ने काम आफ्नो पार्टीले गर्ने बताए । ‘जनतालाई अलमल्याउनका लागि दशथरी कुराहरू गर्दै हामी चल्ने छैनौं । हामी जनतासँग जोडिनेछौं, देशसँग जोडिनेछौं’, नेपालले भने ।
आफूहरूको सम्पूर्ण सोच नेपाली जनतामा समर्पित हुने बताउँदै राष्ट्रभावको भावनाले आफूहरूको सोचलाई ओतप्रोत हुने बताए । ‘सामाजिक न्यायका लागि, समुन्नताका लागि अगाडि बढ्नेछ’, नेपालले भने । पार्टी र आन्दोलनको रक्षाका लागि सधैंभरि समर्पित हुने बताउँदै उनले भने,‘जनताको बहुदलीय जनवादको मान्यतालाई आत्मसाथ गर्दै हामी क्रियाशील हुनेछौं ।’
साथै, उनले पार्टीको केन्द्रीय कमटिी बैठक ५ असोजमा बस्ने बताए । ‘संसदको बैठक ४ गते बस्दैछ । ५ गते हाम्रो केन्द्रीय कमिटीको बैठक बस्दैछ । हामी सरकारमा जान कुनै समस्या छैन् । हामी तयार छौं । आज भने आज तयार छौं, भोलि भने भोलि तयार छौं’, उनले भने ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।