केपी शर्मा ओलीलाई सबैभन्दा बढी रिस कोसँग उठ्छ- देउवा, प्रचण्ड वा नेपाल ?

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको ‘शब्दवाण’ बेहोर्नेलाई खुत्रुक्कै पार्ने र सुन्नेलाई मनोरञ्जन दिनेखालको हुन्छ । आफ्ना विरोधीहरूलाई ‘हाँस्यरस’ मिसाएर आक्रमण गर्न सिपालु ओली प्रधानमन्त्रीको कुर्सीबाट हट्नुपर्दा सबैभन्दा बढी माधव नेपाल, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवामाथि खनिएका छन् । 

कतिपय राजनीतिक विश्लेषकले उनलाई ‘आलोचना सम्राट’को उपाधिसमेत दिने गरेका छन् । 

२८ असारमा प्रधानमन्त्रीको कुर्सीबाट हटेका ओली ३० असारमा दलबलसहित बालुवाटारबाट बालकोट फर्किए । बाजागाजासहित बालकोट भित्रिएका उनले सोही दिन घरको बार्दलीबाट सुरु गरेको ‘वाणीप्रहार’ निरन्तर जारी छ ।
 
एमाले विवाद उत्कर्षमा पुगिरहेकै बेला ओली बालकोट भित्रँदै असन्तुष्ट नेता माधव नेपालमाथि खनिए । त्यो दिनदेखि आजका मितिसम्म आइपुग्दा ओलीले सबैभन्दा बढी गाली माधव नेपाललाई नै गरेका छन् । उनले नेता नेपाललाई ‘गद्दार’ मात्रै भनेनन् ‘अपराधी’समेत भन्न भ्याए । उनले आफ्ना राजनीतिक सहयात्रीमाथि पोखेको तीतो उनकै पक्षका कतिपय नेता-कार्यकर्तालाई समेत मन परेको छैन । सभासमारोहमा उनी नेपालपछि प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डको आलोचनामा व्यस्त हुन्छन् ।
 
एमालेकै नेताहरूको बुझाइमा यतिबेला अध्यक्ष ओली चुनावी अजेन्डामा केन्द्रित भइसके । जसका लागि आफूलाई सत्ताबाट हटाउन महत्वपूर्ण खेल खेलेका देउवा, प्रचण्ड र नेपालको चर्को आलोचना गरिरहेका छन् । ओलीले आफू प्रधानमन्त्रीबाट हटेपछि देउवालाई अलोकतान्त्रिक प्रधानमन्त्री, प्रचण्डलाई छट्टु नेता र नेपाललाई खरानी धसेर तन्नम् भएका व्यक्तिको रूपमा चित्रण गरिरहेका छन् ।

ओलीको नजरमा देउवा

प्रधानमन्त्रीको कुर्सी देउवालाई सुम्पिएर बालुवाटारबाट बिदा भएका ओली त्यसपछिका दिनमा ‘परमादेशी सरकार’ भन्दै देउवामाथि व्यंग्य कसिरहेका छन्। 

दुई दिनअघि बुटवल पुगेका ओलीले देउवातर्फ लक्षित गर्दै परमादेशबाट प्रधानमन्त्री हुनु लोकतान्त्रिक नभएको टिप्पणी गर्न भ्याए । ‘अदालतको परमादेशबाट प्रधानमन्त्री हुने लोकतन्त्र हो ? प्रधानन्यायाधीशले प्रधानमन्त्री तोक्ने कुरा लोकतन्त्र हो ?’ उनले प्रश्न गरेका थिए ।



साथै, उनले अहिलेको सरकार आगामी चुनावसम्म पनि टिक्न मुस्किल भएको दाबी गरे । उनले भने, ‘अहिलेको सरकार आउने चुनावसम्म पनि टिक्न मुस्किल छ, अरू कुरा त के गरौं ? तर, एमालेले चुनावसम्म अहिलेको सरकार टिकोस् भन्ने कामना गरेको छ ।’ अहिले सरकार ओइलाएको साग जस्तो भएको भन्दै उनले भने, ‘दुई महिनासम्म मन्त्रिमण्डल विस्तार गर्न नसक्ने सरकारले अरू के गर्न सक्ला ?’

ओलीले देउवा सरकारले राष्ट्रियता जोगाउन नसकेको आरोप पनि लगाएका छन् । उनले केही दिनअघि पोखरामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै भनेका थिए, ‘नेपालको आकाशमा भारतीय हेलिकप्टर उडेको विषयमा सरकार मौन बस्यो, यो सरकारले राष्ट्रियता जोगाउन सकेन ।’



ओलीको नजरमा प्रचण्ड

केही समय अघिसम्मका राजनीतिक सहयात्रीमात्रै होइन एउटै दलमा समेत रहेका प्रचण्डको सबैभन्दा बढी आलोचना गरिरहेका हुन्छन्, यतिबेला ओली । उनले प्रचण्डलाई ‘छट्टु’ नेतादेखि धोकेबाजसम्मको ट्याग लगाइदिएका छन् । केही दिनअघि कार्यकर्ता भेलालाई सम्बोधन गर्न पुगेका ओलीले प्रचण्डप्रति लक्षित गर्दै भने, ‘प्रचण्ड असल बाबु, काका र असल सुसुरो, सम्धी भए पनि धोकेबाज, बेइमान र छट्टु नेता हुन् ।’

हिजोमात्रै ओलीले प्रचण्डले पाएको पार्टीको नाममात्र भएको भन्दै माओवादी केन्द्र आफूसँगै भएको दाबी पनि गरे । ओलीले भने, ‘त्यो माओवादी केन्द्र होइन प्रचण्ड गुट हो । नाम पाउनु बेग्लै कुरा हो । एकीकृत पार्टीमा आउनुस् । माओवादी केन्द्रका साथीहरु देशव्यापी रूपमा हामीसँग हुनुहुन्छ ।’

प्रचण्डमाथि ओलीले कडा आलोचना गर्दै भनेका छन्, ‘तपाईंहरू पार्टीको कार्यकर्ता हो कि प्रचण्डको घरेलु कार्यकर्ता ? प्रचण्डलाई घाँस हालेर के दिन्छन् ? मन्त्री दिन्छु भन्थे अहिले त त्यो पनि दिन छाडे । दुई महिना भइसक्यो अहिले मन्त्री पनि बनाएको छैन ।’ प्रचण्ड उडेको विमानजस्तै भएको भन्दै उनले बिलाउँदै जाने दाबी पनि गरे।

ओलीको नजरमा माधव नेपाल 

यतिबेला ओलीलाई सबैभन्दा बढी रिस कोहीसँग उठेको छ भने, त्यो पात्र हो- माधव नेपाल । किनभने, झण्डै दुईतिहाइ बहुमत पुर्‍याएर सत्ताआरोहण गरेका ओलीलाई सत्ताच्युत गर्न सबैभन्दा बढी भूमिका नेपालले नै खेलेका थिए । आफ्नै दलमा छँदा पनि पछिल्लो समय नेपालसँग ओली कहिल्यै खुसी भएको देखिएन । झन् नयाँ दल खोलेपछि त नेपालमाथि ओली आक्रामक नै बनेका छन् । 

सार्वजनिक सभा होस् या पार्टीको आन्तरिक बैठक सबैभन्दा बढी नेपालप्रति नै खनिएका हुन्छन्, ओली । सत्ताबाट हटेको रिस ओलीले जताततै पोखिरहेका छन् । उनको कटाक्षबाट सायदै कोही जोगिएका होलान् । विशेषगरी, उनी र उनका क्रियाकलापलाई लिएर आलोचना गर्नेहरूलाई त उनले शब्दका गोली नै प्रहार गर्दै आएका छन् । त्यसको मुख्य निशानामा परेका छन्- माधव नेपाल । बिहीबार नेपालमाथि खनिँदै उनले भने, ‘माधव नेपालले घरमा आगो लगाए, निधारमा खरानी घसे अनि तीर्थयात्रामा निस्किएका छन् ।’

उनले नेपाललाई फाहोरको डंगुरको संज्ञासमेत दिए । उनले भने, ‘मौरीको संगत लागेर गए फूलबारी पुगिन्छ, झिँगाको पछि लागे फोहोरको डंगुरमा पुगिन्छ । त्यसकारण मौरीका पछि लाग्नुस् । एमाले भनेको मौरीको गोलो हो । मौरीले जहाँबाट पनि यस्तो चिज टिपेर ल्याउँछ, पवित्र, निरोगी मह बनाउँछ । झिँगाले कहिले मह बनाउँछ ? रोग फैलाउने मात्रै हो । त्यसकारण रोग फैलाउनेका पछाडि लाग्नुहुँदैन ।’

  • प्रकाशित मिति : असोज १, २०७८ शुक्रबार १४:२२:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया