आधा निद्रामा नै आमाहरूको रात कट्दो रहेछ
फरकधार / २ असोज, २०७८

एक प्राइभेट कम्पनीको जागिर । घरमा बा, आमा र भाइ । सानो परिवार । बिहे जिन्दगीको सपना बनेकै थिएन । बरू सपना जसरी नै बिहे भयो । 



अनिता त्यो समय १० कक्षामा पढ्दै थिइन् । स्कुलमा कार्यक्रम थियो । प्रमुख अतिथि बनेर पुगेका थिए, सत्यराज । सत्यले पहिलो पटक त्यही देखेका थिए,  अनितालाई । त्यसपछि लामो समय उनीहरूको भेट भएन । 

रेस्टुरेन्टमा जम्काभेट

अनिताले बिए सकेर जागिर सुरू गरिन् । जीवनको आफ्नै लय थियो, उनको । एकदिन साथीहरूसँग रेस्टुरेन्टमा पुगेका बेला अनिताको जम्काभेट सत्यराजसँग भयो । त्यो दोस्रो भेट थियो । १० कक्षा पढ्दा देखेकी फुच्ची, धेरै कुरा परिवर्तन भएको थियो । तर, सत्य अनितालाई चिन्न चुकेनन् । सत्य पनि आफ्नै साथीसँग रेस्टुरेन्टमा पुगेका थिए । 



अनिता एक अंग्रेजी पत्रिकाको मार्केटिङ गर्थिन् । त्यसपछि सत्यले विभिन्न कार्यक्रममा निम्ता दिन थाले । अनिता कार्यक्रममा जाँदैनथिइन् । सत्य चलेका गायक । अनिताले भने उनको गीत पनि सुनेकी थिइनन् । उनले भक्तराज आचार्यका गीत भने थुप्रै पटक सुनेकी थिइन् । 

अनिताले जीवनका सपना बुन्न भ्याएकै थिइनन् । सत्यले भने अनितालाई आफ्नो मनभित्र सजाइसकेका थिए । उनले बारबार फोन गर्थे । अनिता फोन उठाउँथिन्, सोधेको उत्तर दिन्थिन्, फोन राखिदिन्थिन् । सत्य र अनिताबीच लामै समय दोहोरो संवाद भएन । सत्यका कयौं म्यासेज प्रतिक्रियाविहीन भए । फोन र म्यासेजमा अनिताको चासो थिएन । त्यहीबीचमा उनीहरूको केही पटक भेट पनि भयो । 

बिहेको प्रस्ताव

समय बित्दै गयो । सत्यले अनितालाई भेट्न बोलाए । त्यतिबेलासम्म अनिताले जीवनका बारेमा सोचेकै थिएन, भविष्यबारे योजना बनाएकै थिइनन् । सत्यले एकैपटक बिहेको प्रस्ताव राखे । अनिताले यति ठूलो प्रस्ताव आउला भन्ने कल्पनै गरेकी थिइनन् । उनले सिधैं अस्वीकार गरिन् । उनीहरू छुट्टिए । 

समय आफ्नै रफ्तारमा दौडिरह्यो । अनिताको अस्वीकृतिसँग सत्यले हार मानेनन् । उनले संवाद टुंग्याएनन् । अनितालाई पनि उनको दुख्ने अतीतले छुँदै गयो । सत्यको साँचो मनले अनितालाई आकर्षण गर्न थाल्यो । विस्तारै अनिता पनि सत्यप्रति सकारात्मक बन्दै गइन् । सत्यकी आमालाई पनि छोराको छनोट मन परेको थियो । उनले छोरालाई बारम्बार भनेकी थिइन्, ‘तैँले यही केटीसँग बिहे गर् । अरू हेर्नु पर्दैन ।’ 

आफ्नो सपना देख्नै भुलेछु

बिहे गर्दा अनिताका खास ठूला सपना केही थिएनन् । उनले गर्दागर्दैको जागिर छोडिन् । बिहे पक्का भएपछि नै उनले सोचेकी थिइन् ‘केही वर्ष म मेरो परिवारलाई समय दिन्छु ।’ उनलाई लागेको थियो, ‘नयाँ घर, नयाँ परिवारका सदस्य । काम र घर दुबैलाई सँगै लैजाँदा दुबै फितलो होला कि ।’ दुईमध्ये एकलाई बलियो बनाउनु थियो । उनले परिवार रोजिन् । उनी आफैलाई पनि बुझ्नु थियो नयाँ घरको चालचलन । परिवारको चाहाना । ‘बिहेपछि छोरी मान्छेले परिवारलाई कसरी खुसी बनाउने । कसरी घर गरिखाने ? नयाँ घरमा आफूलाई कसरी सहज बनाउने भन्ने हुँदोरहेछ’, अनिताले परिवारमा भिज्न गरेको प्रयास सुनाइन् । 

बच्चाको खुसी

अनिता र सत्यको उमेरको फेरो अलि लामै छ । उनका भाइ स्वरूपका छोरा हुर्किसकेका थिए । उनी अनितालाई भनिरहन्छन्, ‘तिमीलाई त्यस्तो नलाग्न सक्छ । मेरो उमेर गइसक्यो । मेरो सर्कलका साथीका छोराछोरी टिनएजका भइसके  ।’ अनितालाई पनि ठीकै लाग्थ्यो । त्यहीअनुसार उनीहरूले आमाबाबु बन्ने तयारी गरे । बिहे गरेको २ वर्षपछि अनिता पहिलो पटक आमा बन्ने भइन् । 

आमा हुँदैछु भन्ने भएपछि अनिताको मनमा अनौठो तरंग आयो । त्यो कस्तो थियो, शब्दमा व्यक्त गर्नै सक्दिनन्, उनी । आमा बन्ने पक्का भएपछि उनले आफ्नी आमालाई भनिन् । उनकी आमाको मनमा के-के चल्यो थाहा छैन । अनिताले आजसम्म आमालाई यो प्रश्न गरेकी पनि छैनन् । उनको मनमा भने थोरै लाज र अप्ठ्यारो महसुस भयो । उनलाई लागिरहेको थियो, ‘आमा अब तिम्रो ठाउँमा म पुग्न आँटेँ । म अझैै जिम्मेवार हुँदैछु ।’ उनलाई लागेको थियो, ‘अब म सम्पूर्ण रूपले पूर्ण हुँदैछु ।’

अनिता गर्भवती भएको खबरले सत्य सबैभन्दा धेरै खुसी भएका थिए । सुरूमा त सत्यलाई यो कुरा विश्वास गर्नै गाह्रो भएको थियो । उनले दुई तीन पटकसम्म बच्चा बसेको हो कि होइन पक्का गर्न भनेका थिए । लामो समयदेखि चाहेको तर नपाएको खुसी एक्कासि सुन्दा विश्वास गर्न गाह्रो भएको थियो, सत्यलाई ।
सत्यलाई जस्तै प्रतीक्षा थियो, उनका बुवाआमालाई पनि । उनले बुवा भक्तराज आचार्यलाई बुवा बन्दै गर्दाको खुसी सुनाए । भक्तराजले मुसुमुसु मुस्कुराएर खुसी व्यक्त गरे । सत्यराजलाई आफू बाबु बन्दै गर्दा आफ्नो बुवाले ब्यक्त गरेको त्यो खुसी खास लागेको थियो । 

आठ महिना नै ‘नोजिया’

गर्भवती भएदेखि नै अनितालाई हरेक खाना गन्हाउन थाल्यो । केही खाना रुच्दैनथ्यो । जे खायो उल्टी भइहाल्ने । गर्भवती अवस्थामा उल्टी हुनुलाई सामान्य रूपमा लिइन्छ । असामान्य चाहिँ उनले गर्भवती अवस्थाको बेलामा ६ किलो तौल घट्यो । अनिताले गर्भवती अवस्थाको खुसी सेलिब्रेट गर्न पाइनन् । ९ महिना नै बिरामीजस्तै भएर बिताइन् । 

एउटी महिलाका लागि गर्भवती हुनु, बच्चा जन्माउनु सामान्य कुरा हो । अनितालाई पनि सामान्य लाग्थ्यो । तर थुप्रै अप्ठ्याराहरू आए । फलफूल मात्रै खाएर उनको गर्भावस्था सकियो । कतिबेला के हुन्छ थाहा हुँदैनथ्यो । अनिताको मनमा डरले डेरा जमाइरहन्थ्यो । 

श्रीमानको समय थिएन

अनिता गर्भवती हुँदा सत्यको करिअर पिक आवरमा थियो । उनी देशविदेशका कार्यक्रममा व्यस्त । गर्भवती अवस्थामा हरेक महिलाले श्रीमानकाे साथ खोज्छन् । तर अनिताले सत्यसँग तीन महिना पनि बिताउन पाइनन् । त्यो बेला अनितालाई श्रीमानको अभाव निक्कै महसुस हुन्थ्यो । कति कुरा मनमा उथलपुथल हुन्थे । अप्ठ्यारो आउँथे । घरमा सबैजना भएर पनि कोही नभएजस्तो लाग्थ्यो । तर यो अभावले अनितालाई कमजोर भन्दा बलियो बनायो । अनितालाई लाग्यो, ‘अभावले मान्छेलाई बलियो बनाउँदो रहेछ ।’ 

पहिलो गर्भ । अनिताको माइतीमा धेरै छोरी नै थिएनन् । गर्भवती अवस्थाका बारेमा त्यति जानकारी पनि थिएन । बेलाबेलाको दुखाइ उनलाई अनौठो लाग्थ्यो । लभेर पेन (सामान्य प्रसव व्यथा) जस्तो महसुस भइरहन्थ्यो । खान नसक्दाको पीडा अलग्गै थियो । यी सबै कुरा श्रीमानलाई सुनाउन पाए हल्का हुन्थ्यो होला जस्तो लाग्थ्यो । घरका सबैले केयर गर्थे, माया गर्थे । उनी भन्छिन्, ‘हरेक सम्बन्धको आफ्नै सौन्दर्य हुने रहेछ । श्रीमानको अभाव अरूको मायाले लिन सकेन ।’

एक महिना अगावै सुत्केरी

गर्भावस्थाको ८ महिना चल्दै थियो । एक्कासी अनिताको पेट ढुङ्गा जस्तो भयो । बच्चाको हार्टबिट बन्द भयो । अनिता त्यतिबेलासम्म आमा बन्न तयार नै थिइनन् । त्यो दिनको जस्तो दुखाई उनले गर्भावस्थाका विभिन्न समयमा बेलाबेला भोगिरहेकी थिइन् । अनिताले असोज १६ लाई डेलिभरी डेट पाएकी थिइन् । भदौको पहिला साता बिहानैबाट असजिलो महसुस गरेकी अनिताले यो अप्ठ्यारो भने श्रीमानलाई सुनाउन पाइन् । त्यसको दुई दिनअघि मात्रै उनी नेपाल फर्किएका थिए । त्यही दिन दिउँसो उनलाई अझैं धेरै गाह्रो भयो । उनले पाटन अस्पतालकी डा.विमला मल्ललाई फोन गरिन् । मल्लले अस्पताल जान सुझाइन् ।  

खपिनसक्नु प्रसव पीडा

अस्पतालले एक रात अब्जरभेसनमा राख्यो । भोलिपल्ट पनि बच्चाको हार्टबिट चलेको देखाएन । अस्पतालले ‘अब रिक्स नलिऊ, डेलिभरी गराऊँ’ भन्यो । उनलाई सुत्केरी व्यथा लाग्ने औषधि ख्वाइयो । अनितालाई निक्कै गाह्रो भयो । ज्वरो आयो । त्यसपछि डाक्टरले अप्रेसन गरेर बच्चा निकाल्न भने । त्यतिबेला सत्य अस्पतालबाट निस्किइसकेका थिए । त्यो दिन ‘इमेज अवार्ड’ थियो । सत्य त्यही अवार्ड कार्यक्रममा पुगेका थिए । अस्पतालमा अनिताकी आमा थिइन् । श्रीमतीलाई अप्रेसन थिएटरमा लैजाँदा हस्ताक्षर गरिने कागजमा पनि हस्ताक्षर गर्न पाएनन्, सत्यले । उनी कार्यक्रमबाट फर्किएर अस्पताल पुग्दा छोरो जन्मिएको २ घण्टा भएको थियो । 

छोराछोरीमा विभेद थिएन । अनिताले कहिल्यै मेरो गर्भमा के होला भनेर चिन्तन गरिनन् । मात्रै मेरो बच्चा छ भन्ने हुन्थ्यो । गर्भावस्थाको केही महिनापछि ससुरा भक्तराज आचार्यले भनेका थिए, ‘तेरो बच्चाको नाम संगीत राज आचार्य भयो ।’ बुवाले किन त्यसो भने न कहिल्यै सत्यले प्रश्न गरे । न त अनिताले नै । अनिताले भने कहिले चाहिनन्, ‘मेरो छोरा नै होस् अथवा छोरी नै होस् ।’ जब प्रसव व्यथा व्यहाेर्नुपर्‍याे । उनले कामना नै गरिन्, ‘मेरो छोरी नजन्मियोस् ।’

सामान्य चेकअपका लागि अस्पताल पुगेकी अनिता डेलिभरीका लागि तयारी थिइनन् । त्यसमा पनि अप्रेसन गर्नुपर्ने भयो । उनले अप्रेसन थिएटरमा पस्नुअघि नै अत्यधिक प्रसव पीडा सहिसकेकी थिइन् । अप्रेसन थिएटरमा पस्दै गर्दा श्रीमान साथमा थिएनन् । अनिताका आँखाबाट आँसुको भेल बगे । त्यति नै बेला कामना गरिन्, ‘मेरो छोरी नहोस् । छोरी भई भने उसले पनि यस्तै पीडा बेहोर्नुपर्छ ।’ उनको अप्रेसन भयो । सोचेको जस्तै उनी छोराकी आमा भइन् । जब उनले छोरो हातमा समाइन अनि लाग्यो, ‘अहो ! मेरो छोरी नजन्मियोस् भनेर मैले कति गलत सोचेछु । अहिले मैले गरेको अनुभव त त्यही छोरीले बाहेक अरूले गर्न पाउँदैन ।’

छोरो जन्मिएको दुई घण्टापछि अस्पताल पुगेका सत्यले अनिताको अनुहार कतिबेला हेरे अनितालाई थाहा छैन । श्रीमतीलाई हेरेर केके सम्झिए, सोचे त्यो पनि उनले आजसम्म सोधेकी छैनन् । अनितालाई भने अहिले पनि लाग्छ ‘जिन्दगीका महत्वपूर्ण ‘मोमेन्ट’ हरूमा सहभागी हुन पाएनन् मेरा श्रीमान् ।’ अनिता अप्रेसन थिएटरबाट बाहिर निस्कँदा भने सबैजना जम्मा भैसकेका थिए । उनले सबैको अनुहारमा खुसी पढिन् । तत्काल केही प्रतिक्रिया दिने अवस्थामा थिइनन् । 

पहिलोपटक छोराको अनुहार पत्रिकामा

अनिता आमा भइन् । अप्रेसन थिएटरबाट बाहिर पनि आइन् । उनको आँखा वरिपरी नै थियो, उनको छोरो । तर, उनमा पूर्ण होस थिएन । अर्धचेत अवस्थामा छोरो बोकिन पनि । छोरालाई चुमिन पनि । पूर्ण रूपमा होस् आएपछि भने उनले पहिलो पटक छोराको अनुहार पत्रिकामा हेरिन् । सत्य अस्पतालमा आउनेहरूसँग गफ गरेर खुसी साटिरहेका थिए । अस्पतालमा उनीहरूलाई बधाई दिन धेरै मान्छे आए । अनिता आफैंलाई पनि त्यतिबेला लागेको थियो ‘अहो ! हामीलाई माया गर्ने कति धेरै आफन्त रहेछन् ।’ अस्पताल प्रशासनले नै धेरै मान्छे आए भनेर उनीहरूलाई कम्प्लेन गरेको थियो । 

चार दिनमा घर

सुत्केरी भएको चार दिनमा अस्पतालले डिस्चार्ज गरिदियो । अनिता छोरो लिएर घर फर्किइन् । त्यो दिन उनलाई संसारभरीको खुसी घरभित्र पस्दै गरेको महसुस भएको थियो । बच्चा भएपछि आमाले आफ्नो ख्याल गर्न बिर्सँदा रहेछन् । अनिताले पनि बिर्सिइन् । उनको सम्पूर्ण ध्यान छोरामा नै हुन्थ्यो । बच्चालाई के भैरहेको छ, पसिना आएको छ की, बच्चाले किन दूध चुसेन ? यावत तर्कनाले सताइरहन्थ्यो अनितालाई । त्यसबेला उनलाई लाग्यो, ‘आमा कति धेरै कन्सर्न हुँदा रहेछन् ।’ 

अस्पतालबाट घर फर्किएपछि भक्तराजलाई नाति देखाउन लगियो । उनले नातिको मुख हेरेर भने, ‘नाति म जस्तै रहेछ ।’ अनिता र सत्यले छोराको नाम संगीत नै राखे । भक्तराजले भनेझैं संगीतका अधिकांश स्वभाव हजुरबुबासँग मिल्छन्, अहिले पनि । अनिता भन्छिन्, ‘बुवा सफाइमा असाध्यै ध्यान दिनुहुन्थ्यो । संगीतको बानी पनि त्यस्तै छ । बुवाको ६० प्रतिशत बानी संगीतमा छ ।’

हुर्काउँदा पनि बुवा भएनन् 

छोरो जन्मिएको भोलिपल्टबाटै सत्य पुनः काममा निस्किए । छोरो हुर्कने समयको पनि साक्षी बन्न पाएनन्, सत्यराज । अनिताको सम्पूर्ण समय छोराले लियो । आमा भएपछि पूर्ण निद्रा पनि आउँदैन रहेछ । उनलाई आधा निद्रा मात्रै लाग्थ्यो । ‘छोरोलाई मैले किचेकी, छोरो के गर्दै छ ?’ भन्ने कुरा मनमा आइरहन्थ्यो । उनी रातभरि उठ्थिन् । अहिले पनि छोरो साथमा लिएर सुतेको दिन पूर्ण निद्रा आउँदैन अनितालाई । 

संगीत हुर्कँदै गए । बच्चाहरूको बोली फुट्ने सामान्य समयभन्दा अलि बेसी लाग्यो, उनलाई बोल्न । अनिताले कहिले भाकल गरिन्, कहिले गुगल गरिन् । सन्तानको जति पीर कसैको नहुँदो रहेछ, संसारमा । 

पहिलो पल्टको त्यो बिछोड 

संगीत साढे दुई वर्षका भएपछि अनिताले स्कुल हालिन् । छोरो स्कुलमा छोडेर फर्किइन् । उनलाई निक्कै गाह्रो भयो । पहिलो दिन उनी छोरो छोडेर फर्किन सकिनन् । छोरोसँगै स्कुलमा बसिन् ।  कहिले के बहाना बनाएर स्कुल गइरहन्थिन् । विस्तारै बानी पर्दै गयो । 

संगीत थोरै बोल्छन् । कम साथी बनाउँछन् । प्रतिकार गर्दैनन्, साथीहरूसँग । शान्त स्वभावका संगीत प्रकृतिसँग रमाउँछन् । अनिता अझै पनि सत्यमा बचपना देख्छिन् । संगीत भने बच्चैमा परिपक्व कुरा गर्छन् । व्यवहार गर्छन् । भन्छिन्, ‘मेरो छोराको बचपना देख्नै पाइनँ ।’

कहिलेकाहीँ सत्य र अनिताको सामान्य भनाभन हुन्छ । उनी भन्छन्, ‘हजुरहरूलाई ह्याप्पी परिवार बन्नु छैन ?’ भनेर प्रश्न गर्छन् । उनको प्रश्न सुनेर अनिता भावुक हुन्छिन् । अनितालाई लाग्छ ‘यति गम्भीर प्रश्न कसरी आउँछ होला छोरालाई ?’

  • प्रकाशित मिति : असोज २, २०७८ शनिबार ७:३०:०,   अन्तिम अपडेट : असोज २, २०७८ शनिबार १०:५३:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया