नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १४ औँ महाधिवेशन स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउनका लागि पार्टी सभापति शेरबहादुर देउवाले ध्यान दिनुपर्ने बताएका छन् ।
शनिवार नेपाली कांग्रेसका नेता गणेशमान सिंहको २५ औँ स्मृति दिवसको अवसरमा गणेशमान सिंह फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले निर्वाचन समिति निष्पक्ष हुनुपर्ने र निर्वाचन समितिले गरेका काम पनि निष्पक्ष देखिनुपर्नेमा जोड दिए।
विवाद भएको ठाउँमा स्थगन गरेर प्रक्रिया पूरा भएको ठाउँको अधिवेशन गर्ने पार्टीको निर्णय अनुसार अधिवेशन नगरेमा अलोकतान्त्रिक गतिविधि बढ्ने भन्दै उनले अधिवेशन स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन पार्टी सभापतिले ध्यान दिनुपर्ने बताए ।
उनले भने, ‘पार्टीलाई शुद्धीकरण गर्नको लागि, पार्टीलाई सुदृढ गर्नको लागि हामीहरू अगाडि बढ्नुपर्छ । जुन जिल्लाका वडामा उजुरी परेको छ । त्यसलाई पार्टीको विधान, नियमसम्मत तवरले सम्बोधन गर्नुपर्छ । निष्पक्ष निर्वाचन समिति हुनुपर्छ । देखिनु पनि पर्छ र काम पनि त्यही अनुसार गर्नुपर्छ भनेका छौँ । विवाद मिलाउन नसक्ने क्रियाशील सदस्यतालाई स्थगन गरेर विधि प्रक्रिया पुरा गरेका, नवीकरण गरेकालाई राखेर अधिवेशन प्रारम्भ गर्ने निर्णय भएको छ । त्यसको स्प्रिट अनुसार गर्न सकेन भने अलोकतान्त्रिक गतिविधि बढ्ने भएकाले सभापतिले ध्यान दिनुपर्छ । स्वच्छ, निष्पक्ष र धाँधलीरहित रूपले सम्पन्न गर्नुपर्छ ।’
नेता सिंहले गठबन्धनका अन्य दलले आन्तरिक व्यवस्थापन समयमै गर्न नसकेका कारण सरकार बिस्तारमा ढिलाइ भएको बताए । उनले प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले संसदमा देखाएको व्यवहार असंसदीय भएकाले त्यसलाई सच्याउनुपर्ने जिकिर गरे ।
उनले वर्तमान सरकारले कोरोना विरुद्धको खोपलाई रफ्तारमा अघि बढाएको बताए । नेता गणेशमान सिंहले नेपाली राजनीतिको आदर्शवान, राष्ट्रवादी, प्रजातन्त्रवादी र देशभक्त नेताको छवि बनाएको पनि उनले उल्लेख गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।