स्नेही पनातिनी !
असीम सम्झना, असीम प्यार । प्रस्फुटन हुन बाँकी एउटा फूल । कस्ती हौली तिमी, अनिश्चयको बादलमा रुमलिँदै तिम्रो बिम्ब कल्पेर यो पत्र लेखिरहेछु । तिमीलाई केही कुरा भन्न मन उम्लिरहेछ, बेचैनीले पोलिरहेछ ।
म तिम्रो जिजुबाजे !
तिम्रै बाबुआमा अर्थात् मेरा नातिनातिना पनि जन्मिसकेका छैनन् यस धर्तिमा । तिम्रा हजुरबा हजुरआमा अर्थात मेरा छोराछोरी छन् र तिनीहरूले आफ्ना छोराछोरीलाई अवश्य यो पत्रमा उल्लेखित कुरा भन्नेछन् । मेरो नातिनातिना अर्थात तिम्रा बाबुआमाले तिमीलाई मेरो अनुभूति नसुनाउन पनि सक्छन्, नभ्याउन सक्छन् । त्यसैले, म सिधै यो पत्र तिमीलाई लेखिरहेछु ।
जवाहरलाल नेहरुले छोरी इन्दिरा गान्धीलाई विश्व इतिहास उधिनेर दीक्षित गर्न लेखेको पत्र होइन यो । महान् नेताझैँ जेलमा बसेर घरमा के पाक्यो, सोधी पठाएको पत्र पनि होइन । रेमिटान्स पठाएँ भनेर विदेशबाट आएको खबरझैँ यसभित्र गुलिया कुरा छैनन् । तिम्रो जिजुबाजेले काँडाजस्तो स्थितिमा कसरी जीवन उत्सर्ग गर्याे, त्यसको सत्य इतिहास लेखिरहेछु, सिर्फ तिम्रो नाममा !
तिम्रो जिजुबाजे किन बेसमयमै बूढो र रोगी भयो ? कस्तो छ अहिलेको व्यवस्था/अव्यवस्था ? ती सबै मिसाएर बिल्कुल साधारण र ताजा समय लेखिरहेछु । मेरा लागि यो जति ताजा छ तिम्रो लागि दुखान्त इतिहास हुनेछ । यति साधारण इतिहास सायदै अरू कसैले लेख्ने छन् भनेर लेखिरहेछु ।
तिमीलाई थाहा छैन, नेपालमा लुकाइएको छ हरेक सत्य इतिहास । राजा महाराजाको विजयगाथा र जीहजुरीको गान नै इतिहास भएको छ । चाकडीका कुरा फैलिँदै गाउँघर दैलोमा आइपुगेका छन् । जसको शक्ति छ उसैको भुक्तान छ । सधैँ कोचिएको हुन्छ घोचो सोझाकै मुखमा ।
हुन त अन्तिम राजा पनि तिम्रो जिजुबाजेले देखे । तिनीहरूको अन्त्य निकै दर्दनाक भयो । पनातिनी ! तिमी कल्पना पनि गर्न सक्दिनौँ । राजाको दरबारमा एउटा भयङ्कर षडयन्त्र भयो, राजाका साखा सन्तानलाई लखेटी लखेटी गोली हानियो, राजाको परिवार नै सखाप भयो । त्यसपछि उनका माइला भाइ ज्ञानेन्द्र राजा बने । मानिसले गर्न त राजाकै भाइमाथि शंका गर्छन्, कुरा काट्छन् । तर, त्यो कसले गर्याे अझैसम्म कतै गर्भमा लुकिराखेको छ, अब कहिल्यै बाहिर आउने पनि छैन ।
राजा भनेका ठूला सामन्ती हुन् जसले देशलाई आफ्नो सम्पत्ति र नागरिकलाई आफ्नो रैती ठान्दछन् । हर सामन्तको अन्त्य यस्तै दर्दनाक हुने गरेको इतिहास साक्षी छ । जनताको मुक्तिको लागि भनेर माओवादी भन्ने पार्टीले जनयुद्ध सुरु गर्याे । कस्तो भन्छौ भने त्यसमा सत्र हजार मानिस मरे । दुबै पक्ष एकदम उग्र । कतिलाई जिउँदै पुरियो, कतिलाई बेपत्ता पारियो ।
पछि शान्तिकाल आयो । जनयुद्ध गर्ने र नगर्ने दुबै पक्ष मिलेर राजाको विरुद्ध ठूलो जनआन्दोलन गरे । जनआन्दोलनको सामु इतिहासको अन्तिम राजा झुक्न करै लाग्यो र देशमा गणतन्त्र स्थापना भयो । राजा भगवान् हुन् र राजाले देश बचाउँछन् भन्ने पुरानो सोच्ने बुढापाकाले यस्तो जमाना पनि आयो भनी जिब्रो टोके । जनताको हातमा अधिकार आयो, नेपाली जनता आफै राष्ट्रपतिको कुर्सीमा बसे ।
तर राजनीतिक दलको हानथाप र एकआपसमाको ठूलो भन्ने अहम्ले संविधान बन्न दश वर्ष लाग्यो । तिमी कल्पना गर–संविधान बन्नै दश वर्ष लागेपछि यहाँ कस्तो सामाजिक अवस्था सिर्जना भयो ? जसले जे गरे पनि हुने भयो । मेरो यौवनका दश वर्ष संविधान कुर्दैमा बिते । संविधान आउँदा म तीस वर्षबाट चालिस वर्षमा टेकेँ अर्थात् बूढो भएँ। संविधानबनेपछि पनि ती राजनीतिक दल देश बनाउनभन्दा सत्ताका लागि कुकुर बिरालाझैँ लडिरहे । दिक्कलाग्दो छ । मेरो दिक्दारीको अनुभूति गर्न सक्दैनौ तिमी । कहिल्यै तिमीलाई यस्तो नपरोस् । जनता सुधा थिए, सहेरै बसे । तिमी यसरी सहेर बस्दै नबस्नु । बोल्न नसके त्यो मानिस मरे तुल्य हुन्छ । यस्तो छ कि सबै मरेका छन्, कसैले सास फेरेका छैनन् वा यसो भन्न सकिन्छ नेपाली समाज दोस्रो जनआन्दोलनपछि थकाइ मारिरहेको छ ।
यी त भए राजनीतिक कुरा ।
अब कुरा गरौँ सडकको । तिमी जुन चिल्ला र फराकिला सडकमा गुडिरहेकी हुनेछौ त्यो बन्न दशौँ, बीसौँ वर्ष लागेका हुन् । यसमा हामीले लामो र अनावश्यक समय गुजारेका छौँ । मेरो त जीवन नै सकियो । फराकिलो बनाउने भनेर सडकछेउका घर भत्काउँथे, तर बनाउन कोही आउने थिएनन् । यति धुलो थियो कि म आँखा चिम्लेर हिँड्थे, धुलोको कुहिरो हुन्थ्यो र हामी एकआपसमा नदेख्ने र नचिन्ने भएर हिँड्थ्यौँ । हुन पनि सबैले आँखा चिम्लेर हिँडेकोले नै दुई वर्षमा बन्ने बाटो ठेकेदार र सरकारी मानिसको मिलेमतोमा वर्षौंसम्म बनेनन् । कस्तो भन्छौ भने वर्षामा जताजतै खाडल हुँदा दुईजना बालक त डुबेरै मरे । तिमी हिँडिरहँदा यस सडकमा सक्छौ भने एकछिन ती सडक सहिदलाई सम्झिदिनू ।
अब जीवन-अमृत अर्थात खानेपानीको कुरा गरौँ । हामी नेपालीहरू काकाकुल जीवन बाँचिरहेछौँ, काकाकुल नै मरिरहेछौँ । एकजना बूढो नेता थिए– कृष्णप्रसाद भट्टराई, जो मेलम्चीको पानी ल्याएर सडक पखाल्छु भन्थे । राजनीतिमा उनकै मित्रले उनलाई पखालिदिए, उनले मलेम्ची काठमाण्डुमा आएको हेर्न पाएनन् । बीस वर्षसम्म रित्तो गाग्री बोकेर राजधानीबासी हिँडिरहे । बल्लतल्ल ल्याए, दाताको पैसाले सुरुङ खनेर, काम बढिया नै भयो, तरपछि बाढीले बगाइदियो । किनेर खानुपर्छ पानी अहिले पनि । कस्तो पानी ? जाँच्ने कुनै निकाय छैन । जोसुकै व्यापारीलाई जनताको स्वास्थ्यमाथि खेलवाड गर्न खुल्लमखुल्ला छुट छ । राजधानी यस्तो छ भने देशका अन्य भाग झन् पानीबिना छट्पटाइरहेछन् । अब भन, पानी पिउन यति कठिन थियो भने अन्य कुरा कसरी सुलभ हुन सक्छ ?
विद्वानमण्डलीलाई विद्वत्व छाँटे पुग्ने र राजनेतालाई भाषण । जनता ताली ठोक्ने र जसको शक्ति छ, उसैको वरिपरि मौरीझैँ झुम्मिने । पसिनाको रगत बगाउने मजदुरलाई सम्झने कोही छैनन् । दुईजना हास्यकलाकार थिए- चेतना भरिएका । ती प्रहसन गरेर जनतालाई सचेत तुल्याउँथे । गणतन्त्र आएपछि जनताको आन्दोलन तुहाउन सेतो लुगाको जुलुसमा हिँड्थे, नेपालबन्द भयो भनेर बरबराउँथे । तर, नेपाल खुल्ला भएको दिनहरूमा मजदुरी गर्नेले के खाइरहेका होलान् ? उच्चारण समेत गर्ने थिएनन्, रमाउँदै विदेश शयर गर्थे ।
अपरम्पार छ तिम्रो जिजुबाजेको नेपाल । सायद तिम्रो पालामा दुरुस्त होला भन्ने आसले यो पत्र लखेको हुँ । ठान, यति नै गर्न सकियो । चिच्याउन पनि सकिएन, हुन पनि केही भएन । थालेका काम तिम्रो पालासम्म पूरा भए, तिमी समृद्ध नेपालमा हुनेछौ, होइन भने नेपाल यस्तै रहनेछ । तिमीले सक्दो कोसिस गर्नू ।
उही तिम्रो
जिजुबाजे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।