पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानमा समावेशी सरकार गठन गर्न तालिबानसँग छलफल सुरु गरेका छन् । यो जानकारी उनले सामाजिक सञ्जाल मार्फत दिएका हुन् ।
‘दुशांबेमा अफगानिस्तानका छिमेकी देशका नेता तथा विशेष रुपमा ताजिकिस्तान राष्ट्रपति इमोमाली रहमोनसँग लामो छलफल भयो । त्यसपछि मैले तजिक, हजारा र उज्बेकलाई सामेल गरेर एक समावेशी अफगान सरकार गठनको लागि तालिबानसँग कुराकानी अघि बढाएको छु,’ खानाले ट्वीटर मार्फत भनेका छन् ।
आफ्नो कदमले ४० वर्षको संघर्षपछि अफगानिस्तानमा शान्ति र स्थिरता आउने विश्वास उनले व्यक्त गरेका छन् ।
पाकिस्तानका प्रधानमन्त्री खानले अफगानिस्तानमा हुने अस्थिरताले अन्य देशलाई समेत अप्ठेरोमा पार्ने बताउँदै आएका छन् । अफगानिस्तानलाई एक्लै छोडिदिँदा त्यहाँ गृहयुद्धको अवस्था आउने र त्यसको नकारात्मक प्रभाव छिमेकी देशमा पनि पर्ने उनले जनाएका छन् ।
अफगानिस्तानमा अस्थिरता हुँदा छिमेकी देशमा शरणार्थी बढ्ने, लागूपदार्थको ओसारपसार बढ्ने र अन्तर्राष्ट्रिय संगठित अपराध बढ्ने अनुमान खानको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।