धार्मिक पूजालाई दिएको चन्दा व्यक्तिको कब्जामा

धर्मको नाममा उठाएको रकम व्यक्तिले मनोमानी ढंगले चलाइरहेका प्रसंग नयाँ होइनन् । यद्यपि यस्ता विषय र समाचारहरू कहिलेकाहीँ सञ्चारमाध्यममा आउने गरेका छन् । जसले धर्मको नाममा लुट र घुमाउरो अर्थमा ठगी गरिरहेको बताउँछ । 

यस्तै प्रसंग जोडिएको धार्मिक पूजा हो ‘विश्व शान्ति पूजा’ । विभिन्न धर्मगुरूहरूको संयोजनमा नेपाल पर्वतारोहण संघ (एनएमए) ले पोखरामा विश्व शान्ति पूजा गर्ने गरेका छन् । यही पूजाका लागि विभिन्न सहयोगी दाता, चन्दा दाता, धर्ममा आस्था राख्ने स्वदेश तथा विदेशमा रहेका सहयोगीले दिएको १५ लाख ४४ हजार रूपैयाँ अझै व्यक्तिहरूकै खातामा रहेको तथ्य फरकधारलाई प्राप्त भएको छ ।  

०७२ माघ १९-२१ गतेसम्म दोस्रो विश्व शान्ति पूजा भएको थियो । एनएमए अन्तर्गत दोस्रो विश्व शान्ति पूजा समितिकी अध्यक्ष थिइन्, पूर्वपर्यटन राज्यमन्त्री याङकिला शेर्पा । अर्थ समितिका संयोजक एनएमएका पूर्वअध्यक्ष जिम्बा जाङ्बु शेर्पा थिए भने समितिका कोषाध्यक्षमा फुर्वा सोना शेर्पा थिए । उनीहरू तीन जनाको नामबाट महाराजगञ्जस्थित नबिल बैंकमा खाता नम्बर १५१००१७५०४५३९ खोलिएको थियो । यो खाता सो पूजाका लागि मात्रै सञ्चालनमा ल्याइएको थियो ।  

अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखरामा गरिएको विश्व शान्ति पूजा भव्य रूपमा सम्पन्न भएको ६ वर्ष भइसकेको छ । तर, बैंकमा बाँकी रहेको रकम अझै एनएमएको नाममा हस्तान्तरण भएको छैन । यत्तिकै गुपचुप हुँदा एनएमएले याङकिला शेर्पासहितको टोलीलाई पटकपटक पत्राचार गरेर रकम हस्तान्तरण गर्न भने पनि ‘अटेर’ हुने गरेको एनएमएले जनाएको छ । 

विश्व शान्ति पूजाको लागि एनएमएले छुट्याएको रकमसहित चन्दादाताहरूले धर्मका लागि दिएको रकम छुट्टै रूपमा राखिएको थियो । पूजा सकिएपछि सोही समितिले लैनचौर ब्याङ्क्वेटमा पूर्वपर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलेको उपस्थितिमा पूजाको प्रतिवेदनमा बैंकमा १५ लाख ४४ हजार ७९३ बाँकी स्टेटमेन्टको विषयमा जानकारी दिएका थिए ।  



बाँकी रकम लिनका लागि एनएमएले तेस्रो विश्व शान्ति पूजाका लागि याङ्किला शेर्पासहित तीनै जनाको नाममा पटकपटक पत्राचार गरेपनि कुनै प्रतिक्रिया नआएको बताइएको छ । एनएमएले आफ्नो बैंक खातामा रकम हस्तान्तरण गर्न पत्राचार गरेपनि पूर्वपर्यटन राज्यमन्त्री याङ्किला शेर्पाको टिम ‘टसमस’ नभएको एनएमएको प्रशासन शाखाले जनाएको छ । 

एनएमएले शेर्पाको टिमलाई २०७६ पुस २२ गते पहिलो पत्राचार गरेका छन् । यसपछि २०७६ फागुन २० गते दोस्रोपटक पत्राचार गरिएको पाइन्छ । २०७६ माघ २० देखि २२ गते तेस्रो विश्व शान्ति पूजा सम्पन्न गरेपछि पनि रकम हस्तान्तरणका लागि पत्रचार गर्दा कुनै सुनुवाइ नभएको एनमएका अध्यक्ष सन्तवीर लामाले जानकारी दिए।




एनएमएको २०७७ मंसिर १६ गतेको केन्द्रीय सचिवालय बैठकको निर्णय बमोजिम  मंसिर १७ गते याङ्किला शेर्पाको टिमलाई पत्राचार गर्दै ७ दिनभित्र एनएमएको बैंक खातामा बाँकी रकम हस्तान्तरण गर्न पत्राचार गरिएको थियो । 

एनएमएले सात दिनका लागि अन्तिमपत्र काटेपनि ८ महिनासम्म कुनै रकम हस्तान्तरण नभएको एनएमएको प्रशासनले जनाएको छ । यसपछि एनएमएले विश्व शान्ति पूजाको नामबाट महाराजगन्जस्थित नबिल बैंकमा छुट्टै खाता ०१५१००१७५१३६११ खोलिएसँगै अन्तिमपटक २०७८ वैशाख ६ गते याङ्किला शेर्पा, जिम्बा जाङ्बु शेर्पा र फुर्वा सोना शेर्पाको नाममा पत्र काटिएको थियो ।  

‘एनएमएका सम्मानित व्यक्तित्वहरूले आफ्नो नाममा बैंक खाता खोलेर अरूले दिएको चन्दा व्यक्तिगत रूपमा राख्नु दुःखद छ । विश्व शान्ति पूजाका लागि सहयोग माग्ने अनि ६ वर्षसम्म गुमनाम राख्न कतिको धर्म भयो’, एनएमएका अध्यक्ष लामाले भने, ‘धेरै पटक फलो गरेका थियौं । याङ्किला दिदी एउटा बैठकमा आउनु भयो । पैसा दिन्छु पनि भन्नुभयो । छुट्टै बैंक खाता खोल्नुस् भन्नुभयो । यसपछि छुट्टै खाता खोलेर आवश्यक पत्राचार गर्दा पनि बाँकी साढे १५ लाख जम्मा भएको छैन ।’  

धर्मको नाममा उठाएको पैसा व्यक्तिको कब्जामा रहनु भनेको नियत सफा नदेखिएको उनको भनाइ छ । शेर्पाको टिमले एकपटक डोमिनेट गर्ने शैलीमा कार्यसमितिलाई जवाफ-पत्र पठाएको लामाले फरकधारसँग बताए । 

पूर्वपर्यटन राज्यमन्त्री याङ्किला शेर्पाले यो विवादको विषय नभएको बताइन् । 

‘एनएमएले पत्र पठाएको हो । हामीले पनि आवश्यक डकुमेन्ट एनएमएलाई दिइसकेका छौं’, उनले भनिन्, ‘यो रकम विश्व शान्ति पूजाको लागि मात्रै प्रयोग गर्ने हो । यहाँ निहुँ खोज्ने शैली देखियो । घरमा चेक लिएर आउनुहोस् म हस्ताक्षर गर्न तयार छु । बाँकी कुरा जिम्बा जाङ्बु शेर्पालाई सोध्नुस् ।’ 

दोस्रो विश्व शान्ति पूजा समिति २०७२ को अर्थ समितिका संयोजक जिम्बा जाङ्बु शेर्पाले यस विषयमा सबै प्रतिवेदन एनएमएलाई बुझाइसकेको बताए ।  

‘उहाँहरूले निहुँ खोज्नका लागि पत्र पठाउनु भएको हो । जबकि हामीले चेक बुक बुझाइसकेका छौं । उहाँहरू निर्णय गर्न सक्नुहुन्न । रिसिइबी साँध्न यस्तो ल्याउनु हुन्छ’, शेर्पाले रिसाउँदै भने, ‘एनएमएका कोषाध्यक्ष सुदर्शन न्यौपानेसँग धेरै कुरा भइसक्यो ।  हामीलाई बदनाम गर्ने । यस्तो हुन्छ ।’  

उनकाअनुसार चेक लिएर आए आफूहरूले हस्ताक्षर गरेर दिने छ । तर, विश्व शान्ति पूजाको लागि मात्रै खर्च गर्न पाउने उनको भनाइ थियो । नेपाल पर्यटन बोर्डबाट प्राप्त ५ लाख र सानिमा बैंकबाट प्राप्त ३ लाख रूपैयाँ विश्व शान्ति पूजाको खातामा जम्मा गर्नुपर्ने बताए । 

एनएमएका कोषाध्यक्ष सुदर्शन न्यौपानेले यो अहिलेको विषय नभएको बताए । अब एनएमएलाई नयाँ नेतृत्व चाहिएको बताउँदै न्यौपानेले भने, ‘यो पुरानो हिसाब हो । यो विषयमा बहस गर्न आवश्यक छैन । एनएमएलाई नयाँ नेतृत्व दिएर सोही टिमले यस विषयमा टुंगो लगाउनुपर्छ भन्ने मानसिकतामा छु ।’ 
 

  • प्रकाशित मिति : असोज ३, २०७८ आइतबार १५:४३:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया