निर्देशकको स्टोरी नै चेन्ज भएको ‘जीवनको पाना’को कथा

जीवनको पानाबाट छुटेर गए ऊर्जाशील समय । तिनै पानामा कोरिए सुखका कथा, दुःखका सम्झना । समयले लुटेर लग्यो शरीरको स्फूर्ति । बिति गएको त्यहि समयले दियो सफलता, असफलता, चोट मिठास पनि । जीवनको उत्तरार्धमा पुगेपछि तिनै सम्झनाहरूले सताउने रहेछ एउटा मान्छेलाई । त्यहि आम मान्छेको कथा बोकेर पर्दामा देखिए पुराना कलाकार सरोज खनाल । उनले ‘जीवनका पानामा’बोलको गीतको म्युजिक भिडियोमा जीवन्त अभिनय गरे । 

आज शरीर सक्रिय छ । कुनै दिन शरीरका पार्टपुर्जा चल्न छोड्छन् । कतिको दिमाग नै चल्न छोड्दा । धेरैलाई आफन्तले छोड्दा । कतिका आफन्त नै नरहलान् । जीवनको आखिरी समय कतिको सुखद रहला, कतिको दु:खद बन्ला । जे भए पनि त्यो समयको सहारा तिनै पुराना दिनको सम्झना हो । सरोजले त्यहि सम्झना भिडियोमा उतार्न खोजेका हुन् । 

यो गीतको स्टोरी सुरुमा अर्कै थियो । निर्देशक राज केसीले म्युजिक भिडियोको स्टोरी सुनाउँदै गर्दा सरोजलाई लाग्यो ‘यो विषयमा धेरै म्युजिक भिडियो बने । त्यहि भिडमा मिसिन किन जानु । केहि फरक गरौं,’ उनले निर्देशकलाई भने, ‘गीतको शब्द अनुसारको कन्सेप्ट म बनाउँछु ।’ निर्देशकसँग दुई दिनको समय मागेर निस्किएका सरोजले यो गीतको कन्सेप्ट बनाए ।

उनी भन्छन्, ‘हरेक दिन यहि कुराले सताइरहेको हुन्थ्यो । त्यहि सताइलाई कपी पेस्ट गरेको हुँ ।’ उमेरमा सक्रिय जीवन बिताएको एउटा कलाकारको ‘बुढेसकालको एक्लोपन’ निक्कै मार्मिक ढंगले भिडियोमा देखिन्छ । सरोजको कन्सेप्ट भए पनि यो आम मान्छेको कथा हो । कुराकानीका क्रममा सरोजले भने, ‘यो एउटा म्युजिक भिडियो भएर म प्रस्तुत छु । नत्र सम्पूर्ण मानव जातिको अन्त्य यस्तै हो ।’ 

सर्वोच्चका न्यायाधीश बमकुमार श्रेष्ठले यो गीत लेखेका हुन् । गीतमा जीवनको उत्तरार्धको कुरा भएको छ । आवाज पनि उस्तै खोजी थियो । गायनका लागि मदनकृष्ण श्रेष्ठ छानिए । मदनकृष्ण गायनमा उस्तै भावुक सुनिन्छन् । सन्तोष श्रेष्ठले संगीत गरेको यो गीतको म्युजिक भिडियोमा अभिनयको अफर आउँदा सरोजले गीत सुनेर मात्रै पक्का गर्ने भनेका थिए । गीत सुनेपछि स्टोरी नै चेन्ज गरिदिए ।



स्टोरीको कन्सेप्ट बनाउँदै गर्दा सरोजले सोचे, ‘अकालमै कोही मरेन भने हरेक मान्छेको अन्त्य यहि हो ।’ अहिले सरोज सक्रिय जीवन बिताइरहेका छन् । गीतको म्युजिक भिडियोका लागि वर्कसप गर्दैगर्दा सरोजलाई कहाली लागेको थियो जीवनको आउँने बाटो सम्झेर । म्युजिक भिडियो छायांकनमा भन्दा निक्कै गाह्रो भएको थियो तयारीका क्रममा । कुराकानीका क्रममा सरोजले पटकपटक भनिरहे ‘मेरो अन्त्य त्यहि हो ।’ उनी भावुक सुनिन्थे ।  

तयारीमा समय



भिडियो छायांकन दुई दिनमा सकियो । तयारी लामो थियो । त्यो तयारी सुटिङमा जानुअघिको तयारी थियो । सरोज भन्छन्, ‘मैले मेरो जीवनमा यति धेरै मिहिनेत आजसम्म गरेको छैन ।’ छानिएका दृष्यका लागि पनि निक्कै समय लाग्यो । १५ दिनभन्दा धेरै समय लाएर छानिएका दृष्यले मानिसलाई छोएको छ । सरोज यसैमा खुसी पनि छन् । 

अर्को समय मेकअपमा लाग्यो । उनले जुन कन्सेप्टमा कथा बनाए त्यहि अनुरूप मेकअप गर्ने ट्रेन नेपालमा छैन् । लकडाउनका कारण मेकअपका धेरै सामान आउन बन्द भएको छ । सरोजलाई तालुमा थोरै कपाल देखाउनु थियो । यसैका लागि उनले काठमाडौंमा रहेका सम्पूर्ण मेकअप म्यानसँग सम्पर्क गरे । पाउँन निक्कै मुस्किल भयो । अन्तिममा पाइयो ।  

भिडियो एडिटिङमा पनि लामो समय लाग्यो । दिनभरी एडिटिङमा उनी रमेश थापासँगै बस्थे । घर पुग्थे त्यहि दृष्य हेर्थे । उनलाई लाग्थ्यो, ‘यो ठाउँमा अर्कै दृष्य ठीक हुन्थ्यो ।’ २५ पटकभन्दा धेरै भिडियोका क्लिप्स राख्दै फेर्दै गरे । भिडियो सम्पादनको क्षण सम्झदै सरोज भन्छन्, ‘उस्तै भिडियो सम्पादक भएको भए मलाई चुटेर निकाल्थे । रमेश जस्तो भिडियो एडिटर भाग्यले पाएँ ।’ 

पहिलो दर्शक मदनकृष्ण श्रेष्ठ

भिडियोमा प्रयोग भएका सर्टले सरोजको मन त्यत्ति छोएकै थिएन । आफैँ एडिटिङमा बसेकाले पनि नछुनु स्वभाविक थियो । भिडियो फाइनल भएपछि उनी मदनकृष्णको घरमा पुगे । यो भिडियो पनि मदनकृष्णको छोटो भूमिका छ । जुन भूमिकाले भिडियोलाई अझैँ शसक्त बनाएको छ । भिडियो हेर्दै गर्दा मदनका आँखाबाट जब आँसु खस्न थाले । माहोल निक्कै भावुक बन्यो । मदनकृष्णकी छोरी, बुहारी, छोरासँगै सरोज पनि रोए । 

भिडियो सार्वजनिक भयो । सार्वजनिक कार्यक्रम पनि निक्कै भावुक बनेको थियो । गीतको म्युजिक भिडियो सार्वजनिक भएपछि आएको प्रतिक्रियाले सरोजलाई चुनाैती थपिदिएको छ । उनले सोचेकै थिएनन् यो खालको प्रतिक्रिया आउँला भन्ने । प्रतिक्रिया आयो, आएका प्रतिक्रियाले उनलाई आफैँसँग प्रतिस्पर्धा गर्नुपर्ने बनाएको छ । सरोज यतिबेला शब्द विहीन भएका छन् ।

विमोचनको दिनबाटै उनलाई यो गीतलाई लिएर बोल्न गाह्रो भएको छ । भन्छन्, ‘नाटक, फिल्म, टेलिफिल्ममा अभिनय गरेँ । मैले मेरो जीवनमा यस किसिमको प्रतिक्रिया पहिलो पटक पाएको हुँ ।’ गीतको प्रतिक्रियाले त्योभन्दा राम्रो अर्को के गर्ने भनेर सरोजलाई सोच्न बाध्य बनाएको छ । 

के छ भिडियोमा ?

भिडियोमा सरोजले अभिनय गरेका चलचित्र कुमारी, आमा, माइतीघरलगायतका दृष्य समावेश छन् । जुन दृष्यमा एउटा कलाकारको सक्रिय जीवन देखाइएको छ । भिडियोमा सरोजले भनेका छन्, ‘कुनै मोडमा उभिएर जति नै विगत पर्ख तिमी, अहँ ! विगत फर्किँदैन । जीवनभरी घडीको काँटाको गतिमा केके खोज्न दौडियौं तिमी, अब अहिले जीवनका काँटाहरू निस्तेज हुन थालेपछि यस खण्डहर उमेरमा तिमीलाई अतीतको याद आयो ? जति नै पर्ख तिमी, त्यो कलिलो अतीत फर्किँदैन । तर, कहिलेकाहीँ वर्तमानको डिलमा उभिएर हेर्दा, भविष्यको क्षितिजमा उत्साहको नौलो सूर्यले चिहाइरहेको पाउनेछौ । किनकि अतीतजस्तो, भविष्य कहिल्यै बुढो हुँदैन । त्यसैले त भन्छन्, द शो मस्ट गो अन ।’

यो सम्वादसँगै सेतै दारी फुलेका एक वृद्ध लौरोको सहारामा देखा पर्छन् । यहि लौरो र धुमिल सम्झनाबाट सुरु भएको भिडियो एउटा पूर्ण जिन्दगीको सम्झना प्रस्तुत गरिएको छ ।  

  • प्रकाशित मिति : असोज ३, २०७८ आइतबार १७:४४:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया