संविधान दिवस : लोकतान्त्रिक समाजवादी पार्टीद्वारा विरोध प्रदर्शन

आज असोज ३ अर्थात् नेपालको संविधान घोषणा भएको दिन देशभर संविधान दिवस मनाइरहेका बेला प्रदेश २ का जिल्लामा भने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले विरोध प्रदर्शन गरेको छ । 

जनकपुरमा लोकतान्त्रिक समाजवादी पार्टी धनुषाको अगुवाइमा नगर परिक्रमा गर्दै संविधानको विरोध गर्दै प्रदर्शन गरेका हुन् । 

जनकचोकबाट सुरु भएको र्याली राम चोक, सोनारपट्टी, जानकी चोक हुँदै पुनः जनकचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । विरोध कार्यक्रममा सहभागी भएका लोसपा नेपालका नेता परमेश्वर साहले विभेद रहुञ्जेलसम्म आन्दोलन जारी रहने बताए । 

उनले नेपालको संविधानमा मधेसी, आदिवासी, जनजाति, मुस्लिम, थारुलगायत सबैको अधिकार सुनिश्चित हुनुपर्ने माग गरे । आफूहरुले आवाज बुलन्द गरिरहँदा शासकले गोली बर्साएर संविधान जारी गरेको उनको  जिकिर थियो । संविधानमा मधेसी जनताको अधिकार सुनिश्चित नगरिएकाले आफूहरुले असोज ३ लाई कालो दिनको रुपमा मनाउँदै आएको बताए । 

उनले संविधान संशोधन गर्नुपर्ने, झुटा मुद्दा खारेजी गर्नुपर्ने, मधेसीलाई प्रताडित गर्ने काम बन्द गर्नुपर्ने, सबै नेपाली नागरिकको संविधान बनाउने कोसिस गर्नुपर्नेलगायत माग राखेको बताए । आफूहरुको माग पूरा नभएसम्म असोज ३ लाई कालो दिनकै रुपमा प्रत्येक वर्ष मनाउँदै रहने उनले बताए । 

२०७२ मा जारी संविधानले पहिचानसहितको संघीयता हुन नदिएको भन्दै संविधान दिवसलाई आज लोसपाका नेता कार्यकर्ताले कालो दिवसको रुपमा मनाउँदै आएका छन् । सरकार र संविधानको विरुद्धमा चर्को नारा लगाउँदै प्रदर्शनकारीले राज्यले उपेक्षा गरे देश द्वन्द्वमा समेत जान सक्ने बताए । विरोध प्रदर्शनमा सहभागीले संविधान संशोधन नगरेसम्म आफूहरु संविधान दिवसमा सहभागी नहुने स्पष्ट पारे ।



नेपालको इतिहाससँग जोडिएका मधेसी, थारु, आदिवासी, जनजातिको पहिचानको सम्मान सरकारले गर्नुपर्ने उनीहरुको माग थियो । 

विरोध र्यालीमा जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर रिता मिश्र, वडा नम्बर–७ का वडाध्यक्ष जानकीराम साह, लोसपाका नेताहरु राजीव झा, राजु चौधरी, विन्दु ठाकुर, पुनम झा मैथिली, विवभा पाण्डेय, पुष्पा यादव, नाजिर हुसैन, इन्द्रकुमार झा मधेशानन्द, सञ्जय चौधरी, सदाशिव मिश्र, महाशंकर ठाकुर, प्रमोद यादव, ज्ञानेन्द्र झा ज्ञानुलगायत दर्जनौँ नेता–कार्यकर्ताको सहभागिता रहेको थियो ।



  • प्रकाशित मिति : असोज ३, २०७८ आइतबार १७:४२:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया