नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको ‘हेर्दाहेर्दै’ मा रहेको मुद्दा न्यायाधीशद्वय दीपककुमार कार्की र डा.कुमार चुडालको संयुक्त इजलासमा परेको छ ।
यसअघि हिजो सुनुवाइ नसकिएपछि मुद्दालाई ‘हेर्दाहेर्दै’ मा राखेको थियो ।
ओलीले रिटमार्फत् माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को दर्ता प्रक्रिया रद्द गर्न र १४ जना सांसदलाई पदमुक्त गर्न माग गरेका छन् ।
प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले एमालेले कारबाही गर्दै पदमुक्तका लागि गरेको सिफारिसअनुसार कारबाही नगरिएको र एमालेलाई विभाजन गर्न मुख्य भूमिका निर्वाह गरेको ओलीले जिकिर गरेका छन्।
निर्वाचन आयोगले पनि गैरकानुनी रूपमा दल दर्ता गरेको पनि ओलीको रिटमा उल्लेख छ।
एमाले केन्द्रीय कमिटी बैठकले साउन २५ मा झलनाथ खनालसहितका सांसदहरूलाई कारबाही गर्दै पदमुक्त गर्न संसद् सचिवालयमा पत्राचार गरेको थियो।
२७ वैशाखमा पार्टी संसदीय दलको निर्देशनविपरीत तत्कालीन प्रधानमन्त्रीसमेत रहेका ओलीलाई विश्वासको मत दिन अनुपस्थित भएकोले कारबाही गरेको उल्लेख छ ।
तर, सभामुख सापकोटाले पदमुक्त गर्न गरेको पत्राचारलाई बेवास्ता गरेका थिए।
सोहीकारण नेपालले ९ भदौमा निर्वाचन आयोगमा नयाँ दल दर्ताको निवेदन दिए । निवेदनअनुसार दल दर्ता पनि भएको छ।
दलको दर्तापछि मात्रै सभामुख सापकोटाले दल दर्ता भइसकेकाले आवश्यक कारबाही गरिरहनु परेन भन्दै सूचना टाँस गरेका थिए।
त्यही भएर ओली सभामुख सापकोटालाई पनि विपक्षी बनाएर सर्वोच्च पुगेका हुन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।