नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानामाथि लागेको आरोपको सम्बन्धमा जाँचबुझ गर्न गठित समितिले मंगलबार सकारलाई प्रतिवेदन बुझाएको छ । अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा समितिका अध्यक्ष उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेले छानविन प्रतिवेदन अर्थमन्त्री जनार्दन शर्मासमक्ष बुझाएका हुन् ।
बोर्डका अध्यक्ष ढुंगानाले धितोपत्रको भित्री कारोबार तथा धितोपत्र व्यवसाय गरी बोर्डलाई हानी नोक्सानी पुर्याई बोर्डको हित र पुँजी बजारको विकास विपरित हुनेगरी पदीय आचरण विपरित काम कारबाही गरेको भन्ने सम्बन्धमा जाँचबुझ गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्न (गत भदौ १६ गते) को मन्त्रिपरिषद् बैठकले जाँचबुझ समिति गठन गरेको थियो ।
धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ७ को उपदफा ७ र नेपाल धितोपत्र बोर्ड सम्बन्धी नियमावली २०६४ को नियम ११ बमोजिम गठित समितिले तोकिएको समयभित्रै प्रतिवेदन पेस गरेको हो ।
जाँचबुझ प्रतिवेदन बुझ्दै अर्थमन्त्री शर्माले यसको अध्ययन गरेर सरकारले आवश्यक निर्णय गर्ने बताए । अध्ययन प्रतिवेदनको निष्कर्ष तथा सुझावले धितोपत्र सम्बन्धी कारोबारलाई व्यवस्थित र सुरक्षित गर्न तथा पुँजी बजारका सम्पूर्ण लगानीकर्ताहको हित रक्षामा सहयोगी हुने धारणा राखेका थिए । शेयर बजार आफ्नै नियम र पद्धतिमा अघि बढ्ने विषय भएकोले मन्त्रीको कारणले शेयर बजार घटबढ नहुने कुरा नभएको उनले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।