महोत्तरीमा एक वडाध्यक्षले एकजना महिलासँग गरेको अन्तरंग कुराकानीको अडियो बाहिरिएको छ ।
जिल्लाको मनरा सिस्वा नगरपालिका वडा नम्बर–३ सोनौलका वडाध्यक्ष महेन्द्र कुमार यादव र सोही ठाउँकी एक महिला (नाम गोप्य)बीच भएको अन्तरंग कुराकानीको अडियो बाहिरिएपछि अहिले हलचल मचिएको छ ।
निर्वाचित जनप्रतिनिधि नै अनैतिक गतिविधिमा लागेको भन्दै स्थानीयले कारबाहीको माग गरेका छन् । उक्त घटना सामाजिक तथा सांस्कृतिक मर्यादा विपरित हुने भएकाले समाज सेवामा संलग्न जनप्रतिनिधिप्रति जनताको सोच र चिन्तनमा प्रत्यक्ष नकारात्मक असर पर्न जाने भएकोले सत्यतथ्य विवरण सार्वजनिक गर्न स्थानीयले माग गरेका छन् ।
‘जनताद्वारा निर्वाचित जनप्रतिनिधिहरुले जनताको न्यायोचित सेवा गर्नुको सट्टा उल्टै सामाजिक लज्जाबोध गरिरहँदा निजहरुको हर्कतलाई निरुत्साहित गर्न कारबाही गर्न माग गरिएको हो,‘स्थानीय दिनेश यादवले भने ।
यस विषयमा वडाध्यक्ष यादवले कसैले आफ्नो राजनीतिक चरित्र समाप्त पार्न आफूहरुबीच भएको सम्वादलाई सम्पादन गरेर सामाजिक सञ्जालमा भाइरल गरेको प्रतिक्रिया दिएका छन् ।
उनले भने,‘हामीले टेलिफोनमा एक–अर्कासँग मजाक गरेका छौँ, अरु गलत केही पनि छैन । मुखले बोलिएका कुरा मात्र हुन् ।’
यससम्बन्धमा मनरा सिस्वा नगरपालिकाका मेयर सञ्जयकुमार सिंहले यो कुरा आफूले पनि सुनेको बताए । उनले यस सम्बन्धमा वडाध्यक्ष यादवसँग आफ्नो कुनै कुराकानी नभएको समेत जानकारी दिए ।
उनले भने,‘यो कुरा मैले पनि सुनेको छु, तर मलाई औपचारिक जानकारी भएन । म बुझेर थप कुरा भन्छु ।’
यो घटना लगभग ५–७ दिनअगाडिको रहेको स्थानीय जितेन्द्र साहले बताए । दुईजनाबीच चलेको झण्डै ७ मिनेटको संवादमा अन्तरंग कुराकानी भएको सहजै सुनिन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।