कछुवा गतिमा सेती राजमार्ग आयोजना, अझै १९२ किलोमिटर ट्र्याक खोल्न बाँकी

सुदूरपश्चिमको विकासमा फड्को मार्ने अपेक्षा गरेको राष्ट्रिय गौरव आयोजना सेती राजमार्गले गति लिन सकेको छैन । दुई वटा कार्यालय स्थापना गरी २०७१/०७२ मा आयोजनाको ठेक्का भएको थियो । सुरुदेखि नै यो सडक कछुवा गतिमा निर्माण भइरहेको छ ।

कुल ३५९ लम्बाइ रहेकोे सेती राजमार्गको दुई खण्ड बनाएर निर्माण कार्य भइरहेको छ । अछाम र बझाङमा दुईवटा कार्यालय स्थापना भएका छन् ।  

कैलालीको टीकापुर भारतसँग जोडिएको तिकुने नाका हुँदै बौनियाबाट  डोटी, अछाम, बाजुरा, बझाङको चैनपुर हुँदै यो सडक तिब्बतको ताक्लाकोटसम्म जोडिने लक्ष्य छ । निर्माण सुरु भएको सात वर्ष बितिसक्दा पनि सेती लोकमार्गको १९२ किलोमिटर सडकमा ट्र्याक खोल्न बाँकी छ । 

कुल ३५९ किलोमिटर लामो लोकमार्ग निर्माणको काम बजेट अभावका कारण अपेक्षाकृत रूपमा अगाडि बढ्न नसकेको हो । सेती लोकमार्ग दक्षिणी खण्ड २४२ किलोमिटर सडक योजना कार्यालय साँफेबगरले हेर्दै आएको छ ।

दक्षिणीखण्ड बौनियादेखि ठूलीगाडसम्म रुख कटानको आदेश नआउँदा तीन वर्ष निर्माणको काम अवरुद्ध भएको थियो । गत वर्ष मात्र रुख कटानको आदेश आएपछि निर्माणको काम अघि बढाइएको थियो । यो खण्डअन्तर्गत हाल चार वटा पुल र बौनियादेखि ठूलीगाडसम्म सडक निर्माणको काम भइरहेको योजना कार्यालयले जनाएको छ । 



कैलालीको भागमा ६.५ किलोमिटरभित्र कालोपत्रेको काम गरिएको छ । कालोपत्रे गरिएका अन्य राजमार्गका सडकखण्डसँग यो लोकमार्गको झण्डै २०.५ किलोमिटर सडकखण्ड मिसिएको छ । चैनपुरदेखि टीकापुरसम्मको करिब २४२ किलोमिटर लामो सेती लोकमार्ग दक्षिणी खण्डमध्ये डोटी, बझाङ र अछाममा रेखाकंन गरिएको कतिपय ठाउँमा समेत ट्रयाक खोल्न बाँकी छ ।

ठूलीगाड हुँदै सेरीगाड साँफेबगरसम्म एक अर्ब ५० करोडको बहुवर्षीय ठेक्का स्वीकृतका लागि आयोजना कार्यालयले मन्त्रालयमा फाइल पेस गरेको छ । यो खण्डअन्तर्गत ३० करोडको ठेक्का सम्झौता गरिएको छ । तर, ७ करोड बराबरको काम भएर सम्झौता अवधि सकिएपछि थप निर्माणको काम अघि बढ्न नसकेको आयोजना कार्यालयले जनाएको छ ।



बजेट अभावकै कारण धेरै स्थानमा सडकको काम हुन नसकेको सेती लोकमार्ग दक्षिणी खण्ड सडक डिभिजन कार्यालय अछामका सूचना अधिकारी दमनकुमार विष्टले बताए । ‘प्रतिकिलोमिटर सडक निर्माण गर्न ५ करोड आवश्यक पर्छ । तर, वनको अवरोध र बजेट अभावका कारण निर्माणले अपेक्षित गति लिन सकेको छैन,’ उनले भने । 

यस्तै, बौनियाँदेखि ठूलीगाडसम्मको ५५ किलोमिटर ठेक्का भएर काम सुरु भएको छ । डोटी खण्डमा रुख कटानको काम भइरहेको सूचना अधिकारी विष्टले बताए ।

अछाममा ठेक्का प्रक्रियामा रहेको छ । त्यहाँ एउटा गाड रहेकाले पुलको लागि ठेक्का प्रक्रिया सुरु भएको बिष्टले बताए । यस्तै बाजुरा र बझाङ क्षेत्रमा चार वटा पुल रहेका छन् । त्यसको पनि ठेक्का प्रक्रिया सुरु भइरहेको उनले बताए । दक्षिण खण्ड अन्तर्गत एउटा ठेक्का ३० करोडमा भएको छ । त्यसको काम सुरु भएको सूचना अधिकारी बिष्टले बताए ।

उनले बाँकी खण्डमा पनि ठेक्का प्रक्रियामा रहेको बताए । सूचना अधिकारी विष्टले ३० करोड थप बजेट आएकाले अन्य खण्डको पनि काम सुरु गर्ने बताए । उनले ठेक्का र ट्रयाक खोल्नको लागि अनुमति पाइसकेको पनि बताए ।

सेती राजमार्गको टीकापुर, बौनिया, ठूलीगाड, डोटीको सिलीगाडसम्म काम भइरहेको छ । यसका साथै अछामको साँफेगर हुँदै घुगरकोटबाट बाजुराको  विडासैन थामालेख हुँदै ट्र्याकसमेत खुल्न सकेको छैन ।

त्यस्तै, सेती लोकमार्ग उत्तरीखण्ड अन्तर्गतको ११७ किलोमिटर चैनपुर–ताक्लाकोट सडक योजना कार्यालयले हेर्दै आएको छ । ८५ करोड र २२ करोडको छुट्टाछुट्टै ठेक्का सम्झौता गरेर ४० किलोमिटरभित्र मात्र काम भइरहेको छ । ७७ किलोमिटरभित्र अहिलेसम्म कुनै काम हुन सकेको छैन ।

११७ किलोमिटर सडक बनाउन ८ अर्ब लागत अनुमान गरिएको भए पनि बजेट अभावका कारण ठोस रूपमा प्रगति हुन नसकेको चैनपुर ताक्लाकोट सडक योजना कार्यालयका योजना प्रमुख बलिराम मल्लले बताए । ‘चार वर्ष भयो यो खण्डअन्तर्गत नयाँ ठेक्का भएकै छैन,’ उनले भने, ‘नयाँ ट्र्याक खोल्न बोलपत्र आह्वानका लागि मन्त्रालयमा फाइल पठाएको भए पनि काम हुन सकेको छैन ।’ 

बजेट र कर्मचारी अभावका कारण पनि लक्ष्यअनुसार काम हुन नसकेको योजना प्रमुख मल्लको भनाइ छ । चैनपुरबाट साइपाल गाउँपालिका धुलीसम्म दुई प्याकेजमा राजेन्द्र निर्माण र नागार्जुन निर्माण सेवाले काम गरिरहेका छन् ।  

दुवै खण्डको निर्माण सम्पन्न गर्न १५ अर्ब बजेट आवश्यक पर्ने देखिएकोमा निर्माण सुरु भएको ७ वर्षमा दुई अर्ब मात्र बजेट विनियोजन भएपछि निर्माण कार्य अनिश्चित बन्न पुगेको हो । यसअघि दुई वटा ठेक्का सम्झौता गरेर निर्माण कार्य अघि बढाएको भए पनि काम पूरा नहुँदै सम्झौता अवधि सकिएको सेती लोकमार्ग सडक डिभिजन कार्यालय अछामका सूचना अधिकारी विष्टले बताए । 

‘३० करोडमा निर्माण सम्झौता गरिएकोमा ७ करोड बराबरको काम भएको ठेकेदार कम्पनीले बताइरहेका बेला सम्झौता अवधिसमेत अहिलेसम्म बढ्न नसकेका कारण निर्माण कार्य अनिश्चित जस्तै देखिएको छ,’ उनले भने । सेती लोकमार्गको उत्तरी र दक्षिणी खण्डमा अझै १९२ किलोमिटरभित्र भने कुनै काम हुन सकेको छैन ।

तमैलमाथि १० किलोमिटर सडक जयपृथ्वी राजमार्ग नै रहेको छ । साथै बझाङतर्फको भोपुर-रूपातोला हुँदै दुनिवन भन्ने ठाँउमा बाटो काट्ने काम भइरहेको छ । बझाङतर्फको उत्तरी खण्डको ठेक्का स्वच्छन्द, बानियाँ नागार्जुन र लुम्बिनी राजेन्द्र जेवी निर्माण कम्पनीले पाएका छन् ।

सुदूरपश्चिम प्रदेशको चीन-भारत जोड्ने दार्चुलाको टिङ्कर र बझाङको उरै नाका मात्र हुन् । बझाङ सदरमुकाम चैनपुरसँग खोड्पे-बझाङ सडक जयपृथ्वीराजमार्ग जोडेर पीचसमेत भइसकेको छ । ताक्लाकोटको यो नाका खुलेमा यस क्षेत्रको व्यापार पनि त बढ्ने नै छ कैलाश मानसरोवर जानेलाई सहज हुनेछ ।  

वातावरणीय प्रभाव मूल्याङकनमा ढिलाइले सेती राजमार्गको दक्षिण खण्डको काम प्रभावित हुँदै आएको थियो । वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनको फाइ वन मन्त्रालयमै अड्किएपछि प्रदेशको समृद्धिसँग जोडिएको लोकमार्गको दक्षिणी खण्डको काम प्रभावित भएको थियो । तर, गत कात्तिक २० गते बसेको मन्त्रिपरिषद्को बैठकले सेती राजमार्ग अन्तर्गत दक्षिणी खण्डमा निर्माण हुने सडक क्षेत्रमा पर्ने रुख काट्नका लागि अनुमति दिएको छ । 

कैलालीको बर्दगोरिया र मोहन्याल गाउँपालिकामा पर्ने राष्ट्रिय वन क्षेत्र सेती राजमार्गको सडक संरचना निर्माणका लागि प्रयोग गर्न दिने निर्णय गर्दै संघीय मन्त्रिपरिषद्को बैठकले रुख कटानका लागि समेत अनुमति दिएको हो । अछाम-बाजुरा ३५ किलोमिटर सडकको वातावरणीय प्रभाव मूल्यांकनको काम पनि अगाडि बढेको छैन । 

लोकमार्ग अन्तर्गत कैलालीको बौनियादेखि बझाङको चैनपुरसम्मको  २४२ किलोमिटर सडक निर्माण गर्ने लक्ष्य राखिएकोमा १२० किलोमिटरमा ट्रयाक खोलिएको योजना कार्यालयको दाबी छ । कैलालीको बौनिया-कालापानी क्षेत्रमा पाँच किलोमिटर सडक चालू आर्थिक वर्षमा ग्राभेल गरिएको छ ।

सडक डिभिजन कार्यालय अछामका सूचना अधिकारी विष्टका अनुसार ३० करोड बजेटको ठेक्का भएको र बाँकी आएको ३० करोड बजेटको ठेक्का हुन बाँकी रहेको छ । पर्याप्त बजेटको अभावले ठेक्का लगाउन नसकेको उनले बताए ।

भारत-नेपाल-चीन जोड्ने सेती लोकमार्ग बहुउपयोगी  छ । यो सडक निर्माण भएमा कैलालीको टीकापुरबाट डोटी, अछाम, बाजुरा र बझाङको उत्तरी सीमा उरै भञ्ज्याङ (ताक्लाकोट सीमानाका) जोडिने छ ।

सेती लोकमार्गलाई तीव्रता दिन सरकारले उत्तरी खण्डको निर्माणका लागि बझाङको चैनपुर र दक्षिणी खण्डका लागि अछामको साँफेबगरमा छुट्टाछुट्टै आयोजना कार्यालय स्थापना गरेको छ । तर, अपेक्षा अनुसारको काम भने हुन सकेको छैन ।  

  • प्रकाशित मिति : असोज ६, २०७८ बुधबार ११:५१:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया