को हुन् नेकपा एकीकृत समाजवादीका महासचिव भुसाल ?

नेकपा (एकीकृत समाजवादी)को महासचिवमा बेदुराम भुसाल चयन भएका छन् । नेकपा एमालेमा लामो समय राजनीतिक जीवन बिताइसकेका भुसाल पहिल्यैदेखि माधवकुमार नेपाल निकट थिए ।

नेकपा एमाले विभाजन हुनुपूर्व उनी जनताको बहुदलीय जनवादसँग जोडेर ओलीले सैद्धान्तिक विषयहरू मार्दै गएकोमा अत्यन्तै रुष्ट थिए ।
 
एमाले विभाजनको श्रृङ्खला चलिरहँदा फरकधारसँगको अन्तर्वार्ताका क्रममा भुसालले भनेका थिए, ‘अहिलेको लडाइँ पदको होइन्, विचारको हो ।’ 

२०११ असार १५ गते धनचाैर-५, अर्घाखाँचीमा जन्मिएका भुसाल ०२७ सालतिरदेखि नै कम्युनिस्ट राजनीतिमा सक्रिय थिए । एमाले र माओवादी केन्द्र एकता भएर बनेको नेकपामा स्कुल विभागको उपप्रमुख भएर काम गरेका भुसाल निकै अनुशासित र शालीन राजनीतिज्ञको रूपमा आफूलाई उभ्याउने प्रयास गरिरहेका हुन्छन् ।
 
नेकपा विभाजनदेखि एमाले विभाजन हुने बेलासम्ममा सबैभन्दा बलियो साथ नेपाललाई नै दिएका भुसाल अहिले नेकपा एकीकृत समाजवादीको महासचिव बनेका छन्।

पिएचडीसम्मको रोचक यात्रा 

सानै उमेरदेखि राजनीतिमा चासो राखेर अघि बढेका भुसाल कक्षा ८ मा पढ्दैगर्दा जेल परेका थिए । १९ वर्षको उमेरमा ८ कक्षा पढ्दैगर्दा जेल परेका भुसालले जेलबाटै २६ वर्षको उमेरमा एसएलसी पास गरे ।

साढे १२ वर्ष जेल बस्दा उनले एसएलसीदेखि एमएसम्मको पढाइ पूरा गरे । जेलमा पढाइको व्यवस्था थिएन । आफैं पढेर उनले एमए उत्तीर्ण गरेका हुन् । ०४३ सालमा जेलबाट छुट्नेबित्तिकै भूमिगत जीवनमा होमिएका भुसालले ०४६ सालमा एमए गरे । 



कैदी जीवनमा पनि अध्ययनमा निकै चासो राखेका भुसालले अन्ततः विद्यावारिधिबाट विभूषित भएका छन् । भुसालले जनताको बहुदलीय जनवादको ऐतिहासिक विकासक्रम शीर्षकमा विद्यावारिधि गरेका छन् । ०७७ पुस ३ गते उनी बिहीबार त्रिभुवन विश्वविद्यालयको ४५ औं दीक्षान्त समारोहमा उनी दीक्षित भए ।

राजनीतिक नेताहरूले अध्ययन गरेका छैनन् भनेर नकारात्मक प्रचार र प्रभाव भएपछि त्यसलाई चिर्नका लागि पनि उनले ४ वर्ष लगाएर पिएचडी गरेका थिए । 



राजनीतिक सुरुवात

अर्घाखाँचीको गाउँमा त्यतिबेलाका मुखियाहरूले गर्ने शासनबाट भुसाल खुसी थिएनन् । त्यही थिचोमिचोले उनलाई कम्युनिस्ट पार्टीमा लाग्न प्रेरित गरेको थियो । आफन्तकोमा बसेर पढ्न पाएका आफ्ना दाजु कम्युनिस्ट पार्टीको सम्पर्कमा आएपछि उनलाई पनि राजनीतिको बारेमा बुझ्न सहज भयो । दाजुसँगै सम्पर्कमा आएका एकजना कम्युनिस्ट कार्यकर्ताले भुसाललाई कम्युनिस्ट यात्रामा लाग्न सहज बनाएका थिए ।

आठ कक्षा पढ्दैगर्दा जेल परेका भुसाललाई अञ्चलाधीशले स्थानीय पुस्तकालयमा भएजति पुस्तक पढ्न पाउने आदेश दिएपछि उनी निकै खुसी भए। त्यतिबेला एकजना शशी पन्थी नामका मित्रले किताब उपलब्ध गराएपछि भुसालले जेलबाटै आफ्नो पढाइ सुरु गरेका थिए । त्यहीबेला पढेको किताबले आफूलाई दर्शनको बाटोमा हिँड्न प्रेरित गरेको भुसाल स्मरण गरिरहन्छन् । 

जेलमै लेनिनको राज्य र क्रान्तिबारे पढेपछि दर्शनबारे धेरै कुरा बुझ्ने मौका भुसालले पाएका थिए।  २०५१ सालदेखि नै पार्टी स्कुलको अवधारणाबाट अघि बढ्नुपर्ने धारणा राख्दै आएका भुसालले व्यवस्थित कक्षाहरू सञ्चालन गरेर पार्टीलाई अघि बढाउनपर्ने मत राख्दै आएका थिए । सोही अनुसार उनलाई नेकपामा स्कुल विभागको उपप्रमुख बनाइएको थियो ।
 

  • प्रकाशित मिति : असोज ७, २०७८ बिहीबार १२:३२:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया