‘हरेक साँझ बाबुले बेचिदिए, अब त यही सडक सुरक्षित लाग्छ’
फरकधार / ७ असोज, २०७८

उनलाई मान्छेदेखि डर लाग्छ । तर, मान्छेहरू हरदम हिँडिरहने सडकपेटीमै बसेकी छन् उनी । उनका अघिल्तिरबाट दैनिक हजारौं मानिस ओहोरदोहोर गर्छन् । कयौंका खुट्टाले कुल्चिन्छन् उनले सडक किनारमा ओछ्याएको म्याट (पिफोम) । कति मानिसका थुकका छिटा पर्छन् उनको शरीरमा, उनी आफैंलाई थाहा छैन ।



हेरिरहन्छिन्, आफ्नै उमेरका किशोरीहरू क्याम्पस गएको । भविष्यको सपना साँचेर अफिस गइरहेको भीड । त्यही भीडबाट निस्किएर कसैले सोध्छन्– घरको ठेगाना । कतिले सोध्छन् बा–आमाको नाम । उनका जीउभरि काँडा उम्रिन्छन् । खासमा उनलाई सम्झनु नै छैन आफ्नै घरको बाटो । बा–आमाको अनुहार । कतिले विभिन्न संस्थामा लगिदिन्छु भन्छन् । उनलाई जानु छैन कुनै संस्थामा पनि । भन्छिन्, ‘मलाई घर, संस्था भन्दा यही बाटो सुरक्षित लाग्छ ।’

११/१२ वर्षको उमेर । संरक्षण दिनुपर्ने बाबुले हरेक रात मोल गरेर बेचिदिन्थे । कति लिन्थे ? लिएको पैसाले के गर्थे हेक्का छैन्, उनलाई । आफ्नै उमेरका साथी स्कुल जान्थे । उनीहरू हिँडेको बाटो हेर्दै टोलाइरहन्थिन् सपना अछामी (नाम परिवर्तन) । उनले पनि ३ कक्षासम्म त पढेकी हुन् । त्यसपछि उनका बुवा र सौतेनी आमाले छुटाइदिए स्कुल ।  

स्कुलसँगै छुटे उनका कयौं सपना । साथीसंगी छुटे र एक्लै हुँदै गइन् । हरेक साँझ छोरीको शरीरको मोलमोलाई गर्ने पिता । सौतेनी आमाको हेला । गोर्खाको ठूलाआँगनकी सपनालाई कहाली लाग्यो आफ्नै घरको दलिन । एक बिहान झिसमिसेमै घर छोडेर हिँडिन् उनी । कहाँ जाँदै छु, थाहा थिएन । के गर्छु पनि सोच्ने बेला भैसकेको थिएन । उनको मनमा थियो म काठमाडौं जान्छु । काम गरेर खान्छु । 



अन्योलको यात्रा । अञ्जान बाटो । कहाँबाट कहाँ पुगिन्छ उनी आफैंलाई थाहा थिएन । साँझ छिप्पिने क्रममा थियो । उनी बाटोमै बलात्कृत भइन् । बलात्कारको पीडा सहन नसकेर बेहोस भएकी सपना ब्युँझदा पाटन अस्पतालको बेडमा थिइन् । बाटो हिँड्ने कोही अञ्जान मानिसले उनलाई उठाएर त्यहाँसम्म लगिदिएको रहेछ । केही दिनको उपचारपछि सपनालाई तिनैले बाल हेल्पलाइनको जिम्मा लगाइदिए । त्यो दिन सम्झँदै उनी भन्छिन्, ‘त्यो अंकलले त तिमीलाई यो संस्थाले पढाइदिन्छ । यहीँ बस भनेर छोड्नु भएको थियो । संस्थाले बा–आमा बोलाएर जिम्मा लगाइदियो ।’

घर फर्किएपछि पहिलाको जति पनि सहज भएन बाँच्न । गाउँभरिकाले लाञ्छना लगाउन थाले । बाबुले सिस्नोपानी लगाउँथे जिउमा । पेटभरि खान दिँदैनथिन् सौतेनी आमा । बचनैपिच्छे भन्थे– ‘तँ पागल होस् ।’ यो सबै देख्न नसकेर उनलाई जन्म दिने आमाले पनि कयौं पटक गरिन् मृत्युको कामना । भनिरहन्थिन्, ‘तँ कहिले मर्छेस् र मलाई सुख हुन्छ !’ सडक किनारमै बसेर आँखाभरि आँसु पार्दै सुनाइन् सपनाले सुन्नै पनि कठिन हुने उनको  जीवनकथा । उनलाई घर बस्नै मन लागेन । पुनः घर छोडेर हिँडिन् । 

पुनः काठमाडौं आएपछि रानीवनको मानव सेवा आश्रममा काम गर्न पुगिन् । आश्रममा भाडा माझ्ने काम गर्थिन् । बुढाबुढीलाई खाना खुवाउँथिन् । सबैसँग हाँस्ने–बोल्ने सपनालाई त्यहाँको जिन्दगी ठीकै लागेको थियो । समयक्रमा आश्रमको किचेनमा काम गर्ने एक अधबैंसे पुरूषले उनीमाथि कुनियत राखे । आश्रममा उनलाई सबैले हिमाल भनेर बोलाउँथे । परिचयपत्रमा उनको असली नाम अर्कै थियो । सपनाले उनको असली नाम त भुलिसकिन् । एक साँझ भाँडा माझ्दामाझ्दै हिमालले उनलाई जर्बजस्ती गरे । अवरूद्ध गलामा सपनाले भनिन्, ‘म जत्रै उसकी छोरी विदेशमा पढ्थिन् । आफ्नी छोरीलाई सामान पठाइरहन्थ्यो । मलाई गरिखान पनि दिएन पापीले ।’ उनीमाथि भएको यो जर्बजस्ती त्यहीँ काम गर्ने अर्को व्यक्तिले पनि देखेको, तर केही नबोलेको सपना बताउँछिन् । 

त्यसपछि रानीवन छोडेर उनी हात्तीवनको मानव सेवा आश्रममा पुगिन् । त्यहाँ उनको काम फेरियो । आश्रममा रहेका आमाहरूलाई नुहाइदिने । उनीहरूका लुगा धुने । डाइपर चेन्ज गर्दिने काम गर्थिन् । यहाँ पनि उनलाई ठीकै लागेको थियो । त्यही आश्रममा आइरहन्थे भानु नेपाली । भानुले उनलाई बारम्बार प्रेम गर्छु भने । माया देखाए । पटकपटक भागेर जाऊँ सुखी संसार बनाऊँ भनेर फकाए । सानैबाट आफन्तको माया नपाएकी सपना पनि बहकिन पुगिन् । आश्रमबाट भानुसँग भागिन् ।

भानुले नयाँ बसपार्क लगे । उनलाई याद छ, जाँदा बाटोको दुवै किनारमा कपडा पसल थिए । पसल छिचोलेर पर पुगेपछि भेटिएको थियो प्रहरी चौकी । चौकीभन्दा अलि पर बाटोमा राखिएको ह्युमपाइपमा पटकपटक बलात्कार गरे । त्यसपछि छाडिदिए अलपत्र । पछि सपनाले थाहा पाइन्, भानु बसपार्क एरियामै ‘मासु पसल’ मा काम गर्छन् । तर, खोजी गरिनन् । त्यसपछि उनलाई आश्रम, संस्था र राम्रा भनिएका मानिससँग सुरक्षित महसुस भएन । यहीबाट सुरू भयो सपनाको सडक जिन्दगी । 

यसरी सडकमा जीवन बिताउन बाध्य किशोरी यो देशमा कति होलान् ? यकिन तथ्यांक न त सरकारसँग छ न त सडक बालबालिकाको हितका निम्ति भन्दै खुलेका सरकारी–गैरसरकारी संस्थासँगै छ ! सरकार अन्धो छ र विभिन्न नामका संस्थाहरूको ध्यान वास्तविक पीडितप्रति होइन, अन्यत्रै केन्द्रित छ । यही कारण पनि देशका विभिन्न क्षेत्रमा सपनाजस्ता असंख्य किशोरीहरू असुरक्षित र कठिन जीवन बिताइरहेका छन् ।

सपनाले काठमाडौंका बाटाहरूमा रात बिताउन लागेको पनि एक वर्षभन्दा धेरै भैसक्यो । केही महिनादेखि उनी तीनेकुनेस्थित सडक किनारमा भेटिन्छिन् । सरकारले तीनकुने वरपर सडकका दायाँबायाँका फुटपाथ यतिखेर चिप्लो पारेको छ, तर सपनाको जिन्दगी भने उही खस्रोको खस्रै छ । एक टुक्रो म्याट, अरूले दिएका केही पुराना लुगा । बाटो हिँड्नेहरूले दिएका केही पैसा र खानेकुरा । त्यही पनि सडक बालबालिकाहरूले खोसेर लगिदिन्छन् कहिलेकाहीँ । अनि उनी मनमनै कामना गर्छिन्– ‘मलाई यो शरीरबाट मुक्ति देऊ भगवान् ।’ तर, उनले पुकारेको भगवान् कहाँ छ ? कसरी मिल्छ उनलाई यो शरीरबाट मुक्ति ? केही थाहा छैन् । बाटोमै कसैले ल्याएर दिएको बाइबलको किताब छ साथमा । एउटा डायरी र कलम पनि । कहिलेकहीँ एकोहोरो कोरी बस्छिन् कापीमा । उनी आफैंलाई थाहा छैन, आफैंले कोरेको अक्षर, कोर्दाकोर्दै बनेको आकृति । 

बाटोमा आएपछि बलात्कृत हुनु नपरेको सपना सुनाउँछिन् । तर, समयसमयमा केटाहरूले दुःख भने दिने गरेका छन् । आधारातमा आउँछन् र भन्छन्, ‘हिँड हामीसँग सुत्न ।’ उनी नजिकैको प्रहरी चौकी देखाउँछिन् र भन्छिन्, ‘त्यहाँका सबै पुलिस चिनेको छु । चिच्याएर बोलाउँछु ।’ उनीहरू भाग्छन् । कहिलेकाहीँ त उनलाई लाग्छ– ‘मलाई पनि निर्मला पन्तलाई जस्तै मारेर फालिदिए पनि हुन्थ्यो !’ बोल्दाबोल्दै निकैबेर उनको गला अवरूद्ध भयो । घोसेमुन्टो लगाएर खुट्टाका औंलोले सडक कोट्याइरहिन् । निकै बेरपछि उनले पुनः भनिन्, ‘यो दुनियाँमा बाँचेर के फाइदा ? बाँच्नु भन्दा मर्नु जाती !’

हिजोआज राति १२/१ बजेतिर ३ जना मानिस आउँछन् । उनलाई बैनी भन्छन् । हावाखाने बहानामा आएका उनीहरू भन्छन्, ‘तिमी अब घर फर्किएर नजाउ । यहि बस् । हामी तिमीलाई दसैंमा नयाँ लुगा किनिदिन्छौँ । हामीसँगै घुम्न जानु पर्छ ।’ नराम्रो केही नभनेकाले ती मानिस उनलाई पनि दाइजस्तै लाग्छ । कसैले घरको बारेमा सोधे उनको टाउको दुख्छ । भन्छिन्, ‘मेरो संसार यहि सडक हो । जहाँ जान्छु त्यहि हो मेरो घर । बाटोमा हिँड्ने सबै मेरा आफन्त ।’

  • प्रकाशित मिति : असोज ७, २०७८ बिहीबार १६:३४:४८,   अन्तिम अपडेट : असोज ७, २०७८ बिहीबार १६:३५:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया