काठमाडौं उपत्यकामा दसैं-तिहारका लागि ५० हजार खसीबोका ल्याइने भएको छ । दसैँ धान्नका लागि उपत्यका बाहिरबाट ल्याउने सो खसीबोकाको मूल्य कुल ८१ करोड २५ लाख पर्नेछ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी, नेपाल व्यावसायिक बाख्रा पालक महासंघ र चौपाया खरिद बिक्री सेवा संघलगायतले सो मूल्यको खसीबोका काठमाडौं भित्र्याउन लागेको हो ।
नेपाल व्यावसायिक बाख्रा पालक महासंघ अध्यक्ष प्रेमसागर पौडेलले दसैँमा काठमाडौं उपत्यकामा ५० हजार खसीबोका आवश्यक भएको बताए । उनले विगतमा जस्तो सहज नभए पनि अहिले हरेक दिनजस्तो खसी बोका ल्याउने काम भइरहेको जानकारी दिए ।
‘अहिले धेरै ठाउँमा बाख्रा फार्म छ । यहीबाट पनि खसीबोका उठाउँछौं । तर, जति आवश्यक छ एक ठाउँबाट उठाउन मिल्दैन,’ उनले भने, ‘फरक फरक जिल्लाबाट गाडिमा जम्मा गर्दै ल्याउनुपर्ने अवस्था छ ।’
उनका अनुसार केही विचौलियाले भारतबाट समेत खसीबोका सेटिङमा ल्याउने गरेको उनले बताए । सामान्यतया खसीबोका २० देखि २५ किलो हुन्छ । ५० हजार खसीबोकाको औसत २५ किलो तौलले कुल १२ लाख ५० हजार किलोको खसीबोका दसैँमा खपत हुन्छ ।
उपत्यकामा जिउँदो खसीबोकाको मूल्य प्रतिकिलो ६५० रुपैयाँ रहको खाद्य व्यवस्था तथा व्यापार कम्पनी नायब महाप्रबन्धक श्रीमणि खनालले बताए । सो मूल्यअनुसार १२ लाख ५० हजार किलो खसीबोकाको औसत मूल्य ८१ करोड २५ लाख हुने खनालको भनाइ छ ।
उनका अनुसार काठमाडौं ल्याइने खसीबोका नेपालभित्रकै हुनेछन् । व्यापार कम्पनीले दुई हजार खसीबोका र एक हजार च्याङ्ग्रा किन्न सात करोड रुपैयाँ छुट्याएको छ । कम्पनीले गत वर्ष १६ सय खसीबोका र १४ सय च्याङ्ग्रा उपत्यका ल्याएर बिक्री गर्ने योजना बनाए पनि च्याङ्ग्रा ल्याउन नसकेपछि १५ सय वटा मात्रै खसीबोका ल्याएको थियो ।
बाख्रापालक महासंघको तथ्याङ्कअनुसार सबैभन्दा धेरै बाख्रा बागमती प्रदेशमा उपलब्ध छन् । यो प्रदेशमा १४ हजार बाख्रा खानयोग्य रहेको महासंघले जनाएको छ ।
यस्तै, सुदूरपश्चिममा ४ हजार, लुम्बिनी र कर्णालीमा २५/२५ सय, प्रदेश १ र २ प्रदेशमा २/२ हजार खसीबोका तथा बाख्रा खानायोग्य छन् ।
चौपाया खरिदबिक्री सेवा संघका अनुसार संघका अनुसार यस वर्ष धनकुटा, सुर्खेत, बर्दिया, कटारी, जनकपुर, लमही लगायतका स्थानबाट उपत्यकामा खसी आउने भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।