हामीले जनताको बहुदलीय जनवाद छाडेका छैनौं : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवाद नछाडेको बताएका छन् ।

अध्यक्ष नेपालले जनताको बहुदलीय जनताको मूल्य र मान्यतालाई रक्षा गर्दै आफ्नो पार्टी अघि बढ्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

पार्टी निकट युवा संघ नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, मदन भण्डारीजस्ता नेताहरूको जीवनबाट प्रेरणा लिएर आफ्नो पार्टी अघि बढ्ने पनि बताए ।

अध्यक्ष नेपालले माओ, होची मिन्हजस्ता नेताहरूले विश्व कम्युनिष्ट आन्दोलनलाई लोकप्रिय बनाएको उल्लेख गर्दै त्यसबाट सिकेर अघि बढन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।  

उनले भने, ‘जनताको बहुदलीय जनवादलाई हामीले आत्मासात गर्न चाहन्छौं । र, त्यसको मूल्य र मान्यताको रक्षा गर्न चाहन्छौं । विश्वका विभिन्न देशहरूमा कम्युनिष्ट पार्टीहरूमा एकसे एक नेताहरूको उदय भएको छ । र, उनीहरूको महत्वपूर्ण भूमिकाले त्यो देशको कम्युनिष्ट आन्दोलन निरन्तर रूपमा अगाडि बढेको छ । चीनमा माओजस्ता नेताहरू, देङसेवापिङ जस्ता नेताहरू जन्मे । त्यसैगरी भियतनाममा होची मिन्हलगायतका नेताहरू जन्मे । र, कम्युनिष्ट पार्टीलाई लोकप्रिय बनाए । हामी कहाँ पनि पुष्पलालजस्ता नेताहरू, मनमोहन अधिकारीजस्ता नेताहरू, मदन भण्डारीजस्ता नेताहरू जन्मिए । तुलसीलालजस्ता योद्धाहरू देखा परे । ती सबै योद्धाहरूप्रति हामी गौरवबोध गर्दछौं । उहाँहरूको जीवनबाट प्रेरणा लिएर हामी अघि बढछौं ।’

अध्यक्ष नेपालले आफ्नो पार्टी सरकारमा सहभागी हुनेवित्तिकै युवाहरूलाई रोजगारी दिने कामलाई जोड दिने बताए । उनले त्यसका लागि आफूलाई दक्ष बनाउने गरी प्रशिक्षित हुन पनि आफू निकट पार्टीका युवा संघका नेता, कार्यकर्तालाई सचेत पनि गराए । अध्यक्ष नेपालले पार्टीमा आवद्ध युवाहरूले सामाजिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताए ।



अध्यक्ष नेपालले पार्टीका युवाहरूले कृषि फार्म, माछा पालन, तरकारी खेती, फलफूल खेतीलगायतका उत्पादनशील क्षेत्रको काममा लाग्नुपर्नेमा पनि जोड दिए ।



  • प्रकाशित मिति : असोज ७, २०७८ बिहीबार १४:६:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया