माओवादी अध्यक्ष प्रचण्डको स्वीकारोक्ति :  बिग्रिएको मै हो, तलका कार्यकर्ता बिग्रिएका छैनन्

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेकपा माओवादी केन्द्रलाई फेरि एक नम्बरको पार्टी बनाएर देखाउने प्रतिबद्धता दोहोर्याएका छन् । अध्यक्ष प्रचण्डले यसअघि पनि आफ्नो पार्टीलाई देशको एक नम्बर बनाउने बताएका थिए । 

वाइसियल नेपाल, पाँचखाल काभ्रेको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले भने,‘आउने निर्वाचनमा हामी एक नम्बर पार्टी हुने संकल्प गरौं । यो हलले संकल्प गरोस् । हेर्नुहोला हामी १ नम्बर भएर देखाउँछौँ, देखाउनैपर्छ ।’

माओवादी पार्टी जागेर जाने हो भने अब त्यो टाढा नभएको प्रचण्डको भनाई छ । प्रचण्डले भने,‘सबै जाग्ने हो भने त्यो टाढा छैन् ।’

साथै, काभ्रेमा कार्यक्रमलाई सम्बोधन गर्न पुगेका प्रचण्डले माओवादी किन जनताको घरमा आएनन् भनेर निराश भएको बताए । ‘कहिलेकाहीँ साथीहरु भन्छन् – मानिसहरु सबै निराश छन् । मैले के भन्ने गरेको छु भने– जनता त निराश छैनन् । जनता अलिअलि वाक्क दिक्क भएका छन्,’ प्रचण्डले अघि भने, ‘किनभने माओवादी कहाँ गए ? तिनीहरु त सधैं गाउँघरतिर आउँथे, दुःखसुखका कुरा गर्थे, खेतीपाती पनि नभ्याएको बेला सघाउँथे अहिले कहाँ गए भनेर निराश छन् ।’

जनताले फेरि माओवादी आइदिए हुन्थ्यो भन्ने अपेक्षा राखेको सुनाउँदै कार्यकर्तालाई प्रचण्डले भने, ‘उनीहरु आइदिए हुन्थ्यो भन्ने पो छ जनतालाई । तलका कार्यकर्ता बिग्रिएका छैनन् । बिग्रिएका भनेका टाठाबाठा, चुनाव जितेका धेरैजसो छन् ।’

अध्यक्ष प्रचण्डले तलका कार्यकर्ता नबिग्रिएको बताउँदै आफैं बिग्रिएको स्वीकार गरे । आफू अब सच्चिन तयार रहेको भन्दै प्रचण्डको आग्रह गरे, ‘जो जति माथि आएको छ त्यो धेरै बिग्रिएको छ त्यो बुझ्नुहोला । अरुलाई म धेरै भन्दिन बिग्रिएको मै हो भनेको छु अहिले । म हो, अब म सच्चिन्छु, । को को सच्चिने नसच्चिने तपाईंहरुसँग सोच्नुस् ।’



अब माओवादी केन्द्रलाई वैधानिक ढंगले देशैभरी पुर्याउने उद्घोष गर्दै प्रचण्डले भने, ‘सबै कमिटीहरु अब वैधानिक ढंगले, देशैभरी सदस्य र उसको निर्वाचन आयोगको निर्देशिका सायद तपाईंहरुकोमा आइपुग्यो वा आउँदैछ । सबै कमिटीहरु वैधानिक ढंगले निर्वाचन आयोगसँग र अदालतका नियमसँग र हाम्रो पार्टी विधानसँग तालमेल गरेर कमिटीहरु निर्माण गर्नैपर्छ । हामी गरिछाड्छौं ।’



  • प्रकाशित मिति : असोज ७, २०७८ बिहीबार १६:११:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया