एजेन्सी– अभिषेक बच्चन ४३ वर्षका भए । ५ फेब्रुअरी १९७६ मा मुम्बईको महाराष्ट्रमा जन्मेका अभिषेक बच्चनले सन् २००० मा निर्देशक जेपी दत्तको बलिउड फिल्म ‘रिफ्युजी’बाट डेब्यु गरेका थिए । तर, त्यसको चार वर्षपछि रिलिज भएको फिल्म ‘धुम’ले उनलाई बलिउड सिनेजगत्मा स्थापित गरायो । ‘धुम’ आउनुपूर्व पनि उनले १५ वटा फिल्ममा काम गरेका थिए । तर, ती सबै फ्लप भएका थिए ।
फिल्ममा आउनुपूर्व उनी ड्राइभर थिए । यो कुरा सबैका लागि नौलो हो । उनी आफ्नै बाबा अभिताभ बच्चनको कम्पनी एबिसिएलमा ड्राइभरको काम गर्थे । उनले आफू ड्राइबर भएको कुरा स्वयं आफैँले एक प्रख्यात सो ‘ये है मेरी कहानी’बाट दिए । उनी अरशद वारसी र चन्द्रचुन्द सिंहलाई फिल्म सेटमा ल्याउने र पुर्याउने काम गर्थे ।
सोमा आफ्नो कहानी बताउने क्रममा उनले भने, ‘बाबाको प्रोडक्सन कम्पनी ‘एबिसिएल’मा ड्राइभरको काम गर्थें । हरेक दिन बिहान अरशद र चन्द्रचडको घरबाट सेटसम्म ल्याउने र बेलुका उनीहरूलाई घरसम्म पुर्याउने काम गर्थें । यसै क्रममा एक्टर बन्ने सपना देख्न थालेँ । भेटेका जति सबै निर्देशकलाई आफ्नो बारेमा पनि सोचिदिन अनुरोध गर्थें ।’
दुई वर्षसम्म कसैले पनि पत्याएनन्
अभिषेक बच्चनलाई एमबिए पढ्नका लागि विदेश पठाइएको थियो । तर, उनी बीचैमा पढाइ छाडेर फर्किए । त्यसपछि उनले आफ्नै बाबाको प्रोडक्सन कम्पनीमा असिस्टेन्ट डाइरेक्टर र ड्राइभरको रूपमा काम गरे । उनका बाबा प्रख्यात एक्टर भएकोले निर्देशकसँग उनको सहजै भेट हुन्थ्यो । तर, कुरा भेटघाटसम्म मात्रै सीमित हुन्थ्यो ।
आफू अमिताभ बच्चनको छोरा भएकै कारण कसैले पनि आफ्नो फिल्ममा नलिएको उनको बुझाइ छ । कोही उनलाई सीधै अस्वीकार गर्थे भने कोही अनेक बहाना बनाएर उको प्रस्तावलाई टारिदिन्थे । दुई वर्षसम्म उनले अस्वीकार झेल्नुपरेको थियो । आफू हरेकपटक अस्वीकृत हुँदा उनलाई साह्रै नमज्जा लाग्थ्यो ।
‘कहिलेकाहीँ आफ्ना बाआमालाई अनुहार देखाउन पनि लाज लाग्थ्यो र कामबाट फर्केपछि खाना नखाईकनै कोठा बन्द गरेर सुत्थेँ । अब बाआमासँग कसरी मुख देखाउन जाऊँ हुन्थ्यो,’ उनले भने, ‘पढाइ छाडिसकेको थिएँ । मेरो आम्दानीको स्रोत पनि केही थिएन । सबैलाई लाग्दो कि अभिषेक बच्चनले सबै कुरा सहजै प्राप्त गरेको हो ।’
अस्वीकारलाई नै प्रेरणा मानेर अघि बढे
अभिषेक बच्चन आफूलाई रिजेक्सेनले नै अघि बढ्ने प्रेरणा दिएको मान्छन् । जुन–जुन निर्देशकबाट अस्वीकृत भए तिनै निर्देशकसँगै कुनै दिन काम गर्छु भन्ने अठोट उनले गरेका थिए । अभिषेकले सबैभन्दा पहिले प्रकाश मेहतासँग एउटा फिल्मको योजना बनाएको बताए । फिल्मको नाम थियो, ‘सम्झौता एक्सप्रेस’ । दुर्भाग्यवश फिल्म बनेन ।
एक दिन एउटा कार्यक्रममा उनीमाथि जेपी दत्तको नजर पर्यो, त्यसवेला जेपी ‘आखारी मुगल’ बनाउने योजनामा थिए । उनले अभिषेकलाई आफ्नो फिल्ममा राख्ने निधो गरे । तर, ‘आखिरी मुगल’ पनि केही कारण बन्न सकेन । अभिषेक यसपटक पनि निराश हुनुपर्यो । पछि जेपी दत्तले नै अभिषेकलाई ‘रिफ्युजी’मा उनलाई अनुमोदन गरे र अभिषेकको अभिनय यात्रा सुरु भयो । त्यसपछि उनी हिट फिल्मका लागि चार वर्षसम्म भाँैतारिइरहे ।
बाबुको बदनाम गरेको आरोपमा थप्पड खाए
उनी एक दिन फिल्मको रिभ्यु हेर्न सिनेमा हल गएका थिए । एक केटीले उनलाई अमिताभ बच्चनको बदनाम गरेको आरोप लगाउँदै थप्पड हानिन् । ती केटीले उनलाई फिल्म छाड्न पनि सुझाब दिइन् । तर, सन् २००४ मा रिलिज भएको धुमले उनलाई चर्चित बनायो ।
अभिषेक बच्चनले करिब ५० फिल्ममा काम गरिसकेका छन् । तर, पनि उनले अन्य समकालीन अभिनेता बराबरको सफलता भने पाउँन सकेका छैनन् ।
बाबाको प्रशंसा पाउन लामो समय पर्खनुपर्यो
अभिषेक आफूलाई सन् २००४ मा रिलिज भएको ‘धुम’ले ठूलो सफलता दिएको मान्छन् । यद्यपि, भगवान्समान आफ्नै बाबा अमिताभ बच्चनको तारिफ पाउन भने सकेका थिएनन् । डेब्यु गरेको सात वर्षपछि जब उनको फिल्म ‘गुरु’ रिलिज भयो तब भने उनले आफ्नो बाबाको तारिफ पाए । अमिताभले ‘गुरु’ फिल्म हेरिसकेपछि हलबाहिर आएर अभिषेकलाई अँगालो हाल्दै तारिफ गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।