जनकपुरधाम उपमहानगरपालिकाले नयाँ खाता सञ्चालन गर्न नसक्दा आर्थिक कारोबार ३ महिनादेखि ठप्प रहेको छ । नगरप्रमुख लालकिशोर साहले पछिल्लो परिषद्को फाइल क्लोज नगरेकोले अहिलेसम्म नयाँ खाता सञ्चालन हुन नसकेको हो ।
वडा नम्बर–४ का वडाध्यक्ष सुदर्शन सिंहले मेयर साहका कारण आर्थिक कारोबार ठप्प रहेको आरोप लगाए । उनले पछिल्लो परिषद्को फाइल क्लोज गरेर नेटमा हाल्ने र त्यहाँबाट स्वीकृति पश्चात खाता खोल्ने प्रावधान रहे पनि सो प्रक्रिया पूरा हुन नसक्दा खाता सञ्चालनमा ढिलाइ भएको दाबी गरे ।
वडा नम्बर–७ का वडाध्यक्ष जानकीराम साहले पछिल्लो परिषद्को निर्णयसहितको फाइल क्लोज गरेर उपमहानगरले नेटमा नराख्दा खाता सञ्चालन हुन नसकेको आरोप लगाए ।
उनले भने, ‘निर्णयसहितको फाइल परिषद् सम्पन्न भएको १५ दिनभित्र गर्नुपर्ने कानुनी प्रावधान रहे पनि मेयर साहले आफ्नो योजनाहरू हालसम्म छनोट गरेका छैनन् ।’ नयाँ खाता सञ्चालन हुन नसक्दा वडाका आर्थिक कारोबारहरू पनि गत ३ महिनादेखि ठप्प रहेको उनले बताए ।
त्यस्तै, वडा नम्बर–१० का वडाध्यक्ष मिथिलेश कर्णले आफूहरूले परिषदमा आफ्नो योजना राखिसकेको र मेयर तथा उपमेयरले आफ्ना योजनाहरू रकमसहित छनोट नगरेकोले फाइल क्लोज गर्नमा ढिलाइ भएको जिकिर गरे ।
परिषदबाट गरिएको निर्णयको फाइल क्लोज गरेपछि त्यसलाई सम्बन्धित निकायको नेटमा हाल्नुपर्ने र सो स्वीकृत भएपछि नयाँ खाता सञ्चालनका लागि त्यहाँबाट आएको पत्रको आधारमा अख्तियारी पश्चात खुल्ने कानुनी प्रावधान छ । तर, जनकपुरधाम उपमहानगरपालिकाले हालसम्म सो प्रक्रिया पूरा गर्न सकेको छैन् ।
यता नाम उल्लेख नगर्ने शर्तमा उपमहानगरपालिकाका एक कर्मचारीले प्रमुख प्रशासकीय अधिकृत विनोद खड्का र मेयर साहबीचको मतान्तरका कारण फाइल क्लोज हुन नसकेको जानकारी दिए । उनले परिषद् वा बोर्डमा छलफल नभएका विषय, करारमा कर्मचारी भर्ना गर्ने, मेयर चढदै आएको करिब डेढ करोड मूल्य बराबरको गाडी मरम्मतमा लाग्ने खर्च ४८ लाख मेयरले नै राख्न खोज्दा प्रमुख प्रशासकीय अधिकृतले ती कुरामा असहमति जनाएको बताए ।
नयाँ खाता सञ्चालन हुन नसक्दा कर्मचारीले ३ महिनादेखि तलबसमेत पाउन सकेका छैनन् । साथै, औषधि तथा शैक्षिक सामग्रीलगायत उपमहानगर र वडा कार्यालयहरूका अन्य आर्थिक कारोबार ठप्प रहेको छ ।
उपमहानगरपालिकाका लेखा अधिकृत नन्दकुमार झाले नयाँ खाता सञ्चालन हुन नसक्दा कर्मचारीको ३ महिनाको तलब बाँकी रहेको र कुनै पनि आर्थिक कारोबार अघि बढ्न नसकेको बताए । झाले प्राविधिक प्रक्रिया पूरा नभएकोले खाता खुल्न नसकेको प्रतिक्रिया दिए ।
उनले भने, ‘अहिलेसम्म खाता सञ्चालन हुन नसके पनि दसैँ-तिहारमा कर्मचारीलाई तलब भत्ता लगायतका भुक्तानीका लागि जसरी पनि खाता खोल्नैपर्छ ।’
यस सम्बन्धमा मेयर लालकिशोर साहले जनकपुरधाम उपमहानगरपालिकामा मात्रै नभई देशका अधिकांश पालिकाको खाता सञ्चालन हुन नसकेको बताए । उनले खाता खोल्ने काम कोष तथा लेखा नियन्त्रक कार्यालयको रहेको भन्दै थप कुरा सोही कार्यालयसँग बुझ्नसमेत आग्रह गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।