कर्मचारी आन्दोलनकाे कारण निगम भद्रगोल, दुई महिनादेखि महाप्रवन्धक कार्यालय बाहिरै

नेपालको गौरवसँग जोडिएको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) कर्मचारीको आन्दोलनका कारण अस्तव्यस्त भएको छ । 

निगमलाई सञ्चालक समितिले निजीकरण गर्न खोजेको भन्दै निगमभित्रका कर्मचारीका ट्रेड युनियनहरूले आन्दोलन गर्दै आएका छन् । आन्दोलनकै कारण निगमका महाप्रबन्धकले आफ्नो कार्यकक्षबाट काम गर्न सकिरहेको छैनन् । 

आन्दोलनका कारण निगमको प्रशासनिक काम प्रत्यक्ष-अप्रत्यक्ष रूपमा प्रभावित भएको सरोकारवालाहरू बताउँछन् । निगम अहिले ५० अर्ब ऋणमा छ । ऋणसँगै ट्रेड युनियनको आन्दोलनले निगमलाई थप धरासायी र कमजोर बनाउँदै लगेको देखिन्छ । 

ऋण उठाउनका लागि व्यवसायिक योजना, व्यापार प्रवर्द्धन र गन्तव्य विस्तार गर्नुपर्ने समयमा निगम उल्टै आन्तरिक किचलोमा फसेको छ । निगमको प्राङ्गणमा हरेक दिन बिहान १० देखि दिउँसो एक बजेसम्म हुने धर्नामा ट्रेड युनियन संघ संस्थाले साथ दिइरहेका छन् । निगमको भद्रगोल व्यवस्थापनकै कारण राष्ट्रिय ध्वजाबाहक वायुसेवा निगमको छवि धमिलो भइरहेको छ । 

डिमप्रकाश पौडेल दुई महिनादेखि कार्यालय बाहिर 

निगमका महाप्रबन्धक डिमप्रकाश पौडेल दुई महिनादेखि कार्यालय बाहिरबाटै काम गरिरहेका छन् । तर, कार्यालय बाहिर बसेर गरिएको काम प्रभावकारी नभएको महाप्रबन्धक पौडेलको भनाइ छ । 



‘मेरो तर्फबाट पटकपटक छलफलमा बसौँ भनेर सहकार्य गर्न खोजियो । तर, उहाँहरू पटक्कै बस्न रुचाउनुहुन्न’, महाप्रबन्धक पौडेलले भने, ‘यो अत्यन्तै गम्भीर विषय हो । उहाँहरूको यस्तै विरोध र नियतका कारण निगम डुबेको हो ।’

निगम बिग्रनुको मुख्य कारण नै कर्मचारीको अराजक शैली भएको पौडेलको दावी छ । उनका अनुसार कर्मचारीको अराजकशैली प्रदर्शन भइरहने हो भने जुनसुकै समय पनि निगम ठप्प हुन सक्छ । 



अहिले महाप्रबन्धक पौडेलले मन्त्रायलबाटै काम गरिरहेका छन् । 

कर्मचारीको आन्दोलनले पौडेललाई कार्यालयमा नै निषेध गरेपछि दैनिक प्रशासनिक कामदेखि दीर्घकालीन नीति निर्माणका काम प्रभावित भएको छ ।  यस्तै अनलाइन टिकेटिङ, कर्मचारीको तलब भुक्तानी, जहाजका दीर्घकालीन रूपमा गर्नुपर्ने मर्मत सम्भारका काममा समेत बाधा पुगेको छ ।  

अहिलेसम्म महालेखा परीक्षकको प्रतिवेदनमाथि छलफल हुन सकेको छैन । 

कर्मचारी आन्दोलनमा किन ?

निगम सुधारका लागि वायुसेवा निगमका सञ्चालक समितिले प्रबन्धपत्र र नियमावलीको ड्राफ्ट तयार गरेर पर्यटन मन्त्रालयमा बुझाएका थिए । विभिन्न सरोकारवाला निकायले तयार गरेको उक्त प्रबन्धपत्र र नियमावलीले निगमलाई निजीकरण गर्न खोजिएको भन्दै कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । 

कर्मचारीले अहिले विभिन्न माग राख्दै निजीकरण गर्ने निर्णय फिर्ता लिनुपर्ने सर्त राखेका छन् । यसैगरी उनीहरूले निगमका पदाधिकारीले राजीनामा दिनुपर्ने अडान पनि लिएका छन् । 

असार १८ गतेदेखि निगमभित्र नेपाल वायुसेवा निगम कर्मचारी युनियन, नेपाल वायुसेवा कर्मचारी संघ र नेपाल राष्ट्रिय कर्मचारी संगठन पदाधिकारी आन्दोलनमा छन् । 

राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष राजु श्रेष्ठले हामीसँग छलफल नै नगरी निगमलाई निजीकरणका लागि प्रबन्धपत्र र नियमावली बनाएकाले आन्दोलन गर्नु परेको बताए।  यी विषय खारेज नभएसम्म आन्दोलन नरोकिने श्रेष्ठले जानकारी दिए । 

पर्यटन मन्त्रालय मन्त्रीविहीन 

वायुसेवा निगमको तालुक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय हो । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री नियुक्त नसक्दा दुई महिनाअघिदेखि पर्यटन मन्त्रालय मन्त्रीविहीन छ । मन्त्रालयमा मन्त्री नहुँदा पनि मातहतका विभागमा समस्या थपिएको हो । 

पर्यटन मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले निगमको समस्या कसरी सम्बोधन गर्न सकिन्छ भनेर कर्मचारी युनियनसँग छलफल गरिए तापनि निचोड आउन नसकेको प्रतिक्रिया दिए । 

  • प्रकाशित मिति : असोज ८, २०७८ शुक्रबार १०:५९:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया