के चीन पुनः साम्यवादको यात्रा गर्दै छ ?

चीनले पछिल्ला केही दशकसम्म पुँजीवादलाई आफ्नो भर्सनमा फल्नेफुल्ने छुट दियो र चिनियाँ नागरिकको जिन्दगी यसै सेरोफेरामा चलिरह्यो । उसो त चीन प्राविधिक रूपमा ‘साम्यवादी’ देश हो । तर, त्यहाँको सरकारले अर्थव्यवस्थाको त्यो मोडललाई प्रोत्साहित गरिरह्यो, जहाँ धनाढ्य उद्योगपतिले उठाएको फाइदा समाजका मध्य तथा निम्न वर्गका मानिससम्म पुगोस् ।

चीनलाई लाग्यो- धनी मानिसलाई थप धनी बन्ने अनुमति दिँदा समाजका सबै तप्कालाई फाइदा पुग्छ र चेयरम्यान माओको सांस्कृतिक क्रान्तिको दलदलबाट जतिसक्यो चाँडो उनीहरूलाई बाहिर निकाल्नुपर्छ । केही हदसम्म चीनको यो सोच सफल भयो । त्यहाँ एउटा ठूलो मध्यम वर्ग देखापर्‍याे र समाजका सबै तप्काका मानिसको जीवनमा पहिलाको तुलनामा निकै सुधार देखिन थाल्यो ।

आर्थिक विषमता

७० को दशकको आर्थिक निष्क्रियताबाट उत्रेर चीन त्यो बिन्दुमा पुगेको छ, जहाँबाट त्यो देशले संसारकै आर्थिक महाशक्ति अमेरिकालाई चुनौती दिइरहेको छ । तर, यो चुनौती दिएकै कारण चीनले त्यसको मूल्य पनि चुकाउनु परिरहेको छ । चीनमा आर्थिक असमानताको खाडल गहिरिँदै गएको छ ।

यस्तोखाले असमानता ती बालबालिकामा स्पष्ट देख्न सकिन्छ, जसका माता-पिता सही समयमा सही ठाउँमा उपस्थित थिए । ८० को दशकमा जो उद्योगहरूमा काम गरिरहेका थिए, तिनलाई अथाह फाइदा भएको देखिन्छ । आज ती बालबालिका चम्किला सहरहरूमा तडकभटकसहित स्पोर्ट्सकारमा कुदिरहेका छन् । त्यो पिँढीका मानिसलाई अहिले निर्माण मजदुरले देख्दा लाग्छ- आफूले कहिल्यै एउटा बस्ने घर पनि किन्न सकिएला ?

‘कम्युनिस्ट पार्टी अफ चीन’ को कडा दृष्टिबाट जोगिनका लागि त्यहाँ एक तरिका निकालिएको छ- ‘तपाईं चिनियाँ गुणहरूलाई आत्मसात गर्नुस्’ यसबाट तपाईं पक्का चिनियाँ देखिनु हुन्छ । चिनियाँ गुणयुक्त साम्यवादको यो अवधारणाले सरकारलाई यस्तो समाज चलाउने छुट दियो, जुन कुनै पनि अर्थमा समाजवाद होइन । तर, अहिले यस्तो लाग्दै छ कि, पार्टीका महासचिव सी चिन फिङले पहिला चलिसकेको नीति अब स्वीकार्य नहुने निर्णय गरिसकेका छन् । चिन फिङको नेतृत्वमा रहेको चीनको सरकारले कम्युनिस्ट पार्टीमा साम्यवाद पुनः स्थापित गर्ने प्रक्रिया सुरु गरिसकेका छन् । यसका निम्ति ‘सामूहिक समृद्धि’ को नारा अघि सारिएको छ ।



मानिसका दैनिकी र सरकारी कारवाही

ट्याक्स एजेन्सीहरू समृद्ध मानिसमाथि नजर लगाइरहेका छन् र तिनको जाँचपड्ताल पनि भइरहेको छ । निजी एजुकेसन कम्पनीमा नियन्त्रण लगाएर शिक्षामा समानता ल्याउने प्रयत्न थालिएको छ । प्रविधिजन्य कम्पनीहरूमाथि चलाइएको कारवाहीलाई पनि यसै योजनाको हिस्साका रूपमा हेरिएको छ । के राष्ट्रपति चिन फिङ कुनै कम्युनिस्ट प्रोजेक्टले दिएको आइडियामा काम गरिरहेका छन् भन्ने प्रश्न अहिले उठेको छ ।



कतिपय विश्लेषकले चीनमा यस्तै भइरहेको बताए पनि अहिले नै यकिन गर्न भने कठिन छ । विगतको तुलनामा हेर्दा कम्युनिस्ट पार्टी अफ चाइनाका कतिपय अधिकारी यो कुरामा सहमत देखिँदैनन । 

समृद्धि र संसाधनलाई पुनः वितरणका निम्ति साम्यवादी मार्गमा अघि बढ्नुका साथै चिन फिङ चिनियाँ नागरिकको दैनिक जीवनमा समेत पार्टीको उपस्थिति देखाउने कोसिसमा लागेको देखिन्छ । चीनमा बच्चाहरू अल्छी भएका छन् । उनीहरू आफ्नो समय भिडियोगेम खेलेर बर्बाद गरिरहेका छन् । यो कुरामा पनि पार्टीले भनेको छ- तीन घण्टाभन्दा बढी भिडियोगेम खेल्न पाउँदैनौ ।

नयाँ प्रतिबन्ध र दिशानिर्देशन

चीनका नेताहरू कहिल्यै अन्तर्वार्ता दिँदैनन् । यतिसम्म कि पार्टी नियन्त्रित मिडिया आउटलेट्ससँग पनि केही बोल्दैनन् ! राष्ट्रपति चिन फिङ गाउँघरतिरको यात्रा गरिरहन्छन्, त्यो भ्रमणको तस्वीर टेलिभिजनमा देखाइन्छ । भीडले उनको उत्साह बढाइरहेको हुन्छ । उनी मकै खेती र आफ्नो अनुभव साट्छन् र जान्छन् । यही कारण पनि चीनमा आर्थिक गतिविधिमा लगाइएको नयाँ प्रतिबन्ध वा नीतिबारे पहिले नै अनुमान गर्न निकै गाह्रो हुन्छ ।

पछिल्लो समय चीनमा सायदै कुनै साता बितेको होस्, जहाँ सरकारले कुनै नयाँ र ठूलो परिवर्तन नगरेको होस् । वास्तवमा यसको निरन्तर खोजी गर्नु निकै कठिन छ । यीमध्ये कतिपय परिवर्तन त अचानक लागू गरिन्छ । 

चीनको उत्पादन प्रक्रियामा सरकारको नियन्त्रण अस्वाभाविक समस्याचाहिँ होइन । अर्थशास्त्रीहरू यसबारे बहस गर्दै कुनचाहिँ प्रक्रिया अधिक प्रभावशाली छ, त्यो बताउँछन् । यद्यपि, समस्या के देखिएको छ भने- चीनमा अहिले अनिश्चितताको वातावरण छ ।
 
चीनमा लगानी गर्नेहरूले के आधारमा गरुन् कि, कुन महिना के नयाँनयाँ परिवर्तन हुने हो भन्ने नै थाहा हुँदैन । तर, मानिसहरू के पनि मानिरहेका छन् भने- चीन अघि बढिरहेको छ । र, यी सबै उसको यात्राको प्राकृतिक कदम हुन् ।

सामूहिक समृद्धिको नारा

चीनमा सरकारी नियमनबाहिर रहेका आर्थिक गतिविधि र मानिसको जीवनचर्यालाई कानुनको दायरामा ल्याउनु आवश्यक छ । र, यदि कुरा यो नै हो भने, ‘सक ट्रिटमेन्ट’को यो प्रक्रिया एउटा अस्थायी उपाय हुन सक्छ ।

अपेक्षा गरिएको छ, जतिजति नियम स्पष्ट हुँदै जान्छ उतिउति स्थिति शान्त बन्दै जान्छ । तर, यी नीतिनियम कुन परिमाणमा लगाइन्छ भन्ने कुरा अहिले स्पष्ट छैन । एउटा कुराचाहिँ स्ष्ट छ, जेजस्ता परिवर्तन भइरहेका छन् तिनलाई सि चिन फिङले अघि सारेको सामूहिक समृद्धिको चस्माले हेर्नुपर्छ ।

कम्युनिस्ट पार्टी अफ चीनले यसलाई लागू गर्ने सवालमा आफ्ना शक्तिलाई रत्तिभर कम गर्ने छैन । त्यहाँ कसैले यो कुरा मान्छ भने यसलाई आफ्नो यात्राको हिस्सा बनाउन सक्छ, अन्यथा कुल्चिइने खतरा छ । 

(बिबिसी)    
 

  • प्रकाशित मिति : असोज ८, २०७८ शुक्रबार १२:५६:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया