इन्फिनिटी अनलाइन ट्रेडर्सको फैलिँदो गैरकानुनी नेटवर्किंङ जालो
करोडौं लगानी, न आम्दानी ग्यारेन्टी न लगानीको सुरक्षा

विराटनगरका एक व्यापारीले एक महिनाको अवधिमा २० लाख रुपैयाँ कमाए । उनले २० लाख रुपैयाँ कमाउनका लागि ८ लाख ४० हजार रुपैयाँ लगानी गरे । यो मुनाफा कमाउन न उनले कुनै सामान बेचे न त वस्तु नै । 

एक जना ब्रोकरलाई दिएको ८ लाख ४० हजार रुपैयाँले उनले घरमै बसेर २० लाख मुनाफा कमाए । यसबाट हौसिएका ती व्यापारी अहिले यसरी नै नाफा कमाउने उदेश्यले एक करोड लगानी गर्ने तयारीमा छन् । चलिरहेको पुरानो व्यापारलाई देखाएर उनी बैंकबाट ओभर ड्राफ्ट (ओडी) बनाउने तयारीमा लागेका छन् । यसैको लागि उनलाई कागजात मिलाउन चटारो छ ।

लामो समयदेखि विराटनगरमा बसेर कपडा पसल चलाइरहेका ती व्यापारीलाई कसरी २० लाख रुपैयाँ प्राप्त भयो भन्ने जानकारी छैन । उनलाई लगानी गरेको र आम्दानी भएको रकम मात्रै थाहा छ । यहि विश्वासका आधारमा उनी ओडी बनाएर एक करोड लगानी गर्ने योजनामा छन् । 

यति मात्रै होइन उनी आफू नजिकका आफन्त र परिचय भएकालाई पनि लगानी गर्न आग्रह गरिरहेका छन् । उनले इन्फीनिट अनलाइन ट्रेर्डसमा लगानी गरेको बताए । रेडिमेट व्यापारी जस्तै घर जग्गाको कारोबारमा संलग्न सुनसरीका अर्का व्यापारीले पनि ३ लाख ६० हजार रुपैयाँ लगानी गरेका छन् । दुई महिनाअघि लगानी गरेका उनले ६० हजार रुपैयाँ फाइदा लिइसकेका छन् । 

तीन लाख रुपैयाँ लगानी गरेर मासिक ३० हजार रुपैयाँ कमाई भएको बताए । थोरै लगानी गरेर मासिक तलब जस्तो प्राप्त भएकोमा ती घरजग्गा व्यापारी खुसी छन् । यसरी न्यून लगानीमा राम्रो प्रतिफल पाएपछि उनी आफू जस्तै अरूलाई पनि अनलाइन ट्रेड गर्न हौस्याइरहेका छन् । तर, उनी आफैँलाई चाहिँ केमा ट्रेड भयो? कसरी मुनाफा भयो? र, कसले उनको लगानीको प्रतिफल पठायो भन्नेमा चाहिँ अनविज्ञ छन् । 

कहाँबाट पैसा आयोभन्दा उनी इन्फीनिटी अनलाइन ट्रेर्डस (आइजिटी) को मोवाइल एप्स देखाउँछन् । उनी एप्समा देखिएको डलर आफ्नो कमाई भएको बताउँछन् ।उनले देखिएको जति डलर बराबरको रकम आफूले पाउने दाबी पनि गर्छन् । कसरी ? उनको उत्तर छ- ब्रोकरमार्फत खातामा पैसा आउँछ । उनलाई अनलाइन ट्रेडर्सको विषयमा योबाहेक केही थाहा छैन ।



जेठानले अनलाइन व्यापारबाट मनग्य फाइदा हुन्छ भनेपछि आफूले यसमा लगानी गरेको उनले बताए । उनले सुरुमा अनलाइन ट्रेड गर्ने अरू साथी बनाउन नसकेपछि दुई जनाको नाममा २ लाख ४० हजार रुपैयाँ लगानी गरेका थिए । १ लाख २० हजार रुपैयाँ चाहिँ उनले आफैँ सदस्य बन्न लगानी गरेका हुन् । 

सदस्य नबनाई मुनाफा नआउने भएकाले अरू दुई जनाको नाममा लगानी गरेर मासिक नाफा खान थालेको उनले बताए । एक महिनाको अवधिमा उनले १ लाख २० हजारका दरले लगानी गर्न अन्य तीन जना आफन्त र साथीभाइलाई मनाएका छन् । उनीहरूको रकमसमेत उनले पठाइसकेका छन् । अहिले उनीसँग तीन जनाको अनलाइन ट्रेड गर्ने युजर एकाउन्ट छ ।



यी दुई व्यापारी जस्तै अहिले इन्फिनीटि अनलाइन ट्रेडर्सको गैरकानुनी अनलाइन नेटवर्किंङको जालमा सर्वसाधारण फस्दै गएका छन् । प्रदेश १ को विराटनगर, इटहरीलगायतका शहरमा मात्रै होइन ग्रामीण क्षेत्रमा पनि यो गैरकानुनी अनलाइन नेटवर्किंङ धन्दाको जालो फैलदै गएको छ । मध्य एसियाका देशमा वैदेशिक रोजगारीमा गएकाहरूका कारण यो गैरकानुनी धन्दा नेपाल भित्रिएको अनुमान छ । 

वैदेशिक रोजगारीमा गएकाहरूले नेपालमा रहेका आफन्त र साथीभाइहरूलाई अनलाइन नेटवर्किंङको सदस्य बनाएको र यसको विस्तार नेपालमा भएको बताइन्छ । इन्फीनिटी अनलाइन ट्रेर्डसको दुबइमा कार्यालय रहेको र त्यस क्षेत्रमा गएका नेपालीहरू यो जालोमा फसेकाले यसको विस्तार नेपालमा पनि भएको नेटवर्किंङमा लागेकाहरू बताउँछन् ।  

छिट्टै मुनाफा हुने लोभमा सर्वसधारणसमेत यसमा फसेका छन् । यसरी फसाउनेहरू नजिकका आफन्त र साथीभाई नै रहेका छन् । यो धन्दामा अहिले ३० हजारभन्दा बढी नेपाली संलग्न भइसकेको बताइन्छ ।  

सदस्यहरू बढ्दै गएपछि प्रदेश १ मा भने इन्फिनिटी ग्लोबल ट्रेडर्स नामक अन्तर्राष्ट्रिय कम्पनीका एजेन्टहरू सक्रिय हुन थालेका छन् । उनीहरूले यस विषयमा प्रलोभन बाँड्न र कार्यक्रम विस्तार गर्न गोप्य रूपमा कार्यक्रमसमेत गर्न थालेका छन् । दुई साता अघि इटहरीमा यस्तै कार्यक्रम भएको थियो । 

के हो इन्फीनिटी अनलाइन ट्रेडर्स?

इन्फीनिटी अनलाइन ट्रेडर्स नेटवर्किंङ व्यवसाय हो । तर, कम्पनीले भने अनलाइन व्यापार भएको दाबी गरेको छ । अनलाइनमार्फत लगानी गरिने र लगानीका कारण प्रतिफल हुने कम्पनीको दाबी छ । उसले अनलाइन व्यापार नयाँ भएको र यसले चाँडै मानिसहरूलाई आर्थिक क्षेत्रमा सफल बनाउने भन्दै भ्रम फैलाएको छ । सो कम्पनीले व्यापारबाट पैसा आर्जन गर्नका लागि कम्पनी साझेदार मात्रै भएको समेत दाबी गरेको छ । उसले कर तथा अन्य राज्यलाई तिर्नुपर्ने आर्थिक व्ययभार र झन्झटबाट मुक्त बनाई मानिसहरूको आयआर्जन बढाउन कम्पनी खोलिएको दाबी गरेको छ । 

यसको मुख्य कार्यालय जर्जीयामा रहेको वेभसाइटमा उल्लेख छ । मानिसलाई भ्रममा राखेर उसले पिरामिड शैलीमा अनलाइन सदस्य बनाउँदै आएको छ । सदस्य बन्न १ लाख २० हजार रुपैयाँ लगानी गर्नुपर्ने र सदस्य बनेपछि उसले एप्सको युजर आइडी दिन्छ । आफू सदस्य भएर अरूलाई सदस्य बनायो भने त्यसबाट निश्चित रूपमा कमिसन प्राप्त हुन्छ । आफूले बनाएका सदस्यहरूले पनि सदस्य बनाए उनीहरूको सदस्यता शुल्कबाट समेत कमिसन बढ्दै जान्छ । यो नै नेटवर्किंङ व्यवसाय हो । 

अझ यसलाई बुझिने गरी भन्दा क भन्ने व्यक्तिले १ लाख २० हजार शुल्क तिरेपछि उ आइजिटीको सदस्य बन्छ र उसले युजर आइडी प्राप्त गर्छ । ‘क’ ले ‘ख’ भन्ने व्यक्तिलाई सदस्य बनाउँदा ‘ख’ ले लगानी गरेको १ लाख २० हजार रुपैयाँबाट केही कमिसन प्राप्त गर्छ । ‘ग’ भन्ने व्यक्तिलाई सदस्य बनाउँदा ‘ग’ ले लगानी गरेको १ लाख २० हजार रुपैयाँबाट पनि ‘क’ ले कमिसन पाउँछ ।  

‘ख’ ले ‘घ’ लाई सदस्य बनाएर ‘ग’ ले ‘ङ’ लाई सदस्य बनाए पनि ‘क’ लाई कमिसन आइरहन्छ । यही शैलीमा हुने व्यापार नै नेटवर्किंङ व्यवसाय हो । कुनै बेला भौतिक रूपमा नै भेटघाट गरेर रकम लिने र सदस्य बनाउने नेटवर्किङधन्दा चलेको थियो । युनिटीलगायतका यस्ता गैरकानुनी नेटवर्किंङ नेपालमा बन्द भएपछि अहिले अनलाइनमा यस्तो धन्दा सुरु भएको छ । 

यो व्यापार किन सफल हुँदैन?

अर्थशास्त्री डा. अर्जुन बराल यस्तो नेटवर्किंङ धन्दा पछिसम्मका लागि सञ्चालन हुन नसक्ने दाबी गर्छन् । निश्चित समयपछि सदस्य र लगानीकर्ता भेट्टाउन सकिन्न । जसले गर्दा पछि सदस्य भएकाहरूको लगानी डुब्छ । यसरी लगानी डुबाउने कमाउनेभन्दा धेरै हुन्छन् । 

चार जनालाई फाइदा दिन ८ जनाले सदस्य बन्नुपर्छ । ८ जनालाई कमिसन दिन १६ जना सदस्य थपिनुपर्छ । डा. बरालले भने यो निश्चित समयमा पुगेपछि सम्भव नहुने भएकाले पिरामिड भत्काउने उनले दाबी गरे । 

जब पिरामिड भत्कन्छ तव व्यवसाय धरापमा पर्छ । व्यवसाय धरापमा परेपछि लगानी डुब्ने र सुरुका व्यक्तिहरू भाग्ने बरालको दाबी छ । प्रदेश १ प्रहरी प्रमुख डिआइजी अरुणकुमार बीसीले नेटवर्किंङ व्यवसाय अपराध भएकाले कानुनअनुसार दण्डनीय भएको बताए । लामो समय सम्म यो व्यवसाय नटिक्ने र केहिले नाफा कमाए पनि धेरैको लगानी डुब्ने भएकाले नेपालमा यसलाई अवैध मानिएको उनले बताए । 

आइजिटीले अर्थतन्त्रमा कस्तो पार्छ प्रभाव ?

यो गैरकानुनी धन्दालाई नरोक्ने हो भने नेपालको अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने अर्थशास्त्री डा. बरालले बताए । अन्तर्राष्ट्रिय गिरोह र संस्थाद्वारा परिचालित भएका कारण नेपाली पुँजी आइजिटीका नाममा विदेश जाने र यसले आर्थिक संकट उत्पन्न हुने बराल दाबी गर्छन् ।

यो जालो फैलिँदै जाने हो भने स्वदेशी पुँजी पलायन हुँदै जान्छ । यो देशका लागि ठूलो घाटा हो । वस्तुको किनबेचबाट र रेमिट्यान्सबाट विदेशी पैसा नेपाल आउँछ । तर, यो  औपचारिक बाटोबाट जान्छ । औपचारिक बाटोबाट जाँदा राजश्वलगायतका अन्य कारणले देशलाई फाइदा हुन्छ । 

यसरी आइजिटीको गैरकानुनी धन्दाबाट जाने रकमले भने संकट निम्तिन सक्ने अर्थशास्त्रीको बुझाई छ । ‘सरकारले यो पैसा कहाँ गइरहेको छ । कहाँ गइरहेको छ भन्ने नै हो । उत्पादन गतिविधि नै प्रभाव पार्न सक्छ,’ अर्थशास्त्री बरालले भने ।

नेपाली पैसा विदेश जाँदा मात्रै समस्या हुँदैन । विदेशबाट गैरकानुनी रूपमा पनि नेपालमा पैसा आउँदा समस्या हुन्छ । जसकारण अनलाइन नेटवर्किंङ व्यापार भन्दा तत्काल बन्द गराउनुपर्ने अर्थशास्त्री बरालको माग छ ।

‘यो अर्थतन्त्रको रोग हो । यसले अर्थतन्त्र खराब इन्डिकेटरमा जान्छ,’ उनले भने । गैरकानुनी रूपमा नेपाली पैसा विदेश जाँदा नेपालले अन्तर्राष्ट्रिय ट्रेड गर्न नसक्ने र सामान पाउन मुस्किल हुने राष्ट्र बैंकको दाबी छ । राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले यो आर्थिक अपराध भएको बताए । उनले यस धन्दामा संलग्नलाई पक्राउ गरिने र कानुनअनुसार कारबाही गरिने पनि बताए । 

उनले बैंकमार्फत यो धन्दा नभएको र हुण्डीमार्फत पैसा कारोबार भइरहेको हुन सक्ने बताए । प्रदेश १ का प्रहरी प्रमुख अरुणकुमार बीसीले भने यस विषयमा प्रहरीमा खासै सूचना नआएको बताए । 

  • प्रकाशित मिति : असोज ८, २०७८ शुक्रबार १४:४४:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया