कांग्रेसमा गुटगत राजनीति : जिल्ला नगरका केही 'हेबिवेट' नेता वडामै पराजित

कांग्रेसभित्रको गुटगत प्रतिस्पर्धाका कारण ठूला भनिएका केही नेता वडामै पराजित भएका छन् ।

कांग्रेस मोरङको वडा अधिवेशनबाट जिल्ला सभापतिको उम्मेद्वारी दिने बताउँदै आएका मदन संग्रौलालाई गुटगत राजनीतिको शिकार बनाउँदै क्षेत्रीय प्रतिनिधि आउनै रोकिएको छ । उनी मोरङ कांग्रेसका पूर्वसचिव हुन् ।

रंगेली नगरपालिका-३ बाट क्षेत्रीय प्रतिनिधिका उम्मेदवार रहेका संग्रौलाले १ सय ५७ मत प्राप्त गरे । क्षेत्रीय प्रतिनिधिमै पराजित भएपछि संग्रौला जिल्ला सभापतिको उम्मेद्वार हुन नपाउने भएका छन् ।

नगरमा तथा जिल्लामा उम्मेद्वार बन्न क्षेत्रीय प्रतिनिधि चयन हुनुपर्ने विधानमा उल्लेख छ । त्यस्तै, मोरङको सुन्दरहरैचा नगर समितिको सभापतिका दाबेदार मानिएका चैतन्यप्रसाद सिटौला पनि वडामै पराजित भएका छन् । 

कांग्रेसको १४ औँ अधिवेशनमा वडा नम्बर ७ बाट सिटौला क्षेत्रीय प्रतिनिधिमै पराजित भएका हुन् । वडाभरीका क्रियाशील सदस्यले मतदान गरेर निर्वाचित हुने क्षेत्रीय प्रतिनिधिमा पराजित भएपछि उनी नगरसभापतिको दौडबाट बाहिरिएका छन् ।

सिटौला सुन्दर हरैचा नगरपालिका–७ नम्बर वडाको वडाध्यक्षसमेत हुन् । गुटगत राजनीतिका कारण कटहरी गाउँपालिकाका उपप्रमुख मञ्जिता सरदार पनि वडामै पराजित भएकी छन् । नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय सदस्य हरि भट्टराई पनि क्षेत्रिय प्रनिनिधिमै हारेका छन् ।



यस्तै, नेपाल ट्रेड युनियन प्रदेश १ का उपाध्यक्ष डिगप्रसाद घिमिरे, कांग्रेस पूर्वजिल्ला सदस्य आमोद झा, नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर १ (क) का सभापति प्रकाश थापा पनि क्षेत्रिय प्रतिनिधिमै आउन सकेनन् । १४ औँ महाधिवेशन अन्तर्गत मोरङका दुई वडाबाहेक अन्य वडाको निर्वाचन सकिएको छ ।

कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बुका अनुसार विराटनगर महानगरपालिका-६ र रतुवामाइ नगरपालिका-६ मा भने निर्वाचन कार्यक्रम विवादका कारण स्थगित भएको छ । 



  • प्रकाशित मिति : असोज ८, २०७८ शुक्रबार २०:१:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया