बच्चाको हरेक रुवाइमा चस्किन्छ आमाको छाती

बुवा र आमाको अन्तरजातीय विवाह । बुवा नेवार । आमा क्षेत्री । सानैबाट मिक्स किसिमको संस्कार र पारिवारिक वातावरण थियो । प्रदिप्ताका बाबुआमा आफ्नी छोरीको पनि त्यस्तै परिवारमा विवाह होस् भन्ने चाहन्थे ।

पढाइलाई प्राथमिकता दिने परिवार । छोरीलाई शिक्षामा जोड र महत्व नदिने समाज । त्यही समाजमा प्रदिप्ता कादम्बरीले स्नातकाेत्तर पढाइ सकेर जागिर सुरु गरेकी थिइन् । स्वभावैले उनको विवाहको कुरा चल्नु नौलो विषय थिएन । उनले पनि जीवनलाई लिएर खासै रंगीन सपना बुनेकी थिइनन् ।  

अग्लो कदकी कादम्बरीलाई विवाहको कुरा चल्दा लाग्थ्यो, ‘मेरो श्रीमान् कम्तीमा मजत्तिको अग्लो हुन् ।’ ‘राम्रो परिवार र बुझ्ने श्रीमान् हुन्,’ उनी कल्पनाको सागरमा डुबुल्की मार्थिन् । धेरै कुरा उनले कल्पना गरेको जस्तै भयो । एकदिन अग्लो कदका सञ्जय उनलाई माग्न आए । सञ्जयका बा-आमाले पनि अन्तरजातीय विवाह गरेका थिए । त्यसपछि मित्रपार्ककी कादम्बरी सञ्जयकी बेहुली बनेर जैसीदेवल पुगिन् ।

विवाह गर्दा सञ्जय भारतमा पढ्दै थिए । एक वर्षसम्म उनी भारतमा जाने आउने गरिहरन्थे । बुवा नेवार भएपनि कादम्बरीको हुर्काइ क्षेत्री समुदायमा भयो । धेरै संस्कार र चालचलन क्षेत्रीकै थियो । घरमा नेवार समुदायको संस्कार धेरै । घरका सबै नेवारी भाषा बोल्थे । कादम्बरी नेवारी भाषा पनि बुझ्दैनथिइन् । सुरु सुरुमा अनौठो मान्थिन् । उनी गएपछि सबैले बिस्तारै नेपालीमा कुरा गर्न थाले । कादम्बरीले पनि बानी पार्दै गइन् ।

सानो परिवार । ससुरालाई उनले देख्न पाइनन् । कादम्बरी बुहारी भएर सञ्जयको घरमा भित्रनु अघि नै सञ्जयका पिताको मृत्यु भइसकेको थियो । घरमा एउटी बहिनी, आमा, श्रीमान र कादम्बरी । सबैजना बुझ्ने थिए । सासु आफैंले लामो समय शिक्षण पेशा गरेकी । छोरा-छोरी र बुहारीमा कुनै प्रकारको भेदभाव थिएन । कादम्बरी स्पष्ट थिइन्, ‘विवाह एक संस्था हो र यो संस्थालाई हुर्काउँदै लैजाने दायित्व मेरो पनि हो ।’ 

सन्तान वियोगको पीडा



सञ्जय पढाइको सिलसिलामा भारत जाने आउने गरिरहेका थिए । प्रदिप्ता नेपालमै औषधि फ्याक्ट्रीमा काम गर्थिन् । आमा बनिहाल्ने बारे सोच बनाइसकेकी थिइनन् । उनको जीवनमा एक्कासि बच्चाको खुशी आयो । यो खुशीलाई उनले आत्मसाथ गरिन् । उनी पहिलो पटक गर्भवती हुँदा उनका श्रीमान भर्खर भारत गएका थिए । यो खुसी एकसाथ मनाउन पाएनन् । त्यतिबेला काठमाडौंको बाटो ग्राभेल थियो । कामको सिलसिलामा उनलाई निक्कै हिड्न पर्थ्याे । सायद यही यात्राले होला पहिलो बच्चाको खुसी लामो समय टिक्न सकेन । गर्भावस्थाको ४ महिना लाग्दै थियो । भर्खरै बच्चाको हर्टबिट सुरु भएको थियो । एकदिन अचानक ब्लिडिङ भयो । उनी अस्पताल पुगिन् । डाक्टरले भने ‘तपाईको बच्चा खेर गयो ।’ सञ्जय भारतमै थिए । खुसी मात्रै होइन दुख पनि सँगै पोख्न पाइनन् कादम्बरीले । 

पहिलाको डर दोस्रोमा 



पहिलो पटक बच्चा खेर जाँदा प्रदिप्ताले धेरै तनाव लिइनन् । आफ्नो गर्भ खेर जाँदा पीडा हुनु त स्वभाविकै हो । तर, उनी सोच्थिन्, ‘अर्को भइहाल्छ । पीर गरेर रोएर पनि गएको बच्चा फर्किएर आउँदैन ।’ तर पहिलो पटकको डर दोस्रो बच्चा हुने बेलामा देखिँदो रहेछ । दोस्रो पटक बच्चाको प्लान गरेको लामो समय गर्भ बसेन । यतिबेला खेर गएको गर्भको सम्झना आउँथ्यो उनलाई । उनले सुनेकी थिइन्, ‘पहिलो बच्चा खेर गयो भने, अर्को बच्चा बस्न गाह्रो हुन्छ ।’ सुन्दा वास्ता नगरेपनि प्लानिङ गरेको लामो समयसम्म बच्चा नबस्दा हो की भन्ने डरले सताउँथ्यो प्रदिप्तालाई । 

यही डरको बीचमा उनी पुनः गर्भवती भइन् । पहिलो बच्चा खेर गएकाले दोस्रो पटक भने प्रदिप्ताले सुरुबाटै अलि बढी ख्याल गरिन् । बच्चाको हर्टबिट नआउँदासम्म उनलाई डर लागिरहन्थ्यो । नगरी नहुने मात्रै यात्रा गरिन् । यसपटक उनका श्रीमान् पनि सँगै थिए । आफूभित्र आफ्नो अर्को पुस्ता हुर्किरहेको छ भन्ने कुरालाई उनलाई निक्कै खुसी बनाउँथ्यो ।  धेरै आमाहरूले गर्भावस्था सुरु भएदेखि नै खाना बढाउँछन् । फलस्वरूप उनीहरू चाहिनेभन्दा धेरै मोटाउँछन् । प्रदिप्तालाई गर्भवती हुनु अघि नै मनमा थियो, ‘मेरो हाइटमा मोटोपन भयो भने भद्दा देखिन्छ, गाह्रो हुन्छ । त्यसैले म नर्मल खाना खान्छु ।’ यो समयमा सासु र श्रीमान्बाट उनले राम्रो स्याहारसुसार पाइन् । उनको गर्भावस्था राम्रोसँग बित्यो ।

अप्ठ्यारो समयमा आमा सजिलो

जीवनमा जे आउँछ स्वीकार गर्नुपर्छ भन्ने सोच । भविष्यलाई लिएर पनि धेरै नघोत्लिने बानी । त्यसैले पनि होला उनले गर्भावस्थाका बेलामा शरीरमा, मनमा आएका परिवर्तनलाई सामान्य रूपमा लिइन् । सामान्य तरिकाले नै उनको गर्भावस्थाको समय अगाडि बढ्यो । मंसिर एक बिहान दुखाइ सुरु भयो । ‘कन्ट्रायक्स पेन’ अहो ! सम्झँदा अहिले पनि आङभरि काँडा उम्रन्छन् कादम्बरीका । अरू बेलाको भन्दा त्यो बेलाको दुखाइ नितान्त फरक । उनी थापाथली प्रसुति गृहमा भर्ना भइन् ।

अस्पतालमा उनी जस्तै थुप्रै महिला आमा बन्न तयारीमा थिए । एकको पीडा, छटपटी र प्रक्रिया सबैले देख्न मिल्ने । पहिलो पटक आमा बन्दै गरेका महिलाहरूको मन कत्ति आत्तिन्थ्याे होला ? प्रदिप्तालाई पनि निक्कै असजिलो महसुस भएको थियो । त्यतिबेला उनले सोचिन ‘हरेक अस्पतालका प्रसुति वार्डका प्रत्येक बेडमा कम्तिमा पर्दा लाग्नु पर्थ्याे ।’ यो उनले महसुस गरेको कुरा मात्रै हो । कतै प्रस्तुत भने गर्न सकिनन् । 

बारम्बार ट्वाइलेट जान मन लाग्थ्यो । गयो ट्वाइलेटमै बच्चा खस्छ कि भन्ने डर हुने । प्रसुति गृहको ट्वाइलेटमा फोहोर र गन्ध बढी नै चल्ने । भन्छिन्, ‘सबैभन्दा गाह्रो दुखाइ कन्ट्रायाक्सन पेनकाे हुँदो रहेछ ।’ यस्तो बेलामा सबैभन्दा धेरै आमाको सम्झना आउँदो रहेछ । ‘सासु आमाले कहिल्यै बुहारी भनेर व्यवहार गर्नु भएन । तर पनि सबैभन्दा अप्ठ्यारो समयमा सबैभन्दा नजिकको मान्छे मनले खोज्ने रहेछ । आमाजस्तो नजिक श्रीमान् पनि लाग्दो रहनेछ । आमा हुँदा छोरीहरूले आमा नै खोज्दा रहेछन्,’ उनले त्यो पिडा सम्झिइन् । यी सबै अप्ठ्यारा पार गरेर उनले पहिलो पटक छोरालाई जन्म दिइन् । उनी आमा भइन् । नर्मल डेलिभरी भयो । प्रसवको दुखाइ सकियो । त्यो भन्दा निक्कै कष्टकर भयो डेलिभरी पछिको स्टिच, टाँका । बच्चा जन्मदा खुलेको घरमा लगाएको टाँकाले झण्डै १०/१२ दिन नै सतायो । 

बच्चा रुदाँको दुखाइ

हामीले आमाका बारेमा पढेका हुन्छौँ । सुनेका हुन्छौँ । आमालाई देखिरहेका पनि हुन्छौँ । अरूको बच्चा रुन्छ, माया गर्छाैँ । लड्छ उठाउँछौँ । तर, आफ्नो बच्चा जन्मिएपछि मात्रै थाहा हुँदो रहेछ साँँच्चै आमा के हो ! प्रदिप्ता भन्छिन्, ‘पहिला बच्चा रुँदा माया लाग्थ्यो । आफ्नो बच्चा भएपछि अरूको बच्चा रुँदा पनि छाती चस्किँदो रहेछ ।’ यो खालको हर्मोनल कनेक्सन विकास चाँहि एउटी महिलामा आमा भएपछि मात्रै उत्पादन हुने रहेछ भन्ने लाग्छ उनलाई । बच्चा रुँदा आमालाई थाहा हुने, बिरामी पर्दा आमाको छाती चस्किने किन हुन्छ होला भन्ने लाग्थ्यो । यो सबै कुरा महिलालाई प्रकृतिले विशेष रूपमा दिएको हो जस्तो लाग्छ हिजोआज । 

दूध खुवाउन गाह्रो

पहिलो बच्चा । पहिलो कुरा त स्तन चुसाउने तरिका नै थाहा भएन । छोराले दूध चुस्न जान्दैनथ्यो । यतिबेला चाँहि एउटी आमालाई निक्कै छटपटी हुँदो रहेछ । कादम्बरीलाई लाग्थ्यो, ‘म के गरौँ ? मेरो बच्चाले दूधै खान जान्दैनकी । उसले दूध खान पाएन ।’ उनी यही पीडाबाट झण्डै दुई दिन गुज्रिन । त्यतिबेला लागेको थियो, ‘बच्चा हुनु केही समय अघिबाटै पहिलो बच्चा जन्माउने तयारीमा रहेकी महिलालाई दूध चुसाउने तरिका सिकाउनु पर्छ ।’ यो पनि त उनलाई लागेको कुरा हो । प्रस्ताव लिएर जाने ठाउँ थिएन । 

तेस्रो दिनको दिन उनको छोराले राम्रोसँग दूध खायो । बच्चाले दूध खान सक्नु पनि आमाको आत्मविश्वास बढ्नु रहेछ । त्यसपछि बल्ल कादम्बरीलाई लाग्यो, ‘अब म मेरो बच्चाको टेक केयर गर्न सक्छु ।’ बच्चाले दुध खाँदा छुट्टै प्रकारको आनन्द मिल्थ्यो । छोराले मुखमा हेरेर हाँस्दै दुध खाँदाको त्यो क्षण सम्झँदा अहिले पनि उनी अर्कै लोकमा पुगेको महसुस गर्छिन् । भन्छिन्, ‘यस्ता खुसीका क्षणहरू जीवनमा  थोरै आउँछन् । आएको समयमा सँगाल्न सक्नु पर्ने रहेछ ।’

आमा भएपछि कमजोर मन

आमा भएपछि केही समय उनले आफूलाई कमजोर महसुस गरिन् । साना साना कुराले मन दुखाउँथ्यो । सानै कुराले रुवाउँथ्यो । उनलाई अहिले पनि याद छ- त्यो सुत्केरी कोठा । घरको तल्लो फ्ल्याटमा सुत्केरी कोठा थियो । उनको बोली पनि सानो भएको थियो । मानिस बाहिर हिँडिरहेका हुन्थे । उनी बोलाउँथिन् । सुन्दैनथे । उनलाई लाग्थ्यो, ‘मलाई सबैजनाले इग्नोर गरे । मलाई किन नहेरेको होला ।’ उनी यही कुरा मनमा खेलाएर रुन्थिन् । उनी आफैलाई प्रश्न गर्थिन्, ‘म किन यसरी रुन्चे भैराछु ।’ केही समयपछि उनकी जेठानीले भनिन्, ‘यो समय सानो सानो कुरामा चित्त दुख्छ । कसैले केही भन्यो भने तिमीलाई नरमाइलो लाग्न सक्छ । यो सबै हर्मोन चेन्ज हुने समय हो । आफ्नो ख्याल राख्नु ।’ यो समय पनि बितेर गयो । 

आमा हुनु भनेको बेटर ह्युमन हुनु रहेछ 

आमा र बच्चाको कनेक्सन अनौठो लाग्छ उनलाई । साँचो माया कस्तो हुन्छ कादम्बरीले बच्चा जन्मिएपछि मात्रै बुझेकी हुन् । आमा भएपछि धेरै कुरा परिवर्तन हुँदो रहेछ।  प्रदिप्तालाई लाग्यो, ‘आमा हुनु भनेको अझै ‘बेटर ह्युमन’ हुनु पनि रहेछ ।’ आफ्नो बच्चा नहुँदा कसैले बच्चा लिएर हिडेको दृष्य रमाइलो लाग्थ्यो । उनलाई याद नै हुँदैनथ्यो आमाले आफ्नो बच्चा कुन साइडमा लिएर हिँडेको छ । आफ्नो बच्चा भएपछि भने उनलाई डर लाग्थ्यो- बच्चा गाडीको साइडमा छ कि कता छ भनेर । गाडीको साइडमा छ भने अर्को साइडमा लगिहाल्थिन् । आमा भएपछि एउटी महिलाको इन्टेन्सन नै फरक हुँदो रहेछ ।

बच्चालाई समय

त्यतिबेला उनीहरूको ढाकाको कारखाना थियो । काममा जाँदा पनि छोरो लिएर जान्थिन् । घरमा असाध्यै राम्रो वातावरण । आजभन्दा २०/२५ वर्ष अघिको कुरा हो । त्यतिबेला धेरै लोग्ने मानिसले घरको काम गर्दैनथें । आमाहरूले छोरालाई काम लगाउँदैनथे । तर, उनका श्रीमान सबै काम गर्थे । सासू पनि सबै काम सबैले गर्नुपर्छ भन्थिन् । यसैले पनि छोरो हुर्काउन निकै सहज भयो । आठ महिनापछि बच्चालाई आमाको दूधले पुगेन । राति बोतलको दुध खुवाउनु पर्थ्याे । बोतलको दुध खुवाउन उनका श्रीमान उठ्थे । पछिसम्म पनि उनका छोराले दूध खान मन लागेपछि बाबुलाई खोज्थे । 

न्वारन अघि बच्चाको कान छेड्ने परम्परा छ । उनलाई खासमा यो परम्परा मन परेको थिएन । अरू कुनै कारणले होइन्, बच्चालाई दुख्छ भनेर । उनले धेरै पटक नछेड्न पनि भनेकी थिइन् । तर, तेल लगाउने दिदीले कान छेडिदिइन् । त्यतिबेला छोरो रोएको देख्दा कान छेड्ने दिदीप्रति निकै रिस उठेको थियो । जेठो छोरो कान छेड्दा रोएको देखेकी उनले कान्छो छोराको कान नै छेडिनन् । 

छोरो १८ महिनाको भएपछि उनले स्कुल हालिदिइन् । पहिलो दिन दिनभरि स्कुलमै बसेर हेरिन् । त्यसपछि हरेक दिन उनको छोराे स्कुलकै नियममा बसे । उनका हरेक चकचक, उपद्रो, बालसुलभ व्यवहार स्कुलले मात्रै देख्न पायो । उनले देख्न पाइनन् । अहिले फर्किएर हेर्दा कहिलेकाहीँ उनलाई लाग्छ, ‘केही त छुटाएछु जीवनमा ।’ यसलाई पनि एउटी कामकाजी आमाको बाध्यता भनेर स्वीकार गरेकी छन् । अरूलाई सुझाव दिन्छिन्, ‘आफ्नो बच्चाको हरेक क्षण/हाउभाउ हेर्दै हुर्काउनुहोस् । जुन कुरा जीवनमा फर्किएर आउँदैन ।’

५ वर्षपछि दोस्रो पटक आमा

जेठो छोरो ५ वर्षको भएका थिए । एक कक्षामा पढ्दै थिए । उनी दोस्रो पटक गर्भवती भइन् । गर्भावस्थाका सबै सिम्टम्सहरू उस्तै प्रकारका थिए । एकखालको आत्मविश्वास पनि थियो । लाग्थ्यो, ‘मलाई सबै कुरा थाहा छ ।’ दोस्रो पटक नर्मल डेलिभरी भएन । शिवरात्रिको समय थियो । बिहानैबाट दुखाइ सुरु भयो । उनी यसपटक पाटन अस्पताल पुगिन् । दिनभरि दुखाइ हरायो । उनले सोचेकी थिइन्, ‘मलाई सन्चो भयो, अब डाक्टरले घर पठाउँछन् ।’ तर भैदियो उल्टो । अल्ट्रा साउण्ड गरेर तुरुन्तै अप्रेसन गर्न डाक्टरले सुझाए । रातको १२ बज्न लागेको थियो । कुर्न आएका सबै घर फर्किसकेका थिए । उनका श्रीमान् अप्रेसन भनेपछि असाध्यै डराउँथे । त्यो बेलाको छटपटी र पीडा श्रीमान्ले पछि मात्रै उनीसँग सेयर गरेका थिए । 

अप्रेसन गर्ने भनेपछि उनलाई पनि डर लागेको थियो । आफूलाई केही होलाभन्दा पनि बच्चालाई केही हुने हो भन्ने पिर हुँदो रहेछ । बच्चा साटिदिन्छन् भन्ने पीर पनि लागेको थियो । पीरकै बीचमा उनको अप्रेसन भयो । दोस्रो पटक आमा भइन् । पुनः उनको छोरो जन्मियो । सानो छोरा पनि सामान्य रूपमा हुर्किए । 

दोस्रो भएपछि पहिलोको पीर

दोस्रो बच्चा भएपछि आमाहरूलाई पहिलो बच्चाको पीर लाग्दो रहेछ । जेठो छोरा ६ वर्षका थिए । सबै कुरा बुझ्ने समय भैसकेको थिएन । उसले आफ्नो काख खोसिएको, माया बाँडिएको महसुस गर्छ कि भनेर निक्कै सताउँथ्यो कादम्बरीलाई । 

‘हस्पिटलबाट फर्किएको पहिलो दिन म सानो छोरालाई लिएर सुतिरहेको थिए । उसले नजिकै आएर हेरिरह्यो । म तिमीसँग आउँछु भन्न सकेन । त्यो कुरा आमाको आँखाले पढ्न सक्दो रहेछ । मैले उसलाई मसँग सुत्छौँ भने । उ आएर छातीमा टाँसिएर सुत्यो । त्यसपछि हामीले दुबैलाई एकैपटक समय दियौँ । सानोलाई एउटाले, ठूलोलाई अर्कोले गरेर समय मिलाउँथ्यौँ’, उनले सम्झिइन्, ‘सानो बच्चामा सबैको ध्यान जानु स्वभाविक हो । तर अर्को बच्चालाई असर गर्ने खालको व्यवहार गर्नु हुँदैन । हामीले गरेको सानो व्यवहारले पनि ठूलो असर गर्छ बच्चाको मानसपटलमा ।’

उनका छोरा अहिले हुर्किसके । ठूलो छोराले प्लस टु सके । सानो स्कुल पढ्दैछन् । दुबै छोरा ज्ञानी छन् । ‘सानो छोरो असाध्यै सोझो,’ उनलाई यस्तो लाग्छ । उनलाई पीर लाग्छ । दाजुलाई सम्झाइ रहन्छिन्, ‘भाइ तिम्रो जिम्मामा छ है ।’ छोरालाई लिएर उनका धेरै ठूला सपना छैनन् । भन्छिन्, ‘एउटा राम्रो मान्छे भएर बाँच्न सकून् । त्यति नै हो ।’

यी पनि पढ्नुहाेस् :

आधा निद्रामा नै आमाहरूको रात कट्दो रहेछ

आमा भएपछि गाली पनि मीठो हुँदो रहेछ

छोरासँगै दौडिरहेका छन् मानुषिका खुसी

आमा बन्दैछु भन्ने थाहा पाएपछि निकै दिन झस्किएँ

  • प्रकाशित मिति : असोज ९, २०७८ शनिबार १२:३९:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया