कर्णाली प्रदेश सरकारले ‘छोरी बुहारी छात्रवृत्ति’ कार्यक्रम अन्तर्गत छात्रवृत्ति पाएका व्यक्तिहरुका सम्बन्धमा विवरण राखेको छैन । छात्रवृत्ति पाएकामध्ये को कहाँ के गर्दैछ भन्ने बारे प्रदेश सरकार बेखबर रहेको छ ।
‘अब को विद्यार्थी, कहाँ के गरिरहेका छन् भनेर खोजिने छ । हरेक जिल्लामा जान सम्भव छैन । छात्रवृत्ति पाएकामध्ये स्याम्पलिङ गर्दै आवश्यक खबर गर्छौं, खोजी गर्छौं,’ कर्णाली प्रदेश शिक्षा निर्देशनालय सुर्खेतकी निमित्त कार्यालय प्रमुख दीपा हमालले भनिन्, ‘यो छात्रवृत्तिभन्दा पनि प्रोत्साहन रकमका रुपमा वितरण भइरहेको छ ।’
कर्णाली प्रदेश सरकारले छोरी बुहारीलाई शिक्षामा पहुँच पु¥याउने उद्देश्यका साथ आर्थिक वर्ष ०७५/७६ बाट ‘छोरी बुहारी छात्रवृत्ति’ कार्यक्रम सुरु गरेको थियो ।
‘छोरी बुहारी छात्रवृत्ति’ पाएकालाई कर्णाली प्रदेश सरकारले अनिवार्य तीन वर्ष प्रदेश सरकारको सेवा गर्नुपर्ने कार्यविधि बनाएर छात्रवृत्ति दिएको थियो । अहिले ती छात्रवृत्ति पाएका विद्यार्थीको अवस्थाबारे कर्णाली प्रदेश सरकारले कुनै चासो देखाएको छैन ।
सरकारले कार्यक्रमअन्तर्गत आव ०७५/७६ मा १५२, आव ०७६/७७ मा १६६ र आव ०७७/७८ मा १३० जनालाई छात्रवृत्ति दिएको थियो ।
आव ०७५÷७६ मा यो कार्यक्रमअन्तर्गत प्रतिव्यक्ति एक लाख २६ हजार, आव ०७६/७७ मा प्रतिव्यक्ति एक लाख २६ हजार र आव ०७७/७८ मा प्रतिव्यक्ति एक एक लाखका दरले छात्रवृत्ति दिइएको थियो ।
कर्णाली सरकारले ‘छोरी बुहारी छात्रवृत्ति’ कार्यक्रम अन्तर्गत प्राविधिक शिक्षाका लागि चार करोड रुपैयाँभन्दा बढी खर्च गरिसकेको छ । यो छात्रवृत्ति पाएका पहिलो व्याच विद्यार्थी (०७५/७६)ले प्राविधिक कक्षा उत्तीर्ण गरिसकेका छन् । उनीहरू कहाँ छन्, के गर्दैछन् ? रोजगारीको अवस्था के छ ? भन्नेबारेमा सरकारले कुनै चासो लिएको छैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।