पार्टी सभापति देउवाले आफ्नै गृहजिल्ला डडेल्धुरामा समाधान गर्न नसकेको विवाद

नेपाली कांग्रेसको १४ औं महाधिवेशन सम्पन्न गर्न नेता कार्यकर्ताहरू दौडधुपमा छन् । एक पक्षीय नेता कार्यकर्ताहरू क्रियाशील सदस्यमा असन्तुष्ट हुँदै विरोधमा छन् । विशेष गरी कांग्रेसभित्रको रामचन्द्र पौडेल पक्षका नेता कार्यकर्ताहरू असन्तुष्ट देखिएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले केही जिल्लामा एकलौटी रूपमा अधिवेशन गरिरहेको भन्दै केन्द्रमा पनि विवाद छ । पौडेल पक्षका नेताहरू केन्द्रमा पनि विरोध गरिरहेका छन् ।

पार्टी सभापतिका हैसियतले देउवाले देखिएका विवाद साम्मे गर्न सक्नुपर्ने हो । तर, यस्तो हुन सकेको छैन । पार्टी सभापति देउवाकै गृहजिल्ला डडेल्धुरामा सबैभन्दा बढी विवादित हुनु पुगेको छ । वडा तहको अधिवेशन सम्पन्न भइसक्दा पनि विवाद साम्मे हुन नसकेको हो । 

एक पक्षीय नेता कार्यकर्ताका असन्तुष्टिका बावजुद पनि डडेल्धुरामा सम्पन्न भएको वडा तहको निर्वाचन पुनः गर्नुपर्ने माग उठाउन थालेका छन् । असन्तुष्ट पक्ष डडेल्धुरा कांग्रेस पार्टी कार्यालयमा अनसनमा बसेका छन् । पार्टी सभापति देउवाले यसको बारेमा अहिलेसम्म मुख खोलेका छैनन् । डडेल्धुराका ५२ वडाहरूमा प्रतिस्पार्धात्मक तरिकाले सम्पन्न गर्न नसकेको असन्तुष्ट पक्षको आरोप छ । कतिपय वडामा नपुगेर होटलमै बसी नाम टिपेर समेत वडा अधिवेशन सम्पन्न गरेको नेता कार्यकर्ताहरूको गुनासो छ। 
 
पार्टीको आधिकारिक संरचनालाई बेवास्ता गर्दै जिल्ला कार्यसमिति र मातहतका इकाइ कार्यसमितिहरूले सदस्यता विवादको टुंगो नलागेसम्मका लागि वडा अधिवेशन स्थगित गर्दा पनि व्यापक सुरक्षाकर्मी परिचालन गरेर एकपक्षीय रूपमा अधिवेशनको गर्दा डडेल्धुरा कांग्रेसलाई मर्माहित तुल्याएको सभापति करूणकर भट्टले बताए ।

सभापति भट्टले भने, ‘डडेल्धुरा जिल्ला कार्यसमितिविरूद्ध गुटबन्दीमा सक्रिय केही जिल्लास्तरीय नेताहरूले आफू निकट कार्यकर्ताहरूलाई भेला गरेर होटलमा वडा अधिवेशन गरेका छन् । यति हुँदाहुँदै पनि हामीले संयमित भएर पार्टी सभापतिको उचाइको कदर गर्दै शान्तिपूर्ण रूपमा छौं ।’

पार्टी सभापति तथा प्रधानमन्त्री देउवाले सत्ता र शक्तिको दुरूपयोग गरेर वडा अधिवेशन गरेको जिल्लास्तरीय नेताहरू बताउँछन् । केन्द्रीय सभापति देउवाले हालसम्म जिल्लामा नेतृत्व स्थापित हुन नदिएको इतिहास रहेको र यसपटक पनि जिल्लास्तरमा बलियो नेताका रूपमा स्थापित सभापति कर्ण मल्ललाई सिध्याएर आफूलाई चुनावमा लगानी गर्नेहरूलाई अगाडि बढाउन खोज्दा विवाद भएको उनको भनाइ छ ।

जिल्ला कार्यसमितिले नवीकरण र नयाँ क्रियाशील सदस्यताका लागि पाँच हजार ८०४ जनाको नामावली पठाएकोमा सभापति देउवाको निर्देशनमा छानबिन समितिले ४४४ जनाको नाम हटाइदिएको र कुनै पनि प्रक्रियामा नआएका ३१२ जना थपिएको हुँदा विवादको अवस्था बनेको नेपाली कांग्रेस डडेल्धुराका पूर्व सचिव लोकराज भट्टको दाबी छ । 



सभापति देउवाकै निर्देशन र संरक्षणमा हाल डडेल्धुरा कांग्रेसमा दुई गुट सक्रिय छन् । जिल्ला सभापति कर्णबहादुर मल्ल र केन्द्रीय सभापति देउवाको संरक्षणमा रहेको गुट हाल अस्तित्वमा रहेको कांग्रेस कार्यकर्ताहरू बताउँछन् । सभापति देउवाको संरक्षणमा रहेको गुटमा पूर्व जिल्ला सभापति रघुवर भट्ट, प्रदेश सभाका समानुपातिक सांसद गोविन्दराज बोहरा, पर्शुराम नगरपालिकाका मेयरसमेत रहेका ठेकेदार भीमबहादुर साउँदलगायतका जिल्ला स्तरीय नेताहरू छन् । 

पार्टीमा लामो समयदेखि योगदान पुर्याएका कार्यकर्ताहरूको अवमूल्यन भएको र चाप्लुसी गर्ने र चुनावमा पैसा बाँड्ने व्यक्तिहरू हावी हुन थालेको जिकिर परशुराम नगरपालिका कांग्रेस नेता राजबहादुर भण्डारीको छ । यसले संगठनलाई बनाउने भन्दा पनि राजनीतिक व्यापारले स्थान पाउने र विचारको राजनीति सकिने उनले बताए। 



सभापति देउवाले वडा अधिवेशनका नाममा गरेको मनोमानीको प्रभाव आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनमा पर्ने अनुमान गर्न थालिएको छ । यसअघि पार्टीभित्रकै विवादका कारण आफ्नो पकड भएको क्षेत्रमा पनि कांग्रेसले चुनाव हारेको थियो । गृहजिल्लामा एकल पकड बनाउँदै आएका सभापति देउवाले आफूभन्दा फरक मत राख्ने र जिल्लामा स्थापित हुन खोज्ने नेताहरूलाई पाखा लगाएको क्रूर इतिहास भएको नेपाली कांग्रेस डडेल्धुराका पाका कार्यकर्ताहरू बताउँछन् ।

२०१४ सालमा नेपाली कांग्रेस डडेल्धुराका संस्थापक सभापति एनडीप्रकाश चटौतको हवाई दुर्घटनामा निधन भएपछि हालसम्म नेपाली कांग्रेस डडेल्धुराको नेतृत्व गरिरहेका सबै जिल्ला सभापतिहरू हाल देउवासँग छैनन् स्वतन्त्रता सेनानी सत्यराज पनेरू, देउवासँगै कांग्रेसको राजनीतिमा होमिएका पाका नेता पिएच भट्ट, डिएल भण्डारी, लामो समय नेपाली कांग्रेस डडेल्धुराको सभापति रहेका नेताहरू हिरादत्त भट्ट, रामचन्द्र चटौत, शेरबहादुर ढाँट सभापति देउवाको कोपभाजनमा पर्ने नेताहरू हुन् ।

२०४७ सालदेखि निरन्तर १६ वर्ष नेपाली कांग्रेस डडेल्धुराको नेतृत्व गरेका पूर्वसभापति हिरादत्त भट्टले देउवाको साथ छाडेर हाल पौडेल पक्षको राजनीतिमा सक्रियता देखाएका छन् भने चटौत र ढाँटले कांग्रेस पार्टी नै परित्याग गरेका छन् । 

‘अधिकांश जिल्लास्तरीय नेताहरू लोकप्रियता हासिल गरेकै कारण सभापति देउवाको निशानामा परेका छन्,’ पाका कांग्रेस नेता दीर्घराज जोशीले भने, ‘जिल्ला राजनीतिमा सम्भावना बोकेका र लोकप्रियता हासिल गर्न खोज्ने कांग्रेस नेताहरूलाई देउवाले पाखा लगाउने गरेका छन् ।’

डडेल्धुराका ५२ वडामध्ये ५० वडामा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ । निर्वाचन समितिले निर्धारण गरेको मितिअनुसार भदौ २५ गते भएको वडा अधिवेशनमार्फत ५० वडामा नयाँ नेतृत्व चयन गरिएको हो । अजयमेरू गाउँपालिका वडा नम्बर ३ र नवदुर्गा गाउँपालिका वडा नम्बर ५ मा भने अधिवेशन हुन सकेको छैन । जिल्ला सभापति कर्ण मल्लको समूहले भने क्रियाशील सदस्यता विवादकै बीच गरिएको वडा अधिवेशन मान्य नहुने बताउँदै आएको छ ।

देउवाले जिल्ला सभापतिका लागि अगाडि सारेका कांग्रेस नेता तथा पर्शुराम नगरपालिकाका मेयर भीमबहादुर साउँदले केन्द्रीय सभापति देउवालाई विवादमा ल्याउन अनावश्यक विषयलाई चर्चामा ल्याइएको आरोप लगाए । उनले भने, ‘४१ वटा वडामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको छ । ९ वडामा भव्यताका साथ चुनाव भएको छ । जिल्लामा उपस्थित लगभग सबै क्रियाशील सदस्यको सहभागिता भएको छ । तर केन्द्रीय सभापतिको जिल्लामा नियोजित रूपमा विवाद बढाउन खोजिएको छ ।’

साउँदका अनुसार अधिवेशन अगाडि मल्ल समूह पनि जिल्ला दौडाहामा थियो । ‘सुरूमा क्रियाशील सदस्यताको विषयमा विवाद नै थिएन, अधिवेशन नजिकिएपछि हामी र उहाँहरू (मल्ल समूह) जिल्लाका सबै स्थानीय तहमा पुग्यौँ,’ साउँदले भने, ‘उहाँहरूले अवस्था राम्रो देख्नु भएन । वडामै पराजित हुने अवस्था देखेपछि डडेल्धुरामा २०/२५ जनाले नियोजित विवाद गरेका हुन् ।’

साउँदले २०/२५ जना जिल्ला तहका नेताबाहेक सबै क्रियाशील सदस्यले अधिवेशनमा सहभागिता जनाएको दाबी गरे । अनावश्यक रूपमा सभापति देउवालाई विवादमा पार्ने नियोजित प्रयास भइरहेको बताउँदै साउँदले छानविन समितिले टुंग्याएको विषयमा सभापतिलाई जोड्नु गलत भएको दावी गरे । उनले भने, ‘जिल्लाबाट सिफारिस भएका सदस्यको नाम काटिएको भन्दै प्रचार गरिए पनि त्यसमा सत्यता छैन । वडाको सहमतिबिना, जिल्ला कार्य समितिको सहमतिबिना एक पक्षीय रूपमा नाम सिफारिस गरिएपछि छानबिन समितिले टुंग्याएकाे हो । त्यसमा संग्लन हुँदै नहुनुभएका केन्द्रीय सभापतिको दोष छ भन्नु तर्कसंगत हुँदैन ।’

कांग्रेस केन्द्रीय सदस्य रमेश लेखक संयोजक रहेको सात सदस्यीय समितिले क्रियाशील सदस्यतामाथि परेका उजुरीको छानबिन गरेको थियो । 

छानबिन समितिका अनुसार डडेल्धुरामा दुई हजार ८६८ को पुरानो क्रियाशील सदस्यमध्ये प्रक्रिया अनुसार दुई हजार ५०० जति मात्रै वितरण गरेको पाइएको जनाएको छ । जिल्ला सभापतिले बाँकी ३०८ क्रियाशील सदस्यता आफ्नो इच्छाअनुसार वितरण गरेको भनेर उजुरी परेपछि उनीहरूको नाम हटाइएको समितिले जनाएको छ ।
 

  • प्रकाशित मिति : असोज ९, २०७८ शनिबार १५:१०:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया