‘चरा, पहाड, फूल, सूर्य, पवन अर्थात् महिला’

संसारभर चलेका नारीवादी आन्दोलन र महिला हक स्थापनामा चालिएका कदमहरूमा पछिल्लो समय कहीँ न कहीँ कमला भासिनको विचार मिसिएकै हुन्छ । विशेष गरी दक्षिण एसियाली महिला आन्दोलनको प्रेरणापुञ्जका रूपमा उनको नाम लिने गरिन्छ । कमलाले नारीवादका निम्तिमात्र होइन, लिंगीय विभेद, समाज विज्ञान, शिक्षा, मानव विकास र सञ्चारमाध्यमका बारेमा खोज-अनुसन्धान गर्ने र विचार बाँड्ने काममा आफ्नो जीवनको आधा शताब्दी व्यतित गरिन् ।

उनले अधिकारकर्मीका साथै कविता, गीतका माध्यमबाट समाजलाई जागृत गरिरहिन् । १९४६ अप्रिल २४ तारिखका दिन भारतमा जन्मिएकी उनको शनिबार (२०२१ सेप्टेम्बर २५) मा निधन भयो । उनको निधनले नेपाललगायत संसारका थुप्रै देशका अधिकारकर्मीहरु अभिभावक गुमाएको महसुस गरिरहेका छन् । यहाँ उनको एक कविताको नेपाली अनुवाद प्रस्तुत छ :

निष्फिक्री केटीहरू

पवनजस्तै बनिरहेका छन् केटीहरू
उनीहरूलाई बेरोकटोक हिँड्न मज्जा लाग्छ
उनीहरू विनाकारण रोकावट स्वीकार्दैन्

फूलहरूबाट बनिरहेका छन् केटीहरू
उनीहरूलाई सुवास छर्न मज्जा लाग्छ
उनीहरू घृणाले कुल्चिएको स्वीकार्दैनन्

चराहरूजस्तै बनिरहेका छन् केटीहरू
उनीहरूलाई विना डर उड्न मज्जा लाग्छ
उनीहरू आफ्नो पँखेटा काटिएको स्वीकार्दैनन्



पहाडजस्तै बनिरहेका छन् केटीहरू
उनीहरूलाई शिर उठाएर बाँच्न मज्जा लाग्छ
उनीहरू शिर झुकाएर बाँच्न स्वीकार्दैनन्

सूर्यजस्तै बनिरहेका छन् केटीहरू
उनीहरूलाई चम्कन मज्जा लाग्छ
उनीहरू पर्दाले छोपिन स्वीकार्दैनन् ।
 



  • प्रकाशित मिति : असोज १०, २०७८ आइतबार १३:१:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया