जयसिंह धामी प्रकरणपछि रोकिएन एसएसबीको ज्यादती
लुकेर तुइन वारपार गर्नुपर्ने बाध्यता

गत साउन १५ गते तुइन तर्ने बेलामा दार्चुलाको व्यास गाउँपालिका–२ राप्लाका ३३ वर्षीय जयसिंह धामी महाकालीमा बेपत्ता भए । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुईन खुस्काईदिँदा उनी बेपत्ता भएका थिए । यो घटनाले देशभर चर्चा पायो । घटनाबारे छानविन गर्न सरकारले बनाएको समितिले स्थलगत अध्ययन गरी भारतीय सुरक्षाकर्मीले तुईन खुस्काईदिँदा जयसिंह बेपत्ता भएको प्रतिवेदन सार्वजनिक गरेको थियो ।

त्यसपछि सरकारले भारतसँग कुनै पनि पहल लिन सकेको छैन । धामी बेपत्ता भएको दुई महिना पुग्न लाग्दासमेत अहिलेसम्म केहि पत्ता लाग्न सकेको छैन । धामीका परिवारले कुशको शव बनाएर दाहसंस्कार गरी सकेका छन् ।

एसएसबीले गालीगलौज तथा धम्काउने भए पनि पुनः राप्लाबासीहरु लुकिछिपी नदी पार गर्ने गरेका छन् । ‘साउन १५ पछिको घटनाले गर्दा राप्लाबासी त्रसित छन्’, व्यास गाउँपालिका–२ का वडाअध्यक्ष धिरेन्द्र बुढाथोकीले भने, ‘सुरक्षाकर्मी नभएको समयमा लुकिछिपी वारपार गर्ने गरेका छन् ।’ 

नदी तर्ने अर्को माध्यम नभएका कारण स्थानीयहरु बाध्य भएर तुइन तर्नुपर्ने अवस्था छ । अझै पनि एसएसबीले नेपालीलाई धम्क्याउने गरेको उनले बताए ।
‘नेपालबाट सदरमुकाम आउन जान एकदम गाह्रो छ’, उनले भने, ‘त्यसले गर्दा लुकीछिपी वारपार गर्ने गरेका छन् ।’ 

सरकारले तुइनमुक्त कार्यक्रम अन्तर्गत तुइन भएको ठाउँमा पुल बनाउन योजना सञ्चालन गरेको भए पनि महाकालीमा झोलुङगे पुल निर्माण अलपत्र छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले मालाघाटमा पुल निर्माण अगाडि बढ्ने जनाएको छ । 

प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले पुसभित्र काम सक्ने गरी निर्माण कार्य थालनी हुने बताए । व्यासका नागरिकहरू खाद्यान्न, औषधि लिएर यही तुइनमार्फत् आवत–जावत गर्छन् ।



बेला–बेला एसएसबीले तुइन काटिदिने गरेको भए पनि स्थानीयले पुनः जोड्ने गरेका छन् । व्यास गाउँपालिका–२ का स्थानीयहरू सदरमुकाम खलंगा पुग्न भारतीय बाटो प्रयोग गर्छन् । 

‘हामी निकै पीडित छौँ । आफ्नै जिल्ला सदरमुकाम भारतीय बाटो भएर जानुपर्छ’, राप्लाका जनकसिंह धामीले भने, ‘वर्षा र हिउँदमा हामीले तुइन चढेर पारी रहेको भारतको उत्तराखण्डको धार्चुला जानुपर्छ । त्यसपछि पुनः गाडी चढेर सदरमुकाम खलंगा जानुपर्ने हुन्छ ।’



व्यास गाउँपालिका–१ र २ दुर्गम वडाहरू हुन् । तुइन रोकिँदा मालगाउँ लगायत व्यास गाउँपालिकामै खाद्यान्न संकट परेको स्थानीय हर्कसिंह कार्कीले जानकारी दिए । उनले हेलिकोप्टरबाट ढुँवानी भए पनि केहि राहत भएको बताए ।

व्यास गाउँपालिका–२ राप्लामा ३ सय बढी परिवारको बसोबास छ । मालागाउँमा मात्रै ७० बढी परिवार बसोबास गर्छन् । व्यासको राप्ला, दुम्लिङलगायतका क्षेत्र भौगोलिक हिसाबले एकदमै विकट छन् ।  सदरमुकामबाट मालागाउँ ५५ किलोमिटर टाढा छ । वर्षाका कारण खलंगाबाट सुन्सेरा जोड्ने सडक अवरुद्ध भई ढुवानी अझै ठप्प छ ।

प्रमुख जिल्ला अधिकारी जोशीका अनुसार वर्षामा दुई ट्रिप हेलिकोप्टरबाट चामल ढुँवानी भएको छ । ‘मालागाउँमा दुई ट्रिप हेलिकप्टरबाट चामल ढुँवानी भएको छ’, उनले भने, ‘फेरि पनि हप्ता दिनभित्र ढुवानीको तयारी  छ ।’

व्यास धौलाकोटको आधा बस्ती, तिग्रम, चन्दाकोट हुतीलगायतका स्थानीय तिग्रम पुल प्रयोग गर्छन् । माथिल्लो व्यासका धेरैजसो बासिन्दा तुइन तरेर सदरमुकाम आउजाउ गर्छन्  । 

साउन १५ गतेको घटना हुनुअघिसम्म एसएसबीले माथिल्लो स्तरका सुरक्षाकर्मी सीमामा निरीक्षणका लागि आएका बेला मात्रै सीमामा गस्ती बढाउँथे । अन्य समयमा एक÷दुई पटक गस्तीमा देखिने र उनीहरू नभएको मौका छोपी तुइन जोडेर नेपालतर्फबाट सीमा वारपार गर्छन् व्यवसायी । व्यासका १, २, ३ र ४ वडाका स्थानीयलाई नुन–तेल, चिनी, लत्ताकपडादेखि दैनिक उपभोग्य खाद्य सामग्रीका लागि महाकाली तरेर भारतीय बजार जानुपर्ने बाध्यता छ ।

तुइनको प्रयोग गरेर एकै दिनमा सहजै बजार गएर घर फर्किन सकिने हुँदा यहाँका स्थानीय लामो समयका लागि खाद्यान्न जोहो गर्दैनथे । यहाँका स्थानीय खाद्यान्न किन्न भारतीय सीमा बजार पाङ्गा, गस्कु र धार्चुलासम्म पुग्छन् ।

व्यास जोड्ने मुख्य मार्ग दार्चुला–टिंकर सडक सुन्सेरासम्म ट्रयाक खोलिएको छ । सडकको ट्रयाक खोलिए पनि वर्षाले बाटो बिगारेका कारण यातायातका साधन अहिलेसम्म सञ्चालनमा आउन सकेका छैनन् ।

दार्चुला–टिंकर सडक पनि अलपत्र छ । १२ वर्षअघि शिलान्यास भएको सडकको ४० किलोमिटर ट्रयाक पनि पूरा हुन सकेको छैन । 

चाडपर्व मनाउने चिन्ता

दैनिक उपभोग्य सामान ल्याउन कठिन भएपछि नजिकिँदै गरेका चाडपर्व कसरी मनाउने भन्ने चिन्तामा परेका छन् स्थानीय । घण्टौं पैदल हिँडेर सदरमुकामबाट सामान ल्याउनसक्ने अवस्था नभएको स्थानीय बताउँछन् । 

‘लुकिछिपी पारी (भारतीय बजार) जानु परेको छ ।  भारतीय सरक्षाकर्मीसँग डर उत्तिकै छ’, स्थानीय राकेश धामीले भने, ‘हामीलाई नुन, तेल, खाद्यान्न सकिएमा समस्या हुन्छ । तीन दिन लगाएर सदरमुकामबाट सामान ल्याउन पनि गाह्रो छ ।’ दसैं, तिहार नजिकिएको छन् । उनले हेलिकोप्टरबाट चामल ढुँवानी गर्दा खाद्यान्नका लागि केही राहत भएको बताए ।

एसएसबीको ज्यादतीले थप समस्या

त्रिदेशीय सीमानामा रहेको सीतापुल छोटी भन्सारमा पनि भारतीय एसएसबीको ज्यादतीका कारण व्यवसायी झनै समस्यामा परेका छन् ।  विगतमा एसएसबीले सीतापुलदेखि सहज रुपमा दैनिक उपभोग्य लगायतका सामान ढुवानी गर्न दिँदै आएको थियो । नेपालले नयाँ नक्सा जारी गरेपछि र जयसिंह धामी बेपत्ता भएको घटनापछि सताउन थालेको स्थानीयहरुको भनाई छ ।

जयसिंह धामी बेपत्ता भएको घटनापछि त एसएसबीले साह्रै सताएको र छिटफुटबाहेक भारतबाट सामान ल्याउन सक्ने अवस्था नभएको व्यास गाउँपालिका–१ का वडाध्यक्ष अशोकसिंह बोहरा बताए ।

लिपुलेक, लिम्पियाधुरासम्बन्धी विवादका कारण एसएसबीले सीमा क्षेत्रका बासिन्दालाई धेरै दुःख दिँदै आएको वडाअध्य बोहराको भनाइ छ । अहिले सीतापुल पनि जीर्ण भइसकेका कारण आवतजावत गर्न जोखिमपूर्ण छ ।  

जयसिंहका परिवारले पाएनन् राहत

तुईनमा बेपत्ता भएका जयसिंहका परिवारलाई सरकारले १० लाख दिने घोषणा गरेको थियो । तर सो रकम अझै परिवारले पाउन सकेको छैन । न्यायको पर्खाइमा बसेका परिवारको बिचल्ली भएको छ । पीडित परिवारका आँखा ओभाएका छैनन् । सरकारले जयसिंहलाई न्याय दिन कुनै कसर बाँकी नराख्ने भन्ने प्रतिबद्धता जनाए पनि न्याय दिन सकेको छैन । 

‘गाउँपालिकालगायत विभिन्न संघ संस्थाले दिएको नगद रुपैयाँ पाएको छ’, व्यास गाउँपालिका–२ का वडाअध्यक्ष धिरेन्द्र बुढाथोकीले भने, ‘संघीय सरकारले दिने भनेको १० लाख रुपैयाँ प्रक्रियामा छ ।’

तुईन नै फुस्काइदिएर मानिसको ज्यान नै जाने घटना निकै गम्भीर हो । यस्तो घटनामा पनि परिवारले सामान्य क्षतिपूर्ति पाएपनि न्याय नपाउँदा दुःखी छन् । कुरा जयसिंहको मात्रै होइन । जयसिंहको प्रकरणले नेपाल भारतबीचको सीमा समस्याको विषयमा ठूलो बहस सिर्जना भएको छ । 

पछिल्लो घटनाले त भारतीय रबैया छर्लंग देखिएको छ । सीमाका नागरिक छिमेकी मुलुकबाट दिनहुँजस्तो हुने उकुसमुकुस पार्ने हस्तक्षेप सदियौँदेखि भोग्दै झेल्दै आइरहेका छन् । तर हरेक सरकारले मौनता साँधेका कारण समस्याको समाधान हुन सकेको छैन । 

हुन त त्यस्ता धेरै घटनाहरू वर्षौंसम्म पनि रहस्यकै गर्भमा छन् । अझ नेपाल भारत सीमानामा यसअघि पनि भारतीय सुरक्षाकर्मीको गोली लागेर धेरै नेपालीहरूको ज्यान गएको छ ।

२०७३ फागुन २६ मा भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट मृत्यु भएका कञ्चनपुर पुनर्वास ८ का गोविन्द गौतम र २०६७ जेठ ११ मा भारतीय एसएसबीको गोली प्रहारबाट मोरङ अमाही बरियातीका वासुदेव साहको मृत्यु भयो । उनीहरूका परिवारले राहतका नाममा केही रकमबाहेक सरकारबाट केही पाउन सकेनन् ।

घटनामा संलग्नलाई कानुनबमोजिम कारबाही अहिले सम्म गर्न सकेको छैन । कुरा नेपाल–भारतको सीमानाको मात्रै होइन । नेपालभित्रकै धेरै घटनाहरू त्यत्तिकै गिजोलिएर सेलाएका छन् । धामी, गौतम र साहले आफ्नो ज्यान गुमाएर सीमाको विषय र वास्तविकता अगाडि ल्याइदिँदा समेत नागरिक समाज, बुद्धिजीवी, लेखक मौन छन् ।

  • प्रकाशित मिति : असोज १०, २०७८ आइतबार १३:२३:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया