३ लाख तिरेर नेपाल आउँदै रोहिंग्या, अमेरिका पठाउने सपना देखाउँदै दलाल
नेपालका रोहिंग्यालाई तत्काल डिपोर्ट गर्न विज्ञहरूको सुझाव

केहीदिन अगाडि कपनस्थित रोहिंग्या शरणार्थी शिविर नजिकै दुई बालबालिका देखिए । रुदैं गरेका उनीहरू आफन्तको खोजिमा थिए । रोइरहेको त धेरैले देखे तर, कसैले पनि मतलव गरेनन् । 

शिविरबाट आएका एक जनाले सोधे,– तिमीहरू को हो ? किन रोइरहेको ?

तर, उनीहरूले केही जवाफ दिएनन् । झट्ट हेर्दा पनि आफ्नै समुदायका जस्ता लाग्ने ति बालबालिकालाई आफ्नै भाषामा प्रश्न गरे । बल्ल उनीहरूले सोधेको प्रश्न बुझे । र आफूहरू बंगलादेशबाट आएको बताए । त्यसपछि एकाएक शिविरभर हल्लाखल्ला मच्चियो । उनीहरू कसरी यहाँ आइपुगे सोधीखोजी गर्न थाले । 

बुझ्दै जाँदा उनीहरू दुई जना मात्र नभएर १४ जना रहेछन् । जो बंगलादेशबाट काठमाडौं आएका, त्यो पनि दलालमार्फत । 

दलालले दुई परिवारका १४ जनालाई नेपाल ल्याइपुर्‍याइएका रहेछन् । बंगलादेशबाट तीन दिन लगाएर दलालले भारत हुँदै काँकडभिट्टा नाकाबाट नेपाल छिराएका रहेछन् । त्यहाँबाट काठमाडौं ल्याएर कपन क्षेत्रमा रहेको शरणार्थी शिविर नजिकै छोडिदिए । 

यसरी आफ्नै समुदायका मानिसहरू आएपछि उनीहरू दलाल खोज्नतिर लागे । बुझ्दै जाँदा आफैंले चिनेको व्यक्ति नै दलाल रहेको पाइयो ।  



नेपाल ल्याउन सहयोग गर्ने दलालबारे प्रहरीलाई जानकारी गराए । उनीहरूले दिएको जानकारीअनुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तीन जनालाई पक्राउ गर्‍यो । 

पक्राउ पर्नेमा स्वफिक आलम, अजमत उल्लाह र नुरुल अमिन छन् । उनीहरू काठमाडौंको विभिन्न स्थानबाट असोज २ गते र ४ गते पक्राउ परेका थिए । 



उनीहरूमध्ये उल्लाह बंगलादेश घर भई हाल डल्लु चौतारा बसेर टंकेश्वरमा कपडा पसल चलाउँदै आएका थिए भने अन्य दुई जना म्यानमार घर भई काठमाडौं बस्दै आएका थिए । उनीहरू मध्ये आलम कपडा बेच्दै हिँड्ने र अमिन हार्डवेयर पसलमा काम गर्दै आएका थिए । 

तिनै जनाले बंगलादेशको रोहिंग्या शरणार्थी शिविरबाट विभिन्न प्रलोभन देखाएर नेपाल ल्याएका थिए । प्रतिव्यक्ति २ लाख ५० हजार टाका (बंगलादेशी मुद्रा जसको नेपाली तीन लाख ४५ हजार भन्दा रूपैयाँ हुन्छ) लिएर नेपाल ल्याएका रहेछन् । सामान्यतया बंगलादेशबाट नेपाल आइपुग्न १० हजार जति खर्च लाग्छ । नेपाल ल्याउँदा उनीहरू नेपालबाट अमेरिका, युरोपलगायतका देशमा पठाइदिने, नेपाल पुगेपछि अमेरिका जाने परिचयपत्र पाइने जस्ता प्रलोभन दिएका थिए ।  

मासिक प्रतिव्यक्ति पुरुषलाई ५ हजार ७५०, महिलालाई ३ हजार ७५० र बालबालिकालाई २ हजार ७५० रूपैयाँ भत्ता दिने तथा अन्य सुविधा पनि हुने प्रलोभन समेत दलालले दिएका थिए । यति कुरा बुझेपछि नेपाल आउन उनीहरू उत्साहित भए र पैसा दिए । 

दलालले बंगलादेशबाट भारत ल्याए र भारतबाट काँकडभिट्टा नाका हुँदै काठमाडौं ल्याएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता एसपी श्यामकुमार महतोले जानकारी दिए । 

दलालमार्फत नेपाल आएका १४ जना रोहिंग्या शरणार्थी प्रहरी निगरानीमा छन् । उनीहरूलाई ल्याउने दलाललाई पक्राउ गरेर सीआईबीले मानव बेचबिखन अनुसन्धान ब्युरोको जिम्मा लगाएको छ । ब्युरोले अदालतबाट सात दिनको म्याद लिएर थप अनुसन्धान गरिरहेको छ । 

लामो समयदेखि काठमाडौंमा बसेर विभिन्न काम गर्दै आएका व्यक्तिहरू यसरी मानिस ल्याउने काममा लागेको प्रहरीले जनाएको छ । यसरी रोहिंग्याहरू नेपाल आउन थालेपछि प्रहरीले निगरानी बढाएको ब्युरो प्रवक्ता महतोले बताए । 

११ जनाबाट ४१४ जना पुगे 

सन् २०१२ मा पहिलोपटक रोहिंग्याहरू नेपाल आएका थिए । सन् २००८ देखि म्यानमारको चलेको रोहिंग्या र सेनाबीचको हिंसापछि रोहिंग्याहरू छिमेकी देशमा शरणमा पुगे । 

राज्यको तर्फबाट नागरिकता समेत नपाएका उनीहरू नेपाल आउँदा तीन परिवारका ११ जना मात्र थिए । अहिले काठमाडौंमा ४१४ जना रोहिंग्या मुस्लिम समुदायका मानिसहरु बसोबास गरिरहेका छन् । यो संख्या सन् २०१६÷१७ को बीचमा ह्वात्तै बढ्यो । 

अहिले कपनको राममन्दिर र बालुवाखानी नजिकै दुई शिविरमा बस्दै आएका छन् । जग्गा भाडामा लिएर उनीहरू त्यहाँ अस्थायी टहरा निर्माण गरेर बसिरहेका हुन् । 
म्यानमारको उत्तरी रखायन राज्यमा रहेका मुस्लिम समुदायमाथि बौद्ध बाहुल्य रहेको म्यानमारको सैनिकले दमन गरेको थियो । जसले गर्दा उनीहरू भाग्न बाध्य भएका थिए । 

अहिले उनीहरू भारत, बंगलादेश, नेपाल, थाइल्याण्ड, मलेसिया, इन्डोनेसिया लगायतका देशमा शरणार्थी बनेर बसिरहेका छन् । नेपालमा पनि शरणार्थीको संख्या हरेक वर्ष बढिरहेको छ । जसमा केही नेपाल आएपछि थप बच्चा जन्मिएर थपिए भने केही बाहिरबाट आए । 

सुरुमा कसरी आए नेपाल ? 

म्यानमारको सेनाले उनीहरूमाथि अन्धाधुन्ध गोली बर्साउँन थाल्यो । सेनाले जहाँ रोहिंग्या देख्यो त्यही गोली हान्थ्यो । दिनभर मानिसहरू घरभित्रै बस्न बाध्य भए । कतिपय आफन्त सेनाको गोली लागेर मारिए । यसरी डरैडरमा बस्नुभन्दा देश नै छोड्ने मनसायमा उनीहरू पुगे । अनि राति नै घरबार छोडेर भाग्न थाले । 

३२ वर्षीय रफिद ताके मध्यरातमा श्रीमती र दुई छोरा–छोरी लिएर बंगलादेशतिर भागे । ‘दिनमा बाहिर आयो भने त सेनाले गोली हानिहाल्थ्यो । सबैकुरा माया मारेर आफ्नो ज्यानको खातिर राति २ बजेतिर घरबाट भाग्यौं’, रफिदले भने । 

त्यही बंगलादेशतिर शरण लिनेको संख्या लाखौं पुगिसकेको थियो । बंगलादेशमा पनि धेरैको संख्यामा शरणार्थी भएपछि उनी त्यहाँको विकल्प खोज्नतिर लागे । 

त्यहाँबाट पनि भागेर उनी भारत पुगे । भारत पुगेपछि भारतीय सुरक्षाकर्मीले निकै डर र त्रास देखायो । जतिसक्दो चाडो आफ्नो क्षेत्र छोडेर जाने आदेश दिए । क्षेत्र खाली नगरे आतंकवादी भन्दै गोली हान्ने डर देखाए । भारतबाट हरेक दिन भाग्दा भाग्दै नेपालको सीमा नजिकै काँकडभिट्टा पुगे । त्यहाँ आएर ठाउँको बारेमा सोध्दा नेपाल भनियो । जबकि उनलाई नेपाल देश छ भन्ने पनि थाहा थिएन । 

त्यसपछि नेपालबारे अलि थोरै जानकारी लिएर काठमाडौं हानिए । नेपाल प्रवेश गर्ने क्रममा उनलाई कसैले पनि अवरोध गरेन । जसरी भारतमा उनीहरूमाथि सुरक्षाकर्मीले त्रास देखायो नेपालमा त उनीहरूले सुरक्षाकर्मी नजिकबाट देख्न समेत पाएनन् । 

काँकडभिट्टाबाट बस चढेर सिधै काठमाडौं आइपुगे । काठमाडौंको घण्टाघरमा रहेको जामे मस्जिदको सम्पर्कमा आएपछि उनीहरूले निःशुल्क खाना खान पाए । त्यस्तै काठमाडौंस्थित संयुक्त राष्ट्रसंघीय शरणार्थी सम्बन्धी उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले शरणार्थी परिचयपत्र बनाइदियो । त्यसपछि प्रतिपरिवार चार हजारका दरले भत्ता समेत पाउन थाले । जसले गर्दा उनीहरू दैनिक जीवनयापन सहज बन्यो ।  

यताको जीवन सहज बन्न थालेपछि बंगलादेशमा रहेका आफन्तलाई पनि बोलाउन थाले । र बिस्तारै रोहिंग्याको संख्या बढ्न थाल्यो । कपन क्षेत्रमा जग्गा भाडामा लिएर बस्न थाले । त्यसका लागि यूएनएचसीआरले नै जग्गाको व्यवस्था मिलाइदियो । 

त्यस्तै ३९ वर्षीय महमद अर्यास सन् २०१५ मा नेपाल आए । राति घर छोडेर हिँड्ने क्रममा उनीसँगै रहेका भान्जामाथि सेनाले गोली बर्सायो । तारबारमा खुट्टा अड्किदा सेनाले चाल पाएर अन्धाधुन्ध गोली चलाएको थियो । गोली लागेर उनको भान्जाको ज्यान गयो । तर, उनीहरू पछि फर्केर हेर्ने हिम्मत समेत गर्न सकेनन् ।

गोली नलाग्दासम्म अगाडि नै बढ्ने भन्दै स–परिवार राति नै बंगलादेशतिर लागे । बंगलादेशमा रहँदा नेपालबारे उनले एकदमै राम्रो कुरा सुने । जसले गर्दा उनी पनि नेपालतिर हानिए ।   

सामान्यतयाः देश छाडेर जानेहरू सीमावर्ती तथा छिमेकी देशको शरणमा पुग्छन् । म्यान्मारका रोहिंग्याहरूका लागि छिमेकी देश बंगलादेश थियो । बंगलादेशमा धेरै भएपछि उनीहरू विकल्पमा भारत तथा नेपाल हेर्न थाले । 

बहुसंख्यक बौद्ध समुदायको बसोबास रहेको म्यान्मारमा रोहिंग्या मुस्लिम समुदायको पनि बसोबास छ । बंगलादेशसँग सीमा जोडिएको रखाईन प्रान्तमा ५० लाख भन्दा बढी रोहिंग्या बस्थे । तर, उनीहरूमाथि सरकारले नै ज्यादती गरेपछि उनीहरू अर्को देशको शरणमा पुगे । 

उनीहरूको माग– कि नेपालको नागरिकता, कि तेस्रो मुलुक    

लामो समयदेखि नेपालमा बस्दै आएका उनीहरू फेरि म्यानमार नै फर्किन चाँहदैनन् । उनीहरूलाई नेपाल आफ्नै देश जस्तो लाग्छ । नेपालबाट पाएको माया, सद्भाव तथा सहानुभूतिले गर्दा नेपालप्रतिको प्रेम झन् बढायो । त्यसैले त उनीहरूले नेपाल र नेपालीलाई सधैं सम्झिरहन्छन् । रफिद भन्छन्,‘नेपालले हामीलाई शरण मात्र दिएको छैन । हामीलाई जीवन नै दिएको छ । यसका लागि हामी नेपाल र नेपालीप्रति सधैं आभारी रहन्छौं ।’

नेपाल सरकार, संयुक्त राष्ट्र संघ तथा यूएनएचसीआरसँग उनीहरूको माग छ,– कि नेपालको नागरिकता उपलब्ध गराउने या तेस्रो मुलुक पठाउने । 

नेपालको नागरिकता पाउन सम्भव नदेखिएपछि उनीहरू तेस्रो मुलुक पठाउन माग गर्दै आएका छन् । रफिक आलम भन्छन्, ‘हामी फेरि आफ्नै मुलुक फर्किन सक्दैनौं । त्यहाँ हामीलाई बस्न पनि दिदैन । हामीलाई अमेरिका, अस्ट्रेलियातिर पठाइदियो भने राम्रो हुन्छ ।’ 

हुन त उनीहरूलाई आफ्नो देशको माया नलाग्ने भने होइन । तर, म्यानमारले उनीहरूलाई आफ्नो नागरिक कहिल्यै पनि मानेन । यदि फर्कियो भने पनि फेरि उनीहरूमाथि सेनाले गोली बर्साउन थाल्छ । 

शरणार्थी शिविरको समितिका सदस्य जफर मियाका दुईवटा माग छन् । एक–  नेपालमा सहज रूपमा काम गर्ने वातावरण बनाइदिनुपर्ने । अर्को,– तेस्रो मुलुक सिफ्ट । 
‘हामीले नेपालमै सहज रूपमा काम गर्न पायौं भने अमेरिकामा जस्तै कमाइ गरेर परिवार पाल्न सक्छौं । त्यो भएन भने कुनै राम्रो देशमा हाम्रो बसोबासको व्यवस्था मिलाइदिनुपयो’, उनले भने ।  

यसअघि नेपालमा बसोबास गर्दै आएका भुटानी शरणार्थी अमेरिका र अस्ट्रेलिया गएका थिए । जसले गर्दा उनीहरूलाई पनि त्यही जाने लोभ जागेको छ । 

छैन निगरानी, निर्वाध गर्छन् काम

नेपालमा बसोबास गरिरहेका उनीहरू कानुनतः शिविर बाहिर जान पाउँदैनन् । यूएनएचसीआरले उपलब्ध गराएको शरणार्थी परिचयपत्रका आधारमा काठमाडौं आसपासमा घुमफिर गर्न सक्छन् । तर, काम गर्न पाउँदैनन् । 

उपत्यका छोड्नुपर्‍यो भने उनीहरूले राज्यको अनुमति लिनुपर्छ । तर, लुकिछिपी बाहिर काम गर्न जाने, सीमा वारपार गर्ने जस्ता काम गरिरहेका छन् । यसमा कसैले पनि निगरानी गरेको छैन । 

जफर भन्छन्,– ‘हामीलाई सरकारले कानुनी रोक लगाएको छ । तर, धेरै साथीभाइहरू बाहिर जाने, काम गर्ने गरेका छन् । त्यस्तो कुनै अवरोध छैन । काम नगरेर कसरी पेट पाल्ने ?’

मानवीय हिसाबले शरणार्थीलाई शरण दिँदै आएको नेपाल ‘सेफ हेभन’ बन्ने खतरामा छ । दिनप्रति उनीहरू नेपाल आउने क्रम बढ्न थालेपछि यसले नेपालको सामाजिक, आर्थिक र सुरक्षा चुनौती थपिने विज्ञहरूको चेतावनी छ ।  

उनीहरूले पटक–पटक राज्यलाई यहाँ आएका रोहिंग्याहरूलाई तत्काल डिपोर्ट गर्न सुझाव दिइरहेका छन् । तर, राज्यका निकाय भने मानवीय हिसाबले शरण दिएको बताउँदै आएका छन् । 

उनीहरू कहाँ–कहाँ गएर के–के गर्दै आएका छन् ? कतै गैरकानुनी क्रियाकलापमा संलग्न त छैनन् जस्ता कुरामा राज्यले निगरानी गर्नुपर्छ । तर, सुरक्षा निकाय यस्तो विषयमा मौन देखिएको छ । 

रोहिंग्यालाई शरण दिइरहेको बुढानिलकण्ठ नगरपालिका–११ का वडाअध्यक्ष राजु अधिकारीले उनीहरूमाथि निगरानी गर्ने कुनै निकाय नै नभएको बताए । 

अहिले पनि बाहिरबाट आउने क्रम बढिरहेको भन्दै त्यसलाई रोक्न वडा कार्यालयले नसक्ने उनको भनाइ छ । बाहिरबाट आएको मानिसलाई रोक्न रोहिंग्याहरूले नै कडा नियम बनाएका छन् । तर, लुकाईछिपाइ गरेर ल्याउने गरेका छन् । 
 

  • प्रकाशित मिति : असोज १०, २०७८ आइतबार १७:२३:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया