सुदूरपश्चिममा कांग्रेस महाधिवेशन : पालिकामा कहाँ को भए सभापति ?

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सुदूरपश्चिम प्रदेशको गाउँ तथा नगर अधिवेशन सम्पन्न भएकाे छ । प्रदेशका अधिकांश जिल्लाका गाउँ तथा नगरमा सर्वसम्मत रूपमा कार्य समिति चयन भएकाे छ भने केहीमा निर्वाचन प्रणालीबाट कार्यसमिति चयन भएकाे छ ।

प्रदेशको विवादित जिल्ला कैलालीमा भने अझै पनि क्रियाशील सदस्यको नामावली सार्वजनिक गरिएको छैन । डडेल्धुरामा विवादका बावजुद पनि पालिका वडा तथा पालिका अधिवेशन सम्पन्न भएको छ ।

डोटी

कांग्रेस डोटीका नौ स्थानीय तहमध्ये आठ स्थानीय तहमा पालिकास्तरीय समितिको नेतृत्व चयन गरेको छ । नेतृत्व चयनका क्रममा चार पालिकामा सहमतिमा चयन भएको छ भने चार पालिकामा आन्तरिक प्रतिस्पर्धाबाट नेतृत्व चयन भएको हो । बोगटान फुडसिल गाउँपालिकामा सहमति जुट्न सकेको छैन ।

दिपायल सिलगढी नगरपालिकाको सभापतिमा गणेश मलासी चयन भएका छन् । सभापतिका आकांक्षीहरूबीच सहमति जुटेपछि मलासी निर्विरोध चयन भएका हुन् । उनी यसअघि पनि सोही पदमा थिए । आदर्श गाउँपालिकाको सभापतिमा चन्द्रनाथ ओझा छानिएका छन् । 

पूर्वीचौकी गाउँपालिकामा पनि सहमतिमा नेतृत्व चयन भएको छ । सभापतिमा बलबहादुर खड्का चयन भएका छन् । केआईसिंह गाउँपालिका सभापतिमा अर्जुन बलाएर निर्विरोध चयन भएका छन् । शिखर नगरपालिकाको इकाइ समिति सभापतिमा हर्क बोगटी विजयी भएका छन् । अन्य पदहरूमा सहमति भए पनि सभापतिमा कुरो नमिलेपछि निर्वाचन गरिएको थियो । बोगटी प्रतिस्पर्धी दीर्घबहादुर बलायरलाई २५ मतले पछाडि पार्दै सभापति भएका हुन् । बोगटीले ९० मत प्राप्त गरे भने बलायरले ७५ मत प्राप्त गरे ।



सायल गाउँपालिका इकाइ समिति सभापतिका लागि भएको निर्वाचनमा तेजराज ओझाले ६१ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी रामबहादुर बोगटीले २५ मत प्राप्त गरे । जोरायल गाउँपालिकाको सभापतिमा मोहन मल्ल चयन भएका छन् । यसअघि पनि सोही जिम्मेवारीमा रहेका मल्लले निर्वाचनमा ५४ मत पाई विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नरबहादुर बोहराले ३६ मत प्राप्त गरेका छन् ।

बडीकेदार गाउँपालिकाको नेतृत्व चयनका लागि पनि निर्वाचन भएको छ । गाउँ इकाइ समिति सभापतिमा करुणाकर जोशीले ४१ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी वीरेन्द्र कोटकेनीले ३५ मत प्राप्त गरेका छन् । 



कञ्चनपुर

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कञ्चनपुरका ९ वटै स्थानीय तहमा शनिबार गाउँ/नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट पुनर्वास नगर समितिमा शुकबहादुर तामाङ, बेलौरी नगर समितिमा पेपुराम चौधरी, लालझाडी गाउँ समितिमा श्रीकृष्ण राना, बेलडाँडी गाउँ समितिमा गजबहादुर बिष्ट, वेदकोट नगर समितिमा तुलाराम साहु र भीमदत्त नगर समितिमा अच्युतराज कलौनी सभापतिमा निर्वाचित भएका छन् ।

त्यस्तै कृष्णपुर नगर समितिमा विष्णु खड्का, शुक्लाफाँट नगर समितिमा दानबहादुर ऐर र दोधारा चाँदनी नगर समितिमा राजेन्द्र मल्ल सर्वसम्मत रूपमा निर्विरोध नगर सभापतिमा चयन भएका छन् ।  

डडेल्धुरा

डडेल्धुरा जिल्लामा पनि गाउँपालिका र नगरपालिकास्तरीय अधिवेशन एक पक्षीय विरोधका वावजुद पनि सम्पन्न भएको छ । जिल्लाको अमरगढी नगरपालिका र नवदुर्गा गाउपालिकामा सर्वसम्मत रूपमा कार्यसमिति चयन भएको छ । बाँकी पाँचवटा तहमा निर्वाचन प्रणालीबाट अधिवेशन भएको छ ।

अमरगढी नगरपालिकाको नगर सभापतिमा खेमराज भट्ट निर्वाचित भएका छन् । त्यस्तै जिल्लाको नवदुर्गा गाँउपालिकामा भोजराज भट्ट गाउँपालिका सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन् भने उनीसँगै पूरै कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

अजयमेरु गाउँपालिकामा टेकराज पाण्डेय  सभापतिमा निर्वाचित भएका छन् । परशुराम नगरपालिकाको सभापतिमा भरत बडायर जोशी निर्वाचित भएका छन् । गन्यापधुरा गाउँपालिका सभापतिमा इन्द्र कार्की निर्वाचित भएका छन् । आलितालमा चन्द्रदेब बोहरा गाउँपालिका सभापतिमा विजय भएका छन् । भागेश्वर गाउँपालिका सभापतिमा डम्बरराज जोशी गाउपालिका सभापति निर्वाचित भएका हुन् ।

दार्चुला

हिमाली जिल्ला दार्चुलाका ४ स्थानीय तहमा सर्वसम्मत रूपमा नेतृत्व चयन भएको छ ।  जिल्लाको मार्मा, मालिकार्जुन, अपिहिमाल र नौगाड गाउँपालिकामा सबै पदहरूमा सर्वसम्मत रूपमा नेतृत्व चयन भए पनि बाँकी ५ स्थानीय तहमा नेतृत्व चयनका लागि छलफल जारी छ ।

मार्मा गाउँपालिकामा धनञ्जय जोशी, मालिकार्जुन गाउँपालिकामा किसन सिंह सामन्त, अपिहिमाल गाउँपालिकामा शोभन सिंह लोथ्याल र नौगाड गाउँपालिकामा प्रेम सिंह धामी गाउँपालिका सभापतिमा सर्वसम्मत चयन भएका छन् । अन्य स्थानीय तहहरूमा सभापतिका आकांक्षी बढी भएपछि सर्वसम्मत नेतृत्व चयनमा ढिलाइ भइरहेको छ । 

अछाम

अछामका १० वटा स्थानीय तहमध्ये ६ वटा स्थानीय तहमा सहमतिकै आधारमा नयाँ नेतृत्व चयन गरिएको छ भने बाँकी रहेका ४ पालिकामा सहमतिको प्रयास भइरहेको छ ।

जिल्लाको मंगलसेन नगरपालिकामा झपट बहादुर रावल, कमलबजार नगरपालिकामा पदम बहादुर भण्डारी, चौरपाटी गाउँपालिकामा धर्म बहादुर साउद, रामारोशन गाउँपालिकामा मान बहादुर साउद र ढकारी गाउँपालिकामा गाउँपालिका अध्यक्षसमेत रहेका धन बहादुर बुढाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ ।
  
यस्तै तुर्माखाँद गाउँपालिकामा पनि सर्वसम्मत नै नयाँ कार्यसमिति चयन गरिएको छ । ६ पालिकामा सहमति भए पनि ४ वटामा अझै सहमति जुट्न सकेको छैन । जिल्लाको साँफेबगर नगरपालिका, बान्नीगढी जयगढ गाउँपालिका, मेल्लेख गाउँपालिका र पञ्चदेवल विनायक नगरपालिकामा सहमतिकै आधारमा नेतृत्व चयन गर्न छलफल जारी छ 

बझाङ

१० स्थानीय तह रहेको बझाङ जिल्लामा दुई स्थानीय तहमा मात्रै कांग्रेसको गाउँ/नगर अधिवेशन सम्पन्न भएको छ । बाँकीमा निर्वाचनको तयारी भइरहेको छ ।  बझाङको बित्थडचिर गाउँपालिकामा चक्र अधिकारी नेपाली कांग्रेसको सभापति बनेका छन् भने सुर्मा गाउँपालिकामा अतीत बोहराले सभापतिको जिम्मेवारी पाएका छन् ।

बाजुरा 

बाजुराका ९ वटा स्थानीयमा ४ स्थानीय तहमा मात्रै गाउँ/नगर अधिवेशन सकिएको छ । बाँकी ५ स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयनको तयारी भइरहेको छ । बाजुरा जिल्ला सभापति कविराज पण्डितका अनुसार बूढीनन्दा नगरपालिका सभापतिमा मान बहादुर खड्का निर्वाचित भएका छन् । यस्तै बूढीगङ्गा नगरपालिकामा जयराज उपाध्याय, जगन्नाथ गाउँपालिकामा सुन्दर विष्ट र गौमुल गाउँपालिकामा राज बहादुर धामी सभापतिमा निर्वाचित भएका हुन् । बाँकी पालिकामा सहमतिको प्रयास भइरहेको जनाएको छ ।

बैतडी

बैतडीमा पनि नेपाली कांग्रेसको अधिवेशन सम्पन्न भएको छ । शनिबार भएको पालिका अधिवेशनबाट सुर्नया गाउँपालिकामा प्रतापसिंह महराको नेतृत्वमा सर्वसम्मत समिति चयन भएको छ ।

यसैगरी शिवनाथ गाउँपालिकाको सभापतिमा हिरा चन्द चयन भएकी छिन् । पञ्चेश्वर गाउँपालिकाको कार्यसमिति पनि सर्व सम्मतिमै चयन भएको छ । गाउँपालिकाको सभापतिमा रामबहादुर चन्द चयन भएका छन् । दशरथचन्द नगरपालिकाको कांग्रेस सभापतिमा भुवन राज भट्ट प्यानल सहित विजयी भएका छन् । 

त्यस्तै पुर्चौडी नगरपालिकाको कांग्रेस सभापतिमा गणेश सिंह गडाल निर्वाचित भएका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिकाको सभापतिमा नन्दराज भट्ट प्यानलसहित विजयी भएका छन् भने मेलौली नगरपालिकाको सभापतिमा प्रमानन्द भट्ट निर्वाचित भएका छन् ।

जिल्लाको सिगास गाउँपालिकाको सभापतिमा कर्णबहादुर ऐर निर्वाचित भएका छन् । यस्तै जिल्लाको डिलाशैनी गाउँपालिकाको सभापतिमा जयराज जोसी निर्वाचित भएका छन् ।

क्रियाशील सदस्यतामा विवाद रहेको कैलालीको टुङ्गिएको स्थानीय नेताहरूको दाबी गरेका छन् । ‘विवाद समाधान भयो, आज राति या भोलिसम्म यहाँका निर्वाचन अधिकृतलाई सदस्यता नामावली प्राप्त हुन्छ’, कांग्रेस कैलालीका नेता नृप सुनारले भने, ‘सोमबार हामीले छलफल गरेर निर्वाचनको मिति तोक्छौं ।’
 

  • प्रकाशित मिति : असोज १०, २०७८ आइतबार १४:४४:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया