मासिक उपचार खर्चको व्यवस्थाले मेरुदण्ड पक्षघात समूह हर्षित
अर्थमन्त्री शर्मालाई दिए धन्यवाद

प्रतिस्थापन विधेयकमार्फत ल्याइएको नयाँ बजेटमा दीर्घरोगीको उपचारका लागि मासिक भत्ता व्यवस्था गरिएकोमा मेरुदण्ड पक्षघात समूह नेपालले अर्थमन्त्री जनार्दन शर्मालाई धन्यवाद दिएको छ । आइतबार अर्थ मन्त्रालयमा मन्त्री शर्मालाई भेटी समूहले धन्यवाद दिएको हो ।

भेटमा मन्त्री शर्माले सबै नागरिकको अभिभावक राज्य भएकाले दायित्व बोधका साथ मासिक उपचार खर्चको व्यवस्था बजेटमा गरिएको बताए । उनले केही दिनभित्रै सरोकारवाला निकाय तथा समूहसँग बसेर कार्यविधि बनाई तत्काल कार्यान्वयनमा लैजाने समेत आश्वासन दिए । 

‘आजदेखि बजेटमा व्यवस्था गरिएका विषयको कार्यविधि बनाउनेबारे छलफल थालेका छौँ,’ उनले भने, ‘अब एक–दुई दिनभित्रै सरोकारवाला निकाय र तपाईंहरूलाई समेत राखेर छलफल गरी कार्यविधि बनाई तत्काल कार्यान्वयनमा लैजान्छौँ ।’ 

आगामी दिनमा यो सुविधा कसैले काट्न नसक्ने भन्दै मन्त्री शर्माले कार्यान्वयनका विषयमा ढुक्क हुन पनि आग्रह गरे । 

मेरुदण्ड पक्षघात समूह नेपालका अध्यक्ष ऋषि ढकालका अनुसार हाल नेपालमा करिब पाँच हजार स्पाइनल कर्ड इन्ज्युरी भएका व्यक्ति छन् । घाइते भएपछि मानसिक विक्षिप्तता आउने गरेको र समाजमा अर्को दर्जाको नजरले हेर्ने प्रचलन रहेको भन्दै अध्यक्ष ढकालले मासिक भत्ताले समाजमा पुनस्र्थापना हुन टेवा पुग्ने बताए ।

‘इन्ज्युरी भएपछि समाज र परिवारको बोझ भएँ भनेर मानसिक रूपमा कमजोर भएकाहरूलाई बलियो बनाउने काम भत्ताले गर्छ’, उनले भने, ‘हाम्रो सुझाब र मागलाई अर्थमन्त्रीज्यूले सम्बोधन गरिदिनुभयो, यसका लागि हाम्रो समूह र मुलुकभर रहनुभएका सम्पूर्ण स्पाइनल कर्ड इन्ज्युरी भएकाहरूको तर्फबाट धन्यवाद छ ।’



भेटपछि कायान्वयनको पक्षमा आफूहरूको आशंका समेत हटेको बताउँदै अध्यक्ष ढकालले अर्थमन्त्रीको आश्वासनले आफूहरू हर्षित र सन्तुष्ट भएको बताए । 

स्पाइनल कर्ड इन्ज्युरी भएका व्यक्तिले अवस्थाअनुसार नियमित उपचारमा फरक खर्च हुने समूहका महासचिव केशव थापाले बताए । उनका अनुसार पछिल्लो समय ४५० जनामा गरिएको अध्ययनले ५ देखि ८ हजारसम्म मासिक खर्च लाग्ने ५५ प्रतिशत छन् । बाँकी ४५ प्रतिशतलाई ५ हजारभन्दा कम लाग्ने अध्ययनले देखाएको छ ।



स्पाइनल इन्ज्युरी भएका बिरामीलाई नियमित रूपमा बउल ब्लाडर, सिवाइसी पाइप, युरिन ब्यागलगायत सामग्री अवस्थाअनुसार आवश्यक पर्छ ।

  • प्रकाशित मिति : असोज १०, २०७८ आइतबार १८:२:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया