माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आइतबार बन्द प्रशिक्षणमा रहेका २५ मध्ये साफ खेल्ने २३ सदस्यीय नेपाली टोली घोषणा गरेका हुन् ।
अलमुताइरीले घोषणा गरेको टिममा विकेश कुथु र राजन गुरुङ अटाएका छैनन् । साफको तयारीका लागि नेपाली टोली कतारमा बन्द प्रशिक्षण गरिरहेको छ । टोली उतैबाट माल्दिभ्स प्रस्थान गर्नेछ ।
१३ औँ संस्करणको साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुनेछ । नेपालले अक्टोबर १ (असोज १५) मा आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।
प्रतियोगिताका सबै खेल मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछन् । नेपालले दोस्रो खेलमा श्रीलंकासँग अक्टोबर ४ (असोज १८) गते खेल्नेछ । नेपालले तेस्रो खेलमा भारतसँग अक्टोबर १० (असोज २४) र समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग अक्टोबर १३ (असोज २७) मा प्रतिस्पर्धा गर्नेछ ।
पाँच राष्ट्र सहभागी प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि अक्टोबर १६ (असोज ३०) मा प्रतिस्पर्धा गर्ने छन्।
नेपाली टोली : किरण चेम्जोङ, रोहित चन्द, दीप कार्की, विशाल श्रेष्ठ, दिनेश राजवंशी, सुजल श्रेष्ठ, सुरज ज्यु ठकुरी, अनन्त तामाङ, अञ्जन विष्ट, गौतम श्रेष्ठ, सुमन अर्याल, सन्तोष तामाङ, नितिन थापा, विशाल राई, सुनिल बल, पुजन उपरकोटी, सुमन लामा, नवयुग श्रेष्ठ, आयुष घलान, मनिष डाँगी, तेज तामाङ, कमल थापा र आशिष लामा ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।