ती नेपाली फिल्म, यी नेपाली फिल्म

एउटा शितल अनुहार । ज्वलन्त अभिनय । रंगमञ्चमा निक्कै सक्रिय कलाकार । त्यहीँ कलाकारबाट प्रभावित भएर अभिनयमा तानिएको एउटा ठिटो- सरोज खनाल । अन्ततः उनी देशका नामी कलाकार बने । उनको मनमा यसरी कला मोह जगाउने कलाकार थिए–- बद्री अधिकारी । त्यसताका रंगमञ्चमा बद्री निक्कै सक्रिय थिए । सरोजले बद्रीका थुप्रै नाटक हेरेका थिए । 

त्यसबेला नाटक असाध्यै कम बन्थे । वर्षमा मुस्किलले दुईवटा नाटक मञ्चन हुन्थे । नयाँ कलाकारले अभिनय मोह राख्दैमा काम पाउने भन्ने हुँदैनथियो । रंगमञ्चमा अभिनय गरिरहेका हाँस्यकलाकार खेम शर्मासँग सरोजको राम्रो तादाम्यता थियो । उनीहरू सँगै काम गर्थे । एकदिन सरोजले खेमलाई भने, ‘खेमजी मलाई पनि अभिनय गर्न मन छ । कस्लाई भेट्नु पर्छ ?’ खेमले बद्री अधिकारीलाई भेट्न सुझाए । त्यसपछि सरोज खेमको साइकल पछाडि बसेर कयौं पटक बद्रीको घरमा पुगे ।

रंगमञ्चमा देखिने शोख बोकेर सरोज कयौं पटक महाबौद्धबाट पाटनको टंगाल पुगे । बद्रीसँग भेट हुन निकै गाह्रो थियो । हिँड्दै जान पनि अप्ठ्यारो । सरोजसँग साइकल थिएन । खेम शर्माले उनलाई साइकलमा लिएर पुर्याउँथे । बदलामा सरोजले खाजा ख्वाउनु पर्थ्याे । उनीहरूको खाजा जक्सन माइतीघर हुन्थ्यो । यो क्रम लामो समय चल्यो । तर, बद्रीको डेरामा उनी कहिल्यै भेटिएनन् । यता सरोज भने सितिमिति हार मान्ने खालका थिएनन् ।

एक दिन बद्री कन्या हाई स्कुलमा नाटक सिकाउन गएका थिए । सरोज त्यहीँ पुगे । आफ्नो रहर सुनाए । बद्रीले उनलाई २ मिनेटको रोल अफर गरेका थिए । त्यहीँ दुई मिनेटको रोलबाट सरोजको रंगमञ्चको यात्रा सुरु भयो । अहिलेका मानिससँग संघर्षको यो खालको किस्सा कमै छन् । समयसँगै यात्रा सुरुवातको प्रक्रिया बदलियो । 

नेपालमा टेलिभिजन नआउँदै रंगमञ्चमा लागेका सरोजको कला यात्रा थिएटरको महत्व  बुझ्दै अगाडि बढ्यो । यो यात्रामा उनले आफ्ना फ्यानका असंख्य पत्र पढेका छन् । शारीरिक रूपमा आफूलाई हिरो नठान्ने  सरोजलाई फिल्ममा जान यिनै कुराले प्रेरित गर्‍याे । सरोज आज पनि कला क्षेत्रमा सक्रिय छन् । तर, दर्शकको त्यो खालको माया महसुस गर्न कहाँ पाउनु ? 

त्यो ताका नेपाली फिल्म निर्माणको हालत पनि उस्तै थियो । वर्षमा ३÷४ वटा फिल्म बन्थे । फिल्म निर्माणको संख्याभन्दा तेब्बर संख्यामा कलाकार । फिल्म पाउन पनि उस्तै गाह्रो । पाएको कामको निक्कै महत्व हुन्थ्यो । काम पाएपछि गर्ने तयारी । सुटिङ स्थलमा बन्ने माहोल, कलाकारबीचको आत्मीयता हिजोआज निक्कै सम्झना आउँछ सरोजलाई । 



त्यसबेला फिल्ममा काम गर्ने कोही पनि प्राविधिक रूपमा तालिमप्राप्त थिएनन् । सबै गर्दै, सिक्दै हिँड्ने क्रममा थिए । पूर्ण रूपमा काम नजानेकाले पनि आफ्नो भूमिकालाई लिएर सिरियस हुने । रिहर्सल गर्ने काम हुन्थ्यो । आफ्नो भूमिकाका लागि आफूलाई कसरी तयार पार्ने भनेर हरेक कलाकारले मेहनत गर्थे । अहिले ती सबै कुरा देख्दैनन् सरोज । उनको मनमा कलाकारको त्यो मेहनत खड्किरहन्छ । उनी आफैं पनि गर्दैनन् । भन्छन्, ‘एक त म सहायक भूमिकामा देखिन्छु । मेन क्यारेक्टरमा छैन । मैले पूरै फिल्म धान्नु पर्दैन ।’ मुख्य भूमिकामा रहेर फिल्म धान्नु पर्ने कलाकारले पनि अहिले मेहनत गर्दैनन् । 

पहिला फिल्म सुटिङ सकिएको दिन कलाकारको रुवाबासी हुन्थ्यो । छुट्नु पर्दाको पीडाले थिच्थ्यो कलाकारलाई । त्यतिबेला प्रविधिको विकास भएको थिएन । अहिलेजस्तो सामाजिक सञ्जाल, मोबाइल फोन केही थिएन । तर, प्रेम ज्यादा थियो । ‘त्यतिबेला काठमाडौंमा थोरै घर थिए । कुन कलाकार कुन घरमा बस्छन भन्ने कुरा प्रोडक्सन म्यानेजरलाई थाहा हुन्थ्यो । उनैले कलाकारलाई निर्देशकले बोलाएको खबर दिन्थे र कलाकार भेला हुन्थे । टेलिफोनको पहुँचमा निक्कै कम कलाकार थिए’, सरोजले सुनाए । फिल्म यात्राका सुरुवाती दिनलाई सम्झँदै सरोज भन्छन्, ‘त्यसबेला सबैका विचार सुनिन्थ्यो । अहिलेका कलाकारदेखि निर्माता, निर्देशक कसैले पनि एकले अर्काको विचार सुन्दैनन् । म सर्वेसर्वा हुँ भन्ने अहम छ ।’



सुटिङ स्पटको माहोल पनि निक्कै रमाइलो हुन्थ्यो त्यो समय । सुटिङको त्यो क्षण सम्झँदै सरोज भन्छन्, ‘मेरो दोस्रो या तेस्रो फिल्मको सुटिङ हुँदै थियो । पाटनको कृष्ण मन्दिरमा भएको त्यो सुटिङ । सुटिङ हेर्ने आएको मान्छेको भीड । मैले मेरो जिन्दगीमा त्यति ठूलो भीड देखेको छैन । फिल्मको गीतको सुटिङ । करिश्मा र म सेटमा थियौं । हामीलाई हेर्न लगभग १० हजार मानिस आएका थिए । त्यो क्राउड कुनै पनि हिसावले हटाउने नसकेपछि गीतका डान्स डाइरेक्टर कमल राईले थोरै थिम चेन्ज गरिदिए । गीतमा क्राउड सहितको दृष्य खिच्ने सल्लाह भयो । त्यो भीडमा बोलाउँदा बोलेन भनेर केटीहरूले नमज्जाले चिमोटेका थिए । राति घर फर्किएपछि हेर्दा निलो डाम थियो ।’ 

त्यो समय कलाकारहरु सजिलैसँग कतै यात्रा गर्न सक्दैनथे । फ्यानहरूले घेर्थे । बाहिर सुटिङमा जाँदा पनि दर्शकहरू टिफिनमा बिहानको खाना, खाजा बोकेर छायांकन स्थलमा पुग्थे । अहिले त्यो माहोल छैन । कलाकारलाई हिँड्न गाह्रो छैन । सुटिङ गर्न गाह्रो छैन । कलाकारमा मेहनत र मेन्टेन छैन । सरोज भन्छन्, ‘अहिले त सुटिङ भैरहेको ठाउँ देख्दा पनि यहाँ सुटिङ भइरहेको रहेछ भनेर हिँड्छन् मान्छे ।’

नेपाली चलचित्र क्षेत्रले प्राविधिक रूपमा चाँहि निक्कै फड्को मारेको छ । चलचित्रको इतिहासलाई पल्टाएर हेर्दा सरोजले चित्त बुझाउने पाटो यही हो । भन्छन्, ‘हामीले सिनेमा खेल्दा १६ एमएममा फिल्म बनाउँथ्यौं । त्यो समय यहाँ ल्याब थिएन । क्यामरा मेनलाई बाहेक कसैलाई थाहा हुँदैनथ्यो के फिल्म बन्दैछ भन्ने कुरा । एउटा डिब्बामा बोकर फिल्म धुलाउन बम्बै पठाइन्थ्यो । धोएर ल्याएपछि अहिलेको चलचित्र विकास बोर्ड, त्यतिबेला संस्थान थियो । त्यहीको पर्दामा धमिलो दृष्य हेर्दै लिप्सिङ गर्नु पर्थ्याे । डबिङको समयमा पनि निक्कै गाह्रो हुन्थ्यो । रिटेक गर्ने चान्स नै हुँदैनथ्यो । एक टेकमै काम तमाम गर्नुपर्थ्याे ।’ 

अहिले प्रविधिले फड्को मार्‍याे । तुरुन्तै खिच्यो । हेर्‍याे । हजार पटक रिटेक गर्‍याे । हजार चोटि खिच्यो हजार चोटि मेट्यो । आफूलाई चित्त बुझेको सिन राख्यो । चलचित्रमा राम्रो विकास भएको पक्ष यही हो । जसले गर्दा अहिलेका कलाकारले मेहनत नगर्ने सरोजको बुझाइ छ । पहिला यो सबै सुविधा थिएन । कलाकार चुनौतीका साथ काम गर्थे । भन्छन्, ‘विकाससँगै विनाश पनि आयो ।’ 

प्रविधिले फड्को मार्‍‍याे । कला क्षेत्र र कलाकारलाई हेर्ने मानिसको दृष्टिकोण परिवर्तन भयो । धेरै कुरा आए, गए । तर यो क्षेत्र उद्योगका रूपमा विकास हुन अझै सकेन । ३० वर्ष अघि बामे सर्दै गरेको सिने उद्योग अहिले पनि बामे सर्दैछ । आफ्नो क्षेत्र उद्योगका रूपमा स्थापित हुन नसक्दा सरोजको मन चिमोटिरहन्छ ।   
 

  • प्रकाशित मिति : असोज ११, २०७८ साेमबार ८:३५:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया