विश्वप्रकाश, गगन र प्रदीपको दाबेदारीपछि जसको चर्चा सेलायो...

नेपाली कांग्रेसको महामन्त्री पदमा युवा नेताहरू गगनकुमार थापा र विश्वप्रकाश शर्माको उम्मेदवारी घोषणा भइसकेको छ भने नेता प्रदीप पौडेलको बाँकी छ ।
पौडेलले चाँडै उम्मेदवारी घोषणा हुने बताउँदै आएका छन् । तर, कहिले भन्ने टुंगो छैन ।

यी नेताहरूको महामन्त्री पदमा दाबेदारी रहँदा अन्य नेताहरूको भने चर्चा सेलाएको छ ।

जसलाई अर्थपूर्ण रूपमा हेरिएको छ । कतिपयलाई त महामन्त्री पदको दाबेदारीमा यी नेताहरू अघि सर्दा अन्य नेताहरू ‘रिङ आउट’ भएको लागेको छ ।
यसअघि महामन्त्रीमा दाबी गरेका यी नेताहरु कांग्रेसमा मात्रै होइन, राष्ट्रिय राजनीतिमा पनि प्रभावशाली मानिन्छन् । 

उनीहरू हुन्,– सहमहामन्त्री डा.प्रकाशशरण महत, गृहमन्त्री बालकृष्ण खाँण, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की, डा.मिनेन्द्र रिजाल, धनराज गुरुङ, एनपी साउद, रमेश लेखक, डा.चन्द्र भण्डारी, गुरु घिमिरे र बद्री पाण्डे । 

यी नेताहरूको कांग्रेसको आन्तरिक राजनीतिमा दबदबा छ । उनीहरू कांग्रेसमा तेस्रो पुस्ताका नेताहरू भनेर चिनिन्छन् । 

त्यही भएर महामन्त्री पदमा उनीहरूको दाबेदारी स्वाभाविक मानिन्छ । अस्वाभाविक चाहिँ उक्त पदमा उम्मेदवारी घोषणा नहुनु र त्यसबारे चर्चा सेलाउनु हो ।



महामन्त्रीमा दाबेदारी रहेको भन्दै आएका मध्येका एक जना केन्द्रीय सदस्य धनराज गुरुङ अरु नेताहरूको उम्मेदवारी घोषणाले ‘रिङ आउट’ नभएको बताउँछन् ।
केही दिनमै उम्मेदवारी घोषणा हुने बताए ।

‘मैले भन्दै आएको छु, मेरो उम्मेदवारी महामन्त्री पदमै हुन्छ, तलमाथि हुँदैन र मेरो उम्मेदवारी केही दिनमा हुन्छ’, नेता गुरुङले फरकधारसँग भने, ‘अरु कुनै नेताले उम्मेदवारी घोषणा गर्दैमा मैले पछि हट्नुपर्ने भन्ने छैन । पार्टीको आन्तरिक चुनाव हो । उम्मेदवारी घोषणा गर्ने त भइहाल्छ ।’



महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका शर्मा, थापा र पौडेल कम आँक्न नमिल्ने नेताहरू हुन् । शर्माले त संविधान दिवसका दिन ३ असोजमा २४ बुँदे अवधारणा नै प्रस्तुत गरिसके ।
शर्मा, देउवालाई हालै छाडेका प्रभावशालीमध्येका एक नेता विमलेन्द्र निधि निकट रहेको चर्चा छ । निधिले सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छन् । र, निधिसँगै शर्मालाई कांग्रेसको संगठनमा पकड भएका नेताको रूपमा हेरिन्छ । उनलाई महामन्त्री पदका बलियो उम्मेदवार भनिँदै आएको छ ।

महामन्त्री पदमै उम्मेदवारी घोषणा गरेका अर्का नेता गगन थापा भने संस्थापनइतरकै नेता डा.शेखर कोइराला निकट मानिन्छन् । यसअघि उनी पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षमा थिए। 

पार्टीको १३ औं महाधिवेशनमा सिटौला पक्षबाट उनी महामन्त्रीमा उम्मेदवार भएका थिए । १४ औं महाधिवेशनको सम्मुखमा गुट परिवर्तन गरेर डा.शेखर निकट पुगेका उनलाई महामन्त्री पदका शक्तिशाली उम्मेदवारको रूपमा हेरिँदै आएको छ ।

उम्मेदवारी घोषणा गर्ने तयारीमा रहेका नेता पौडेल पनि पार्टीका प्रभावशाली युवा नेता हुन् । उनलाई पनि बलियो उम्मेदवारको रूपमा हेर्ने गरिन्छ । उनी भने पूर्वमहामन्त्री सिटौला पक्षमै छन् । सोही पक्षबाट उनको उम्मेदवारी हुने ठानिएको छ । 

यस्तो अवस्था छँदा पहिले सभापति पदमा समेत दाबेदारी रहने भन्ने केन्द्रीय सदस्य डा.चन्द्र भण्डारीको त महामन्त्री पदमै उम्मेदवारी हुन्छ कि हुँदैन ? स्पष्ट छैन । 

भण्डारी मात्रै होइन, तीन नेता दाबेदार रहँदा केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालको पनि चर्चा सेलाएको छ । यद्यपि, उनले आफू रहेको टिमबाट सभापति पदमा उम्मेदवारी घोषणापछि उम्मेदवारी घोषणा गर्ने बताए ।

‘सभापति पदमा हाम्रो टिम (वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष) बाट उम्मेदवारी घोषणा भएको छैन । होस् न पहिले । त्यसपछि महामन्त्री पदमा उम्मेदवारी घोषणा हुन्छ’, डा. रिजालले भने ।

कांग्रेसमा महामन्त्री सभापति पछिको शक्तिशाली पद हो । विधानमा दुई महामन्त्रीको व्यवस्था छ । दुवै महामन्त्री प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित भएर आउने हुन् । 
यसअघि एक प्रत्यक्ष र एक महामन्त्री मनोनित हुने व्यवस्था थियो । तर, संशोधित विधानमा उक्त व्यवस्था हटाइएको छ । जसका कारण निर्वाचित भएरै आउनुपर्ने भएको हो ।
यसरी निर्वाचित भएर आउनुपर्ने भएपछि कतिपयले भने ‘बार्गेनिङ’का लागि मात्रै दाबेदारी प्रस्तुत गरेको रूपमा पनि लिएका छन् ।

यसलाई महामन्त्री पदमा पहिले उम्मेदवारी रहने भनेका तर हाल सहमहामन्त्री पदमा उम्मेदवारी दिने तयारी गरेका नेता बद्री पाण्डे अस्वीकार गर्छन् ।

भन्छन्, ‘बार्गेनिङ’ गरेर शक्ति सञ्चय गर्न भनिएको होइन, मेरो उम्मेदवारी सहमहामन्त्री पदमा हुन्छ ।’ ८ सहमहामन्त्रीमध्ये पिछडिएको क्षेत्रबाट उनी उनी उम्मेदवार बन्ने तयारीमा छन् । 

पार्टीमा हाल सहमहामन्त्री रहेका डा.प्रकाशशरण महतले भने महामन्त्री पदमै उम्मेदवारी हुने बताए । केही नेताहरूको उम्मेदवारी घोषणाले आफू पछि नहट्ने बताए ।
उनका अनुसार समय आएपछि उम्मेदवारी घोषणा हुने छ । महत भन्छन् , ‘महामन्त्रीमा उठ्छन् भनेर पार्टीका नेता कार्यकर्ताहरूलाई थाहै छ, त्यही भएर उम्मेदवारी घोषणामा हतार छैन, कुनै नेताको उम्मेदवारी घोषणा हुनु स्वाभाविक हो, त्यसले मलाई उम्मेदवारी घोषणा गर्न असर गर्दैन।’ 

कांग्रेस महमन्त्री पदमा सबैभन्दा पहिले उम्मेदवारी घोषणा नेता गगन थापाले गरेका हुन् । १४ भदौमा उनको उम्मेदवारी घोषणा भएको हो । त्यसको ठीक १० दिनपछि अर्थात् २४ भदौमा प्रवक्तासमेत रहेका शर्माले उम्मेदवारी घोषणा गरे । 

महामन्त्री पद चाहने नेताहरूको पृष्ठभूमि नेविसंघ

अधिकांश कांग्रेस नेताहरू पार्टी राजनीतिमा आएकै २०२७ मा स्थापित नेपाल विद्यार्थी (नेवि) संघबाट हो । वर्तमान सभापति शेरबहादुर देउवा नेविसंघका दोस्रो अध्यक्ष हुन् । 

हाल महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका र उम्मेदवारी रहने भनिए पनि चर्चा भने सेलाएका नेताहरू नेविसंघबाटै आएका हुन् । 

जसमध्ये कानूनमन्त्रीसमेत रहेका ज्ञानेन्द्रबहादुर कार्की नेविसंघको तदर्थ समितिका अध्यक्ष २०३९ मा भएका थिए ।

पाँचौं महाधिवेशन (२०४४) बाट बालकृष्ण खाण, छैठौं महाधिवेशन (२०४८) बाट एनपी साउद, तदर्थ समिति (२०५३) बाट धनराज गुरुङ, आठौं महाधिवेशनबाट विश्वप्रकाश शर्मा, नवौं महाधिवेशनबाट गुरुराज घिमिरे र १० औं महाधिवेशनबाट प्रदीप पौडेल अध्यक्ष भएका थिए । गगन थापा पनि नेविसंघका महामन्त्री भइसकेका नेता हुन् । 

नेताहरू रमेश लेखक, डा.चन्द्र भण्डारीलगायत पनि नेविसंघबाटै आएका हुन् । 

यसरी नेविसंघबाटै पार्टीको राजनीतिमा आएकामध्ये शर्मा, थापा र पौडेलले महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्दा अन्य नेताहरू भने चुपचाप छन् । 
 

  • प्रकाशित मिति : असोज ११, २०७८ साेमबार १०:४९:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया