प्रतिस्थापन बजेट कार्यान्वयनका विषयमा उच्चस्तरीय छलफल

प्रतिस्थापन बजेट कार्यान्वयनका विषयमा मन्त्रालयका सचिवबीच उच्चस्तरीय छलफल भएको छ । सोमबार अर्थ मन्त्रालयमा आयोजित बैठकमा प्रतिस्थापन बजेटमा राखिएका नयाँ कार्यक्रम तथा अघिल्लो बजेटका निरन्तरताका आयोजनाहरुको प्रभावकारी कार्यान्वयन गर्ने विषयमा छलफल भएको हो ।

बजेटमा विकासका आयोजना कार्यान्वयन गरी पुँजीगत खर्च बढाउन मासिक कार्य प्रतिशत निर्धारण गर्ने, कार्यविधि तयार गर्नुपर्ने विषयमा तत्काल कार्य सम्पन्न गर्ने, अन्तरमन्त्रालय समन्वय गरी निर्णय गर्नुपर्ने विषयलाई यथाशीघ्र अघि बढाउनेलगायत निर्णय भएको छ । 

कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले आ–आफ्नो  जिम्मामा परेका कामहरुको सूची तयार गरी मासिक कार्य प्रतिशतका आधारमा तत्काल कार्यान्वयन कार्ययोजना बनाउन सचिवहरुलाई निर्देशन दिए । बजेट कार्यान्वयन र पुँजीगत खर्चका सम्बन्धमा अर्थ मन्त्रालयबाट सम्पादन हुने कार्यमा कुनै ढिलाइ नहुने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।  मन्त्री शर्माले अर्थ मन्त्रालयमा आएका कार्यविधि निर्माणसम्बन्धी पुराना फाइल ७ दिनभित्र र अब प्राप्त हुने नयाँ फाइल ३ दिनभित्र टुंगो लगाउने गरी तीव्र गतिमा काम गर्न निर्देशन दिए । 

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले प्रतिस्थापन बजेटले निर्धारण गरेको ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष हासिल गर्न सबै मन्त्रालयहरुले धेरै नै मिहिनेत गर्नुपर्ने बताए । अर्थसचिव मधुकुमार मरासिनीले गठबन्धन सरकारको न्यूनतम साझा नीति कार्यक्रमअनुसार आएको प्रतिस्थापन बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन मासिक कार्ययोजना बनाएर तत्काल काम थाल्नुपर्नेमा जोड दिए । 





  • प्रकाशित मिति : असोज ११, २०७८ साेमबार १७:४०:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया