मोटरसाइकलमा कर छुटको माग गर्दै प्रदेश २ की सांसद यादवले दिइन् निवेदन

प्रदेश २ की एक प्रदेशसभा सदस्यले मोटरसाइकलमा कर छुटको माग गर्दै यातायात कार्यालयलाई निवेदन लेखेकी छन् । 

नेकपा माओवादी केन्द्रको समानुपातिक कोटातर्फबाट प्रदेशसभामा मनोनीत सप्तरीकी सांसद प्रमिलाकुमारी यादवले स्वकीय सचिव समेत रहेका आफ्ना पति अशोककुमार यादवको मोटरसाइकलमा कर छुट गरिदिन माग गर्दै सिरहास्थित यातायात कार्यालय लहानलाई पत्र लेखेकी हुन् । 

सांसद यादवले आफ्ना पति अशोक चढ्ने स३प ८८४८ नम्बरको मोटरसाइकलको २०७८ सालको कर छुट गरिदिन यातायात कार्यालयलाई सांसदको लेटरप्याडमा निवेदन लेखेकी छन् ।

सो निवेदन लिएर सोमबार अशोक यातायात कार्यालय लहान पुगेका थिए । यातायात कार्यालय लहानले कर छुट गर्न नमिल्ने भन्दै उनलाई त्यहाँबाट फर्काएका थियो ।  

कार्यालय प्रमुख मीन भट्टराईले अर्थमन्त्री आए पनि कर छुट गर्न नसकिने प्रतिक्रिया दिए । उनले कर छुटका लागि मन्त्रीस्तरकै निर्णय हुनुपर्ने कुरा उनलाई सम्झाएर फिर्ता पठाइएको बताए । 

कर छुट नभएपछि अशोकले करबापतको रकम कार्यालयलाई तिरेको भट्टराईले बताए । सांसद यादव सप्तरीमा धनाढ्यहरुको लिस्टमा पर्छन् । 



यस सम्बन्धमा सांसद यादवले आफूलाई कुनै जानकारी नरहेको प्रतिक्रिया दिइन् । उनले आफ्ना पतिलाई कसैले उक्साएर लेटरप्याड प्रयोग गर्न सुझाब दिएको हुनसक्ने आशंका व्यक्त गरिन् ।



  • प्रकाशित मिति : असोज ११, २०७८ साेमबार १७:५०:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया