धनगढी सुत्केरी मृत्यु प्रकरण : दुई दिनदेखि शव अस्पतालमै, शिशुको अवस्था सकुशल

धनगढीकी २६ वर्षीय कल्पना सिंह मल्ललाई शनिबार बिहान सुत्केरी ब्यथा सुरु भयो । धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सार रोड बस्ने उनी आफन्तसँग अटोरिक्सामा करिब ५ सय मिटर टाढा रहेको अस्पताल नवजीवनमा पुगिन् । बिहानको १० बजे अस्पताल पुर्याइएकी कल्पना ब्यथाले च्यापेर दिनभर अस्पतालको शय्यामा रोई–कराई गरिन् । शनिबार राति ११ बजेर ४४ मिनेटमा भ्याकुम प्रयोग गरेर उनको गर्भम रहेको शिशु निकालियो । 

यति हुँदासम्म उपचारमा संलग्न चिकित्सकले कल्पनाको आफन्तलाई कुनै पनि जानकारी दिएनन् । ‘दिनभर बेडमा रोई–कराई गरेको सुत्केरीको अवस्थाका बारेमा आफन्तलाई कुनै जानकारी दिइएन,’ कल्पनाका ससुरा नाता पर्ने शेरबहादुर मल्लले भने । ‘भ्याकुम प्रयोग गर्दासम्म आफन्तलाई जानकारी नदिनु भनेको नै चिकित्सको लापरबाही हो ।’ 

जसोतसो गरी शिशुको जन्म हुँदा आफन्तमा खुसी छायो । तर, त्यो खुसीलाई तत्कालै अर्को दुःखको खबरले छोप्यो– सुत्केरीको मृत्यु । उपचारमा संलग्न चिकित्सकले भ्याकुमबाट बच्चा जन्मिसकेपछि निरन्तर रक्तस्राव भएको भन्दै ‘ए नेगिटिभ’ ग्रुपको रगत ल्याउन रातिको २ बजे आफन्तलाई खबर गरे । 

कमै मात्रामा पाइने ‘ए नेगिटिभ’ ग्रुपको रगत खोज्न आफन्तलाई हम्मेहम्मे भयो । ‘राति नै नेपाल रेडक्रसमा नेम लिस्ट हेर्दै ‘ए नेगिटिभ’ ग्रुपको मान्छे खोजेर हसनपुर र फुलाबारीबाट मान्छे लिएर अस्पताल पुर्यायौँ,’ शेरबहादुरले भने, ‘बिहानसम्म त हामीले ७ पिन्ट रगत जम्मा गरिसकेका थियौँ ।’ 

आइतबार बिहान ५ बजेसम्म पटक–पटक बिरामीको अवस्थाबारे चिकित्सकलाई सोध्दा उनीहरुले सामान्य छ भन्ने जवाफ मात्र दिएको उनले बताए । ‘बिहानको ५ बजे सुत्केरीको अवस्था सामान्य भएको भन्दै चेकजाँच गरी चिकित्सक घरतिर लागे’, उनले भने, ‘७ बजे चिकित्सक पुनः अस्पतालमा आउँदा जबर्जस्ती भित्र जाँदा हजुर मैले बचाउन सकिनँ भने ।’ 

यसपछि उनका आफन्त छाँगाबाट खसेजस्तै भए । अस्पतालमा भिडभाड जम्मा हुँदै गयो । त्यसपछि दिनभर अस्पतालमा तनावग्रस्त भयो । दिउँसो ३ बजेपछि अस्पतालले हदैसम्मको प्रयास गर्दा पनि बचाउन नसकेको विज्ञप्ति जारी गर्यो ।



गर्भवती भएदेखि नै डा. जयराम केसीको परामर्शमा रहँदै आएको भए पनि अन्तिम समयमा आएर उपचारमा लापरबाही गरेको मृतकका देवर दीपेन्द्र मल्लको भनाइ छ । ‘१५ दिन अगाडि मात्र नवजीवन अस्पतालमा डा. केसीसँग गर्भवतीको परीक्षण गराएको थियो’, उनले भने, ‘तर आज चिकित्सकको लापरबाहीले गर्दा नै यस्तो भयो ।’ 

महिनौँअघिदेखि चेकजाँच गर्दै आएका डाक्टरले बिरामीको अवस्था थाहा नपाउनु लापरबाहीको पारकाष्ठा रहेको उनको तर्क छ । बिरामी स्वयंले अप्रेसनका लागि अनुरोध गर्दा पनि चिकित्सकको ढिपीले भ्याकुम लगाइएको उनको आरोप छ ।



आफन्तले घटनाको छानबिन र दोषीलाई कारबाहीको माग राख्दै माग सम्बोधन नभएसम्म मृतकको शव नउठाउने अडान लिएका छन् । सोमबार दिनभर जिल्ला प्रशासन कार्यलय कैलालीमा बस्दा पनि सहमति हुन सकेन । अस्पतालाई सुरक्षाको घेरामा राखिएको छ ।  कल्पनाले जन्म दिएको बच्चालाई भने एनआइसियूमा राखिएको छ ।

नवजीवन अस्पतालको स्त्री विशेषज्ञ डाक्टर जयराज केसीका अनुसार सुत्केरी मल्लको उच्च रक्तस्रावपछि मृत्यु भएको हो । अस्पतालका विशेषज्ञ चिकित्सले हरप्रयास गर्दा पनि सुत्केरी महिलालाई बचाउन नसकिएको अस्पतालले जनाएको छ ।

सुत्केरी मल्लको पाठेघरको मुख नरम मात्रै भएर एक घर खुलेको र औषधिले अर्को घर खुलाइएको अस्पतालले उल्लेख गरेको छ । त्यसपछि बच्चाको धड्कन कम हुँदै गएको र आमामा बच्चा जन्माउने बल नपुगेपछि भ्याकुम प्रयोग गरेर ११ बजेर ४४ मा डेलिभरी गराइएको जनाइएको छ । 

त्यसक्रममा पाठेघरको मुख फराकिलो बनाउन इपिसियोटोमी एक्सटेन्डेड टियर दिइएको अस्पतालले जनाएको छ ।

इपिसियोटोमी एक्सटेन्डेड टियरलाई सिलाउन प्रयास गर्दा उनले असहज महसुस गरेपछि एनेस्थेसियालाई बोलाएर टाँका सिलाउने काम गरिएको, तर अत्यधिक रक्तस्रावका कारण बिरामीलाई कार्डियाक एरेस्ट भएर मृत्यु भएको दाबी अस्पतालको छ ।

चिकित्सकहरूले कुनै लापरबाही नगरेको भन्दै अस्पतालले आइतबार स्पष्टीकरण दिइसकेको छ । 
 

  • प्रकाशित मिति : असोज ११, २०७८ साेमबार १९:३:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया