कालिञ्चोक गाई फार्मको नाममा स्थानीयको जग्गा कति छ ?

दक्षिण एसियाकै नमुना गाई फार्म दोलखाको बोचमा निर्माण हुने भएपछि स्थानीयमा छुटै उत्साह थियो । विदेश पलायन हुने युवाहरूका लागि गाउँमै गाई फार्मले रोजगार दिने भएपछि छुट्टै खुसी थियो । 

आफ्नै गाउँमा एसियाकै नमुना गाई फार्म निर्माण हुने भएपछि धेरैले बोचका स्थानीयको आर्थिक प्रगतिसँगै जीवनस्तरमा परिवर्तन आउने अपेक्षा थियो । सरकारले पनि यो योजना नमुना हुने भन्दै विभिन्न प्रचारबाजीसमेत गरेका थिए । 

जहाँ नेदरल्याण्डबाट ६ सय गाई पालिने वृहत योजना थियो । तर, त्यो हो हल्लामा नै हरायो । यसपछि कालिञ्चोक गाई फार्म एण्ड रिसर्च सेन्टरमा चीन सरकारले प्राविधिक सहयोगदेखि गाई हाल्ने सम्मको योजना बाँडेका थिए । यो योजना सुनेपछि स्थानीयबासी निजी जग्गा गाई फार्मलाई दिन सहमत भएको स्थानीय कुमार लामा बताउँछन् ।  

कालिञ्चोक गाई फार्मका मुख्य सञ्चालक रामकुमार खड्काले बोचका स्थानीय राजनीतिक दलका प्रतिनिधि, जिल्ला वनका सह–अधिकृत रामकृष्ण केसी, सामुदायिक वनका प्रतिनिधिको टोलीले स्थानीयलाई छलफलमा बोलाएर जग्गा दिन अनुरोध गरेका थिए ।  

गाई फार्मका सञ्चालक खड्काले स्थानीयलाई पहिलो चरणमा रोजगार, अर्थतन्त्र लगायत विभिन्न अवसरको विषयमा स्थानीयलाई मोहित पारेका थिए । खड्काले स्थानीयलाई खसी काटेर भोज खुवाउँदै जग्गा पास अभियान थालेको ताराबहादुर तामाङको भनाइ छ ।

स्थानीयको जग्गा कालिञ्चोक गाई फार्मको नाममा बनाउने यो पहिलो शृङ्खला हो । गाई फार्म सञ्चालक खड्काले २०६६ सालबाट जग्गा लिन सुरु गरिएको पाइन्छ । 
जिल्ला मालपोत कार्यालय दोलखाको तथ्यांकअनुसार २०६६ साउन ९ गतेदेखि स्थानीयको जग्गा कालिञ्चोक गाई फार्मको नाममा दर्ता प्रक्रिया सुरु भएको देखिन्छ ।



बोचका स्थानीय पासाङ तामाङ र अक्कल तामाङले २०६६ साउन १३ गते ३८५ र ६८४ र ३९८ कित्ताको जग्गा पहिलोपटक गाई फार्मको नाममा दिएको देखिन्छ । यसपछि २०६६ भदौ ४ गते पुनः पासाङ तामाङकै जग्गा पास गरिएको दखिन्छ । 

सोही दिन चन्द्र तामाङ र मकरे तामाङको नाममा भएको जग्गा कालिञ्चोक गाई फार्मको नाममा पास गरिएको जिल्ला मालपोतको ढड्डा रहेको छ । उनीहरूले यो जग्गा कालिञ्चोक गाई फार्मलाई रोजगार र शेयर पाउने आशामा निःशुल्क दिएका थिए । 



यस्तै स्थानीय प्रेमबहादुर लामा, देवबहादुर  तामाङ, नरबहादुर लामा, इन्द्रबहादुर तामाङ, विष्णुबहादुर तामाङ, माया तामाङ, छिरिङ लामा, संगीता लामाको जग्गा गाई फार्मको नाममा पास गरिएको देखिन्छ ।  

यसपछि क्रमशः २०६६ भदौ २८ गते र २०६७ वैशाख २३ र २४ गते जग्गा पास गरिएको देखिन्छ । यस्तै २०६७ पुस १८ र अन्तिम पटक २०६९ असोज १५ गते कालिञ्चोक गाई फार्मको नाममा स्थानीयको निजी जग्गा पास गरिएको छ ।  

जिल्ला मालपोत कार्यालय दोलखाका अनुसार कालिञ्चोक गाई फार्मको नाममा दुई सय रोपनी जग्गा छ ।  

यसरी स्थानीयको जग्गा कालिञ्चोक गाई फार्म एण्ड रिसर्च सेन्टरले लिएको १२ वर्ष भइसकेको छ । तर, अहिलेसम्म गाई फार्ममा गाई ल्याएको छैन । कालिञ्चोक गाई फार्मको नाममा आलु उत्पादन, बाख्रा पालन र कुकुर मात्रै पालिरहेको छ । 

सञ्चालक खड्काले भने आफूले रोपनीको ७ हजारका दरले जग्गा किनेको जिकिर गरेका छन् । यद्यपि उनले कति रुपैयाँले जग्गा किनेको भन्ने खड्कासँग पनि कुनै प्रमाण छैन । स्थानीयले भने जग्गाको लालपूर्जा नै खड्कालाई बुझाएको बताएका छन् । पछिल्लो समय स्थानीयले आफ्नो जग्गा फिर्ता दिनु पर्ने माग राख्दै आएका छन् ।

सञ्चालक खड्काले अहिले नै गाई पाल्ने अवस्था नरहेको बताउँदै आएका छन् ।  उनले अहिले गाईका लागि घाँस रोप्ने काम भइरहेको बताए । 

‘मैले जग्गा किनेको हो । केहीको बाँकी छ । जग्गा भएकाहरूको शेयर दिनका लागि तयारी थालिएको छ’, उनले भने, ‘चित्त नबुझेकाहरुले मेरो विरोध गर्छन् ।’

यो पनि‍‍...

कालिञ्चोक गाई फार्म : दुई वर्षको सम्झौता १२ वर्ष नाघ्दा पनि लागू भएन, यस्ता थिए निर्णय

नेताहरुको स्वार्थ नमिल्दा चार करोड रुपैयाँ फ्रिज, कालिञ्चोक गाई फार्म अलपत्र

१५ करोडको कालिञ्चोक गाई फार्म १० वर्षदेखि अलपत्र, स्थानीयलाई झुक्याएर जग्गा मात्रै लिइयो

कालिञ्चोक गाई फार्मका प्रमुख खड्काले उपसेनानीलाई अध्यक्ष बनाएर २० लाख लिएपछि...


 

  • प्रकाशित मिति : असोज १२, २०७८ मंगलबार ८:१९:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया