छानविन समितिको प्रतिवेदन नआउँदै उड्यो बुद्ध एयरको जहाज

सोमबार बुद्ध एयरको ९ एन–एएनआइ कलसाइनको जहाज अवतरणमा (पछिल्लो गियर) समस्या भएपछि करिब दुई घण्टा आकाशमा होल्ड गर्नु पर्‍यो।

विराटनगर उडेको जहाज प्राविधिक समस्या भएपछि त्रिभुवन विमानस्थलमा ठूलो त्रास फैलियो । यद्यपि क्याप्टेन आङगेलु शेर्पाले सुरक्षित अवतर गराए । यसले नेपालको उडान इतिहासमा ठूलो दुर्घटनाबाट बचाए।

यसरी ७७ जनाको सुरक्षित रुपमा अवतरण गरिएको जहाजले २४ घण्टा नहुँदै पुनः उडान भरेको छ। यो जहाजले मंगलबार बिहानैदेखि नियमित उडान सुरु गरेको छ ।

तर, यो घटना अनुसन्धानका लागि वरिष्ठ क्याप्टेन दधिराम निरौला र इन्जिनियर रितेश पन्तको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो । सो समितिले बुद्ध एयर घटनाको विषयमा प्रतिवेदन भने बुझाएको छैन । यसरी प्रतिवेदन नआउँदै उडान अनुमति दिनु गैरजिम्मेवारी भएको जानकाररू बताउँछन् । 

यता नागरिक उड्यन प्राधिकरणका निमित्त महानिर्देशक राजकुमार क्षेत्रीले भने सबै प्रक्रिया पूरा गरेर उडान अनुमति दिएको जानकारी दिए ।


‘सोमबारराति ८ बजेसम्म जहाजको सबै पाठपूर्जा चेक गरियो । सबै प्रक्रियासहित रिक्वाएरमेन्ट फुलफिल भएपछि उडान अनुमति दिएको हो’, निमित्त महानिर्देशक क्षेत्रीले भने, ‘अहिले भर्खरै पनि सेफ्टिको इन्जिनियर र बुद्ध एयरका प्रतिनिधिसँग छलफल गरेका छौं । यो विषयलाई धेरै नउचालौं ।’
 
तर, अहिलेसम्म खास जहाजको खराबी के थियो भन्ने प्रतिवेदन आएको छैन । बुद्ध एयरले मानवीय संवेदनाभन्दा पनि व्यवसायिक ढंगले उडान गरिरहेको जानकारहरूको टिप्पणी छ । 



बुद्ध एयरका कर्पोरेट प्रतिनिधि रुपेश जोशीले जहाजमा कुनै खराबी नदेखिएपछि उडान अनुमति मागेर मंगलबार उडान भरेको जानकारी दिए । 

‘बुद्ध एयर घटनाको विषयमा छानविन समितिको प्रतिवेदन तीन दिनभित्र आउँछ । जब जहाज ठीक छ भने ग्राउन्डेट गर्न सकिदैन’, उनले भने, ‘इन्जिनियरहरुको टिमले अध्ययन गरेरै उडान अनुमति पाएको हो।सबै नर्मल छ ।’ 
अहिले सो जहाजले सिमरा, पोखरा र विराटनगर उडान गरिसकेको जोशीको भनाई छ ।



  • प्रकाशित मिति : असोज १२, २०७८ मंगलबार १३:२:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया