आनी बनेपछि विलीन हुँदै गएका जीवनका आहा र सुन्दरताहरू !
फरकधार / १२ असोज, २०७८

समाज, परिवार र संस्कारप्रति धारणा बनाउने उमेर । हरेक चिज देख्दा प्रश्न गर्ने जिज्ञासु आँखा । आँखा वरिपरी देखिने आमाको शरीरका नीलडाम । एउटी बच्चीको मनमा विष बनेर फैलिन्छ । यही विषले समाजसँग मुक्ति खोज्छ । आफ्नै बा–आमाबाट मुक्ति खोज्छ, परिवारबाट मुक्तिको चाहना राख्छ ।



मुक्तिको त्यही उत्कट चाहनाले १० वर्षको उमेरमा बौद्ध गुम्बाको बाटोतिर डोर्याउँछ । त्यही बाटो हिँड्दाहिँड्दै छोइङ डोल्मा (आनी छोइङ डोल्मा)  बौद्ध भिक्षुणी बन्न पुगिन् । 

आमामाथि भएको घरेलु हिंसा । आमासँगै आफूले खाएको बाबुको असहनीय थप्पड । छोरीलाई पढाएर के हुन्छ, किन पढाउनु भन्ने समाज । त्यही मानसिकताबाट गुज्रिरहेको परिवार । हरेक साँझ रक्सी खाएर घरभित्र पस्ने बाबु । त्यसपछिको रडाको । त्यही रडाकोले जन्मायो परिवारप्रति वितृष्णा । उनलाई लाग्यो ‘जीवनमा गर्नै नहुने काम भनेको विवाह हो । बिहे गर्‍यो भने दुःख पाइन्छ । लोग्नेले यातना दिन्छ ।’ त्यही डरसँग डराउँदै भाग्ने क्रममा आनीले १० वर्षको उमेरमा घर छोड्ने निधो गरिन् । मनमनै संकल्प गरिन् । 



त्यही समय उनको घर नजिकैको गुम्बामा एकजना ठूला गुरु आएका थिए । उनै गुरुको शरणमा गएर उनले भनिन्– ‘म आनी बन्छु, मलाई शरणमा लिनुहोस् ।’ तर, उनले घर छोडेर गुम्बामा जान १३ वर्षको उमेरसम्म पाइनन् । जीवनप्रतिको मोहभंग, आफूले चाहेको ठाउँमा जान नपाउँदा आनीमा विद्रोही स्वभाव विकसित हुँदै गयो । जति पिटे पनि रुँदैनथिन् । जति गाली गर्दा पनि काम नगर्ने गर्न थालिन् । अन्ततः उनका आमा–बुवा थाके । उनीहरुले काकाको साथ लगाएर शिवपुरी डाँडाको गुम्बामा पुर्‍याइदिए । त्यसपछि सुरु भयो छोइङ डोल्माको ‘आनी’ जिन्दगी । 



घर, आमाको काख, सँगै खेल्दै गरेका साथी छोडेर रमाउँदै उफ्रने उमेरकी आनीले घर त्याग्ने निर्णय गर्नु सहज कहाँ थियो र ! निकै ठूलो साहस थियो त्यो । त्यो भन्दा ठूलो कुरा थियो– आनी जीवनका शिल पालना गर्न । तर, आनीका लागि त्यो कार्यले स्वर्गको महसुस गराइरहेको थियो । गुरुको करुणामय वाणीसँगै सुरु हुन्थ्यो उनको दिनचर्या । त्यहाँ उनलाई कसैले पिट्दैनथ्यो । दिनभरि भाइलाई ढाडमा बोकेर हिँड्नु पर्ने बाध्यता थिएन । बिहान सखारै उठेर घरायसी काममा जोतिनु पर्दैनथ्यो । अहो ! त्यो जति गरे पनि जस नपाइने संसारका दुःख छुटेको पल ! त्यो भन्दा ठूलो खुसी के हुन्थ्यो एउटा कलिलो उमेरको मानिसको दिमागमा । 

दुःखबाट मुक्ति खोज्न हिँडेकी छोइङ डोल्माको मनमा आफ्ना बुवाप्रति धेरै रिस थियो । आक्रोश थियो । घृणा थियो । बाबुप्रतिको त्यो घृणा लामो समयसम्म रह्यो । गुम्बामा बस्दै जाने क्रममा त्यहाँको वातावरण, त्यहाँ हुने प्रवचन र शिक्षाले विस्तारै मन परिवर्तन गर्दै लग्यो ।

आनी भन्छिन्, ‘जीवन बुझ्न थालेपछि मेरो बुवासँग प्रेम बस्यो । बुवा पनि मेरो बच्चा जस्तो भैदिनु भयो । म हरेक पटक घर जाँदा बुवालाई के मन पर्छ भन्दै खोजेर लगिदिन्थे । बुवा खुसी हुनुहुन्थ्यो । बिस्तारै घरको वातावरण पनि करुणा र ममताले भरिन थाल्यो ।’ उनका बुवाको रक्सीको लत भने जिन्दगीभर छुटेन । जीवनको अन्त्यकालमा उनका हात समातेर बुवाले भनेका थिए, ‘म भाग्यमानी रहेछु । त्यही भाग्यले मैले तिमीजस्ती छोरी पाएँ । छोरी तिमी आमा भएर मेरो जीवनमा आयौ । हाम्रो हिसाबकिताब बराबर है !’ 

गुम्बामै आनीको आधा बालापन बित्यो । तन्नेरी उमेरमा प्रवेश गरिन् । उनको शारीरिक तथा मानसिक विकास भयो । हर्मोनहरु परिवर्तन हुँदै गए । कहिलेकाहीँ विपरीत लिंगीप्रति आकर्षित हुनु स्वाभाविक थियो । उनलाई पनि तन्नेरी उमेरमा यो खालको आकर्षण भैरह्यो । आँखाको आहा ! मनको आकर्षणपछि आनी कल्पना गर्थिन्, ‘आकर्षणको यो बाटोले पुर्‍याउने कहाँ हो ? त्यही दुःखको सागरमा ! त्यही घरगृहस्थीको जीवनमा ?’ यो सबै कल्पना गरिसक्दा उनको आँखा अगाडि झलझली आउँथे आमाका दुःख । आमाले भोगेको नारकीय जीवन । अनि मनमनै भन्थिन्, ‘ओ ! नो ! नो ! मैले खोजेको दुनियाँ त्यो हैन ।’ यसैगरी बिलीन हुँदै गए जीवनका कयौं आकर्षण र आहा ! लाग्ने सुन्दरताहरु । गुरुको वात्सल्य र मार्गदर्शनबाट आनीका दिन फिर्छन् । 

बाल्यकालमा भोगाइ र देखाइले मान्छेको जीवनपर्यन्त पिछा छोड्दैन । मान्छेलाई त्यो अनुभवले एकथोकबाट अर्कोथोक बनाइदिन सक्छ । आनीलाई पनि त्यही बाल्यकालको भोगाइले एकबाट अर्को बनायो । उनी जीवनसँग स्वतन्त्रता चाहन्थिन् । संसारमा आजसम्म कसैले नपाएको स्वतन्त्रता खोज्न हिँडेकी आनीले गुम्बामा पनि देखिन् विभेदका बाछिटा । औपचारिक रूपमा स्वतन्त्रताको आकाशमा उड्न हिँडेकी उनको मनमा गुम्बाभित्रका कयौं घटनाक्रमले स्वतन्त्र हुन हिँडेकी हुँ कि स्वतन्त्रता गुमाएर कैद हुन लागेको हो भन्ने अन्तरद्वन्द्व चलिरहन्थ्यो । आनी आफैंलाई पनि आममानिसका मोहबाट मुक्त हुन सजिलो भएन । उनलाई महँगा र सुविधासम्पन्न होटलमा बस्न मन लाग्ने, राम्रो गाडी चढ्न मन लाग्ने, राम्रा जुत्ता लगाउन मन लाग्ने, आफन्तका लागि उपहार किन्न मन लाग्ने खालको मोहले बारम्बार पछ्याइरह्यो जीवनमा । 

तर, उनी त एक युद्धमा हिँडेकी योद्धा थिइन् । साना कुराले बिथोल्न सकेन उनलाई । भन्छिन्, ‘म एउटी योद्धा हुँ र मेरो हतियारको नाम हो प्रेम । प्रेम र करुणा । हो, प्रेम र करुणाले ठूलाभन्दा ठूला युद्ध जित्न सकिन्छ । तर, बन्दुक चलाउन जति सजिलो कहाँ छ र यी हतियार चलाउनु ? फेरि ड्यांग पड्काउनासाथ तुरुन्तै परिणाम पनि त आउँदैन प्रेम र करुणाबाट !’ आनीले पनि प्रेम र करुणाले आफैंलाई जितेकी छन् । आफैंलाई परिवर्तन गरेकी छन् । ‘सबैभन्दा ठूलो कुरा आफैंलाई परिवर्तन गर्नु रहेछ । आफ्नो मन शुद्ध बनाएपछि संसारका अरु कुरा यसै सुन्दर लाग्ने रहेछन् । क्षमा दिन सक्यो भने नराम्रा लागेका समय र मान्छे राम्रा लाग्दै जाने रहेछन् । उनीहरुका व्यवहारले दुखाउन छोड्दो रहेछ । अनि दुःखबाट मुक्ति मिल्दो रहेछ’, आनी भन्छिन् । 

उमेर अनुसार जीवनका प्राथमिकता फेरिँदै जाने रहेछन् । आनी कुनै उमेरमा हरेक कुराप्रति जिज्ञासा राख्थिन् । उनलाई लाग्थ्यो, ‘विदेश कस्तो होला ? ठूलाठूला महलमा गएर गरिएको किनमेलको अनुभव कस्तो होला ? मन परेको सामान सबै पाउँदा मन कति फुरुङ्ङ हुन्छ होला ?’ यस्तै कौतुहलता मनमा लिएर हिँड्ने उनी एकै पटक कयौं जोर जुत्ता किनेर फर्किन्थिन् । अहिले उनको जीवनको प्राथमिकता भनेको अरुको सेवा हो । जीवनमा आफूले प्राप्त गरेको शान्ति अरुको जीवनमा पनि मिलोस् भनेर प्रयत्न गरिरहेकी हुन्छिन् । 

जीवनको प्राथमिकता मात्रै होइन, जीवनप्रतिको दृष्टिकोण पनि परिवर्तनशील रहेछ । त्यसैले आनीसँग अहिले पनि ठ्याक्कै जीवनको परिभाषा छैन । भन्छिन्, ‘जीवनलाई खुसी बनाउनु पर्छ । हरेक मान्छेले चाहेको पनि सुखी जीवन हो । हरेक मान्छे खुसी प्राप्तिका निम्ति काम गर्छन् । सुखको दौडमा धेरैले गलत काम गरेका छन् । सुख खोज्दाखोज्दै लक्ष्य र कर्म उल्टो दिशामा बग्छ । जसको परिणाम उल्टै निस्कन्छ । जीवनमा हरेक काम गर्दा आफैंलाई आहा ! लाग्ने पो गर्नु पर्छ । सबैभन्दा ठूलो सन्तुष्टि त्यहीँ मिल्छ ।’ 

  • प्रकाशित मिति : असोज १२, २०७८ मंगलबार १६:३:१७,   अन्तिम अपडेट : असोज १३, २०७८ बुधबार ११:१२:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया