वैदेशिक मुद्रा सटहीमा राष्ट्र बैंकको कडाइ

नेपाल राष्ट्र बैंकले भारतीय बाहेकका वैदेशिक मुद्रा सटहीमा कडाइ गरेको छ । राष्ट्र बैंकले मंगलबार अधिकांश वाणिज्य बैंकका प्रतिनिधिसँग छलफल गर्दै भारु बाहेकका परिवत्र्य विदेशी मुद्रा २ सय डलरभन्दा बढी सटही नगर्न निर्देशन दिएको हो । 

राष्ट्र बैंकको बैंकिङ विभागले वाणिज्य बैंकका ट्रेजरी विभागका प्रमुखहरुसँगको छलफलमा बैंकहरुले जथाभावी विदेशी मुद्रा सटही गर्दा समस्या हुने बताउँदै  अनौचारिक रुपमा सीमा तोकिदिएको हो । 

राष्ट्र बैंकले औपचारिक व्यवस्थामा भने कुनै परिवर्तन गरेको छैन । अहिले वैदेशिक रोजगारीमा जानेलाई प्रति पासपोर्ट २०० डलर र पर्यटन भिसामा जानेलाई १५ सय डलर सटही सुविधा उपलब्ध गराउने औपचारिक व्यवस्था छ । 

अहिले धमाधम आयातसमेत बढ्दा वैदेशिक मुद्रा सञ्चितिमा कमी आउन थालेको छ । कोभिडका कारण राष्ट्र बैंक आफैले पनि बाहिरबाट डलर ल्याउन पनि समस्या भएका कारण मौज्दात जोगाउन कडाइ गरिएको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार हाल विदेशी मुद्रा सञ्चिती १३ खर्ब ५४ अर्ब ८२ करोड रुपैयाँ छ ।

मुद्रा सटही सम्बन्धी नीतिमा पनि पुनरावलोकन गर्न आवश्यक रहेको भन्दै सम्बन्धित निकायबीच कुराकानी पनि भइरहेको राष्ट्र बैंकले जनाएको छ ।
 





  • प्रकाशित मिति : असोज १३, २०७८ बुधबार १२:५३:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया