जो व्यक्ति जहाँ छ, त्यहीँबाट गणना गर्ने प्रक्रियाको उपमेयर मिश्रले जनाइन् विरोध

जनकपुरधाम उपमहानगरपालिकाकी उपप्रमुख रिता कुमारी मिश्रले गणनाको समयमा जो व्यक्ति जहाँ छ, त्यहीँबाट गणना गर्ने प्रक्रियाको विरोध जनाएकी छन्।
 
उनले समग्रमा मधेसको जनसंख्या कम देखाउन षडयन्त्र भइरहेको आरोप लगाइन् । उनले भनिन्,‘यदि मेरो घरका दुईजना सदस्य जनकपुरमा र दुईजना काठमाण्डौं अथवा विदेशमा बस्छन् भने सबैको तथ्यांक सबै ठाउँबाट संकलन नगरी एकै ठाउँबाट तथ्यांक संकलन गर्नुपर्दछ ।’

‘तराई मधेसमा अधिकांश घरबाट कम्तीमा पनि एकजना व्यक्ति विदेश गएका छन् । कसैको सन्तान अध्ययनका लागि घरबाहिर छन् । यस्तो अवस्थामा यदि जो जहाँ छन् त्यहीँबाट गणना गर्ने हो भने मधेशको जनसंख्या पक्कै पनि कम हुन्छ’,उनले भनिन् ।

भोटरलिस्टको आधारमा जनगणना हुनुपर्ने माग गर्दै उनले भनिन्,‘हामीले एकातर्फ जनसंख्याको आधारमा निर्वाचन क्षेत्र माग गरिरहेका छौं, अर्कोतर्फ हाम्रो जनसंख्या कम गर्ने षडयन्त्र भइरहेको छ । यस्तो अवस्थामा भोलिका दिनमा हामी पक्कै पनि कमजोर हुनेछौं ।’

यसपाली हुन गइरहेको १२ औं जनगणनामा देशभर अनुमानित ७० लाख परिवार, ३ करोडभन्दा बढी जनसंख्याको गणना हुनेछ । यसमा मुख्य ८० वटा प्रश्न रहनेछन् । यस राष्ट्रिय अभियानमा देशका सबै तह, तप्का, निकाय, समुदाय, परिवार, सबैखाले व्यक्तिको सहभागिता जुटाइने छ । 

मुलुकमा बसोबास गरेका सबै व्यक्तिको घरदैलोमा गणकहरू एकै समयमा पुगेर निर्धारित समयभित्र परिवारका सबैको जनसांख्यिक, सामाजिक तथा आर्थिक विवरण संकलन हुनेछन् । संकलित तथ्यांकको प्रशोधन, सारिणीकरण र प्रकाशन गरेपछि जनगणना प्रक्रिया पूरा हुन्छ । 

जनगणनाको मुख्य प्रश्नावली घरमूलीलाई सोधिनेछ । जसमा ५ वर्षमाथिकाको व्यक्तिगत विवरण नाम, थर, जात/जाति, लिंग, जन्मदर्ता, उमेर, पुर्खाको भाषा, मातृभाषा, दोस्रो भाषा, धर्म सोधिनेछ ।





  • प्रकाशित मिति : असोज १३, २०७८ बुधबार १६:४३:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया