अख्तियारको छापापछि प्रदेश २ का मुख्यमन्त्रीको प्रतिक्रिया– छापा मारेको ठिक भएन, हामी सजिलै फाइल दिन्थ्यौँ

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गलत तरिकाले आफ्नो कार्यालयमा छापा मारेको आरोप लगाएका छन् । 

‘अख्तियारले छापा मारेको तरिका ठिक भएन । जुन हिसाबले अख्तियारले छापा मार्यो त्यो फट्याइँ हो,’ अख्तियारले प्रदेश २ मुख्यमन्त्रीको कार्यालयमा छापा मारेपछि आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री राउतले भने, ‘सहज तरिकाले आएर फाइल मागेको भए हामी दिन्थ्यौँ ।’ 

उनले कम्पनी नखुलाई ‘११ करोडको १७ हजार साइकल किनिएको’ एक पत्रिकाको समाचारप्रति आपत्ति जनाउँदै उनले भने,‘नेपाल सरकारको सार्वजनिक खरिद ऐन २०६३ को परिच्छेद २ को दफा ३ मा उपदफा १ र २ बमोजिम विवरण तयार गर्दा निर्माण कार्य वा सेवाको विशेषताहरु स्पष्ट रुपमा बुझिने गरी उल्लेख गर्ने, अर्को कुनै खास ब्रान्ड, ट्रेडमार्क, नाम, पेटेन्ट, डिजाइन, प्रकार, उत्पति वा उत्पादकको नाम उल्लेख गर्न सकिने व्यवस्था नै छैन ।’

कानुनमा कम्पनीको नाम उल्लेख गर्न नपाउने स्पष्ट व्यवस्था रहेको अवस्थामा कम्पनीको नाम उल्लेख नगरेको भन्दै भ्रामक, कपोकल्पित र पूर्वाग्रही भएर केही सञ्चारमाध्यमले समाचार प्रकाशन गरेको उनको आरोप छ । उनले सार्वजनिक खरिद ऐनअनुरुप ई–बिडिङमार्फत खरिद गरिएको साइकलमा कसरी अनियमितता भयो ? भन्दै प्रमाणित गर्न चुनौतीसमेत दिएका छन् । 

‘प्रक्रियागत रुपमा अख्तियार आएको भए पनि हामी फाइल दिन्थ्यौँ । छापामार शैली अपनाइयो,’ मुख्यमन्त्री राउतले अख्तियारको छापाप्रति असन्तुष्टि जनाउँदै भने । 

उनले प्रदेश सरकार संघीयता र सुशासनका लागि प्रतिबद्ध रहेको बताउँदै सरकारलाई बदनाम गर्नका लागि साइकल वितरणसम्बन्धी भ्रामक समाचार प्रकाशित गरिएको दाबीसमेत गरे । 
‘प्रदेश सरकारको सर्वोच्च निकाय मुख्यमन्त्रीको कार्यालय जो आफैँ सुशासन कायम गर्नका लागि प्रतिबद्ध छ । आफैँले प्रदेश जनलोकपाल ल्याएको छ । संस्थाको गरिमा कायम गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको अवस्थामा अख्तियारले मुख्यमन्त्री कार्यालयमा छापामार शैलीको तरिका अपनाउनु बिल्कुलै गलत छ,’उनले भने । 



अख्तियारको यस्तो शैलीप्रति आपत्ति जनाउँदै आफूले अख्तियार प्रमुख प्रेम राईलाई समेत फोन गरेर गुनासो सुनाएको बताए । 

अख्तियार प्रमुख राईले पनि अख्तियारका कर्मचारीको तरिका ठिक नभएको कुरा आफूलाई सुनाएको उनले बताए । 



प्रदेश सरकारलाई बदनाम गर्ने गरी सरकारको ब्याकबाइटिङमा लागेका केही व्यक्तिको जालझेलमा परी षड्यन्त्रपूर्वक तरिकाले मुख्यमन्त्रीलाई बदनाम गर्न खोजिएको उनको दाबी छ । 

अख्तियारको टोलीले आज दिउँसो प्रदेश २ मुख्यमन्त्रीको कार्यालयमा छापा मारेको थियो । अख्तियार छापा मारी प्रदेश २ सरकारले छात्राहरुलाई साइकल वितरण गरेको सम्बन्धी फाइल लिएर गएको छ । 

प्रदेश २ सकारले छात्राहरुलाई वितरण गर्न खरिद गरेको साइकलमा भ्रष्टाचार भएको आरोप लागेपछि अख्तियारले छापा मारेको हो । 

साइकल वितरणमा अनियमितता भएको उजुरी परेपछि छानबिनका लागि अख्तियारको केन्द्रीय कार्यालय टंगाल र बर्दिबासस्थित कार्यालयको टोलीले मुख्यमन्त्री कार्यालयमा छापा मारेको थियो ।

टोलीले ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियानअन्तर्गत कक्षा ८ मा अध्ययन गर्ने छात्रालाई साइकल वितरण गरिएकोसम्बन्धी कागजात नियन्त्रणमा लिएर गएको हो ।

कागजात नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको अख्तियारका अनुसन्धान अधिकृत उपसचिव मेघनाथ रिमालले जानकारी दिए ।

  • प्रकाशित मिति : असोज १३, २०७८ बुधबार १७:३६:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया