सुदूरपश्चिम प्रदेश सरकारसँग कांग्रेस असन्तुष्ट, प्रदेशसभा बैठक बहिष्कार

केन्द्रमा नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार छ । कांग्रेसको नेतृत्वमा संघीय सरकार गठन भएको दुई महिना पूरा भइसक्दा सुदूरपश्चिम प्रदेशमा भने नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी दलमै यथावत् छ । 

केन्द्रमा गठबन्धन भएसँगै सुदूरपश्चिममा पनि कांग्रेस सरकारमा सहभागी हुने चर्चा थियो । केन्द्र स्तरका नेताबीच सुदूरपश्चिममा कांग्रेसको नेतृत्वमा सरकार बनाउने सहमति भएको चर्चासमेत चलेको थियो ।

अहिले कांग्रेसले प्रदेश सरकारप्रति असन्तुष्टि प्रकट गरिरहेको छ । आर्थिक वर्ष ०७८–७९ को वार्षिक बजेट तथा कार्यक्रमका विषयलाई लिएर नेपाली कांग्रेसले सांकेतिक रुपमा विरोध जनाएको छ ।

सुदूरपश्चिम प्रदेशको आठौँ अधिवेशनको २६औँ बैठक मंगलबार बसेको थियो । बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीका प्रदेश सभा सदस्यहरु सहभागी भएनन् ।

सरकारको गतिविधिका कारण कांग्रेसले सांकेतिक रुपमा विरोध जनाएको कांग्रेस संसदीय दलका प्रवक्ता डिल्लीराज पन्तले बताए । ‘सरकार र प्रतिपक्षी दलबीच साझा कार्यक्रम रातो किताबमा समेट्ने सहमति भएको थियो,’  प्रवक्ता  पन्तले भने, ‘तर, सरकारले जारी गरेको रातो किताबमा हाम्रा कार्यक्रम परेनन् ।’ 

रातो किताबमा समेटिएका कार्यक्रलाई लिएर प्रत्येक वर्ष प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र अर्को प्रतिपक्षी दल जनता समाजवादी पार्टीले विरोध गर्दै आइरहेका छन् । आर्थिक वर्ष ०७४–७५को बजेट, नीति तथा कार्यक्रममा विरोध नगरेका उनीहरुले आर्थिक वर्ष ०७५–७६मा भने सदनबाहिर रातो किताब जलाएका थिए । सरकार र प्रतिपक्षबीच योजनामा भागबन्डा नमिल्दा बजेट र रातो किताबप्रति विरोध हुने गरेको छ ।



कार्यपरामर्श समितिको बैठकमा लोसपाका प्रदेशसभा सदस्य कृष्णबहादुर चौधरीले विधेयकमाथिको सामान्य छलफलमा भाग लिने कार्यसूची तयारी थियो । तर, सभामुखले उनलाई दुईपटक बोलाउँदा पनि अनुपस्थित देखेपछि कार्यसूचीअनुसार अघि बढाए ।

असार १४ गते चालू आर्थिक वर्षको बजेट बहुमतले पारित भएको थियो । प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा एमाले ओली पक्षका प्रदेश सभा सदस्यहरुको विरोधका बीच बजेट बहुमतले पारित भएको सभामुख अर्जुनबहादुर थापाले घोषणा गरेका थिए ।



नेकपा (माओवादी केन्द्र) र तत्कालीन नेकपा (एमाले) एकीकरण भई बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सरकार हुँदा पनि प्रदेशमा कांग्रेस प्रमुख प्रतिपक्षी दलकै रूपमा थियो भने जनता समाजवादी पार्टी पनि प्रतिपक्षमा थियो । अहिले एमाले र जसपा फुटेपछि पनि नेपाली कांग्रेस प्रमुख प्रतिपक्षकै भूमिकामा छ । 

अहिले सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेससहित एमाले, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी प्रतिपक्षमा छन् । नेकपा माओवादी केन्द्र र एमालेबाट फुटेर गठन भएको माधवकुमार नेपाल नेतृत्वको (एकीकृत समाजवादी) पार्टी सत्तापक्षमा छन् । 

कांग्रेसले सरकारका गतिविधिका विषयमा छलफल गर्न बिहीबार बिहान ११ बजे संसदीय दलको बैठक बोलाएको छ । कांग्रेसले सरकारले बेवास्ता गरेपछि बैठकमा सहभागी नभएको बताए पनि सत्ता गठबन्धनले भने त्यो विषयमा जानकारी नभएको जनाएको छ । एकीकृत नेकपा समाजवादी पार्टीकी प्रमुख सचेतक दुर्गा विकले मंगलबारको बैठकमा कांग्रेसका प्रदेशसभा सदस्यहरु सहभागी नहुने विषयमा सभामुखलाई समेत पूर्वसूचना नदिइएको बताइन् । एक्कासि अनुपस्थित भएपछि बैठक चलेको उनको दाबी छ । 

‘गठबन्धनको बैठकमा उहाँहरु (कांग्रेस)ले गठबन्धनमा भए पनि प्रमुख प्रतिपक्षमै बसेर सरकारलाई रचनात्मक सहयोग गर्ने प्रतिबद्धता जनाएपछि अस्तिदेखि प्रदेशसभाको बैठक सञ्चालन भएको हो,’ विकले भनिन्, ‘तर उहाँहरु हिजो कुनै सूचना नदिई एक्कासि बैठकमा आउनुभएन ।’ 

दुई महिनाअघिदेखि अनिश्चित बनेको सुदूरपश्चिम प्रदेशसभाको बैठक सोमबारदेखि सुरु भएको हो ।
 

  • प्रकाशित मिति : असोज १३, २०७८ बुधबार २१:११:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया