छैटौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ बिहीबार भएको खेलमा होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब विजयी भएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्डहलमा भएको खेलमा न्यु डायमन्डले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा हरायो।
न्यु डायमन्डले निकै प्रतिस्पर्धात्मक पहिलो सेट २७-२५, दोस्रो सेट २५-२२ र तेस्रो सेट २५-२३ ले आफ्नो पक्षमा पार्याे ।
जितसँगै न्यु डायमन्ड समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गर्दा हारका बावजुत आर्मी पनि उपविजेताका रूपमा सेमिफाइनलमा पुग्न सफल भयो।
योसँगै महिलातर्फको सेमिफाइनल समीकरण पूरा भएको छ ।
त्यसअघि विभागीय डर्वी भिडन्तमा नेपाल पुलिस क्लबको चुनौति ३-१ ले पन्छाउँदै नेपाल एपिएफ क्लब समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको थियो । हार व्यहोरे पनि पुलिस उप विजेताका रूपमा सेमिफाइनल पुग्यो।
सेमिफाइनलमा समूह ‘ए’ को विजेता नेपाल एपिएफ क्लब र समूह ‘बी’ को उपविजेता त्रिभुवन आर्मी क्लब प्रतिस्पर्धा गर्नेछन् ।
समूह ‘बी’ को विजेता न्यु डायमन्डले समूह ‘ए’को उपविजेता नेपाल पुलिस क्लबको सामना गर्नेछ । दुवै सेमिफाइनल शुक्रबार हुनेछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।