कार्यकर्तालाई बाबुराम भट्टराईको निर्देशन : वैशाख या जेठमा चुनाव हुने प्रबल सम्भावना छ, फिल्डमा खटिनू

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले आगामी वैशाख या जेठमा चुनाव हुने प्रबल सम्भावना रहेकाले जनातासँग नजिकिन आफ्ना कार्यकर्तालाई निर्देशन दिएका छन् । 

बिहीबार पोखरामा आयोजित जसपाको संगठन सुदृढीकरण तथा जनजागरण (सुज) अभियानलाई सम्बोधन गर्दै उनले पाँचदलीय गठबन्धनको सरकार केपी ओलीको असंवैधानिक प्रवृत्तिविरुद्ध भएको बताए । 

आफ्नो पार्टीलाई राजनीतिमा कसैले पनि दयामाया गरेर अगाडि नबढाएको बताउँदै उनले आफ्नै क्षमताले गठबन्धनमा समावेश भएको बताए । जसपा प्रदेश सरकारमा पनि सहभागी भएको र संघमा पनि सहभागी हुने उनले बताए ।  

सरकारले माधवकुमार नेपाललाई सहयोग गर्नकै लागि दलसम्बन्धी अध्यादेश ल्याएको उनले बताए । सोही अध्यादेशका कारण सरकार गठनमा ढिलाइ भएको तर अब छिट्टै सरकार गठन हुने उनले बताए । 

उनले भारत र चीन दुवैसँगको सम्बन्ध कायम राख्दै अमेरिकाजस्तो शक्तिशाली देशसँग पनि सम्बन्ध चिढाउन नहुने बताए । उनले भने, ‘हामीजस्तो गरिब देशले शक्तिशाली ठूला देशसँग नजिस्क्याउने र सन्तुलित सम्बन्ध राखेर सहयोग लिनुपर्छ ।’ 

आगामी वैशाख या जेठमा चुनाव हुने सम्भावना बढी रहेको जनाउँदै उनले आफ्ना कार्यकर्तालाई जनतासँग नजिकिन निर्देशन दिए । ‘हामी वैकल्पिक शक्तिको रुपमा स्थापित भएका छौं’, उनले भने, ‘हाम्रो नीति, विचार राम्रो छ । तर, कार्यान्वयन गर्न सरकारमा नै हुनुपर्छ । संघीयतामा केन्द्रीयमुखी कार्यक्रमभन्दा पनि प्रदेश र स्थानीय तहले वडास्तरसम्मै आफै कार्यक्रम राख्ने र पार्टी संगठित गर्नुपर्छ । आगामी निर्वाचनमा बहुमत ल्याएर सरकारमा सहभागी हुन सकेमात्र हाम्रा योजना कार्यान्वयन हुन्छन् ।’



उनले समानुपातिक सांसद प्रणाली र प्रत्यक्ष निर्वाचित कार्यकारी (राष्ट्रपति) प्रणालीको कार्यान्वयन गर्नुपर्ने बताए । जनताले राष्ट्रपति चुन्ने र राष्ट्रपतिले दुई–चार जना विज्ञ नियुक्त गरेर सरकार गठन गर्नुपर्ने बताउँदै उनले संसदले सरकार गठन गर्न आवश्यक नरहेको बताए । 



  • प्रकाशित मिति : असोज १४, २०७८ बिहीबार १७:२४:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया