विचार
गर्भनिराेधक चक्कीकाे प्रयाेगले हुन सक्छ क्यान्सर !

मानिसको शरीरमा रहेका सेल्स (कोषिका) वृद्धि हुने एउटा निश्चित दायरा हुन्छ । शरीरका कोषले कस्तो आकार लिने र कतिसम्म वृद्धि हुने भन्ने निश्चित हुन्छ । तर, कहिलेकाहीँ कोष्ष् अनियन्त्रित रूपमा बढ्दा नियमितभन्दा फरक आकार लिन सक्छन् । यसरी कोषहरू अनपेक्षित रूपमा वृद्धि भएर शरीरका अंगको आकार–प्रकारमा फेरबदल आयो भने क्यान्सर भएको हो कि भनेर शंका गर्न सकिन्छ ।

महिलाहरूमा ब्रेस्ट (छाती) र पाठेघरको क्यान्सर धेरै देखिन्छ । महिलाको छातीको आकार यसै पनि ठूलो नै हुन्छ । त्यसकारण पनि छातीको क्यान्सरमा धेरैको ध्यान गएको पाइँदैन । नेपालमा ५ वर्षयता छातीको क्यान्सर रोगीको संख्या धेरै बढेको छ । क्यान्सरपीडित महिलामध्ये २१ प्रतिशत महिलालाई ब्रेस्ट क्यान्सर भएको पाइएको छ ।  

ब्रेस्ट क्यान्सरको पहिलो लक्षण छातीको आकार अनियन्त्रित र अस्वाभाविक तवरमा वृद्धी हुनु हो । तर, छाती ठूलो हुँदैमा क्यान्सर नै भएको हो भन्न नसकिए पनि अप्राकृतिक तवरमा छातीको आकार बढेमा भने शंका गर्न सकिन्छ । छाती अस्वाभाविक रूपमा वृद्धि हुनु, गाँठो देखिनु, छालाको नियमित रंगमा परिवर्तन आउनु, छालामा नसा देखिनु, स्तनको मुन्टोबाट पानी निस्कनुले क्यान्सरको सम्भावना संकेत गर्छन् । 

छातीको क्यान्सर फैलिएर काखी, पेट, गर्धन, मुटु, मस्तिष्क वा फोक्सोसम्म पनि पुग्न सक्छ । तसर्थ छातीको आकारमा देखिने परिवर्तन वा छातीमा कुनै गाँठो देखिएमा सचेत हुनुपर्छ । छातीमा कुनै गाँठो देखियो, तर त्यो गाँठो बढेन वा अन्यत्र फैलिएन भने त्यसलाई क्यान्सर भनिँदैन । यो सामान्य ट्युमर मात्रै हो ।

क्यान्सरको मुख्य प्रवृत्ति भनेको फैलिनु हो । यदि यसरी छातीमा देखिएको गाँठो फैलियो, छातीको आकार बढ्यो र त्यसको प्रभाव अन्यत्र पनि पर्यो भने जाँच गराइहाल्नुपर्छ ।  

छातीमा १५ देखि २० प्रकारका ट्युमर देखिन सक्छन् । तर, यसरी देखिने सबै ट्युमर क्यान्सर भने होइनन् । सुरुकै अवस्थामा क्यान्सर नफैलिने भएकाले छातीमा कुनै अस्वाभाविक वृद्धि देखिनासाथ जाँच गराउनुपर्छ ।



लक्षण देखिएको पहिलो चरणमा आफैँले पनि परीक्षण गर्न सकिन्छ । यसलाई सेल्फ ब्रेस्ट एक्जामिनेसन भनिन्छ । महिनावारी भएको ७ वा ८ दिनमा महिलाले आफैँ आफ्नो छाती नियाल्न सक्छन् । छातीको आकार, प्रकार र गाँठाबारे आफैँ छामेर पत्ता लगाउ सकिन्छ । यस्तो विधि हरेक महिलाले एक महिनामा एकपटक अपनाउँदा राम्रो हुन्छ ।

डा अारती शाहकेही समस्या भएको आशंका लागेमा यसपछि अस्पताल गएर जाँच गर्नुपर्छ । जाँचको विधि हो, अल्ट्रासाउन्ड अर्थात् साधारण भिडियो एक्सरे । ४० वर्षमुनिका महिलाको लागि सामान्य भिडियो एक्सरे गरिन्छ भने ४० वर्ष नाघेका महिलाको हकमा म्यामोग्राम गरिन्छ । म्यामोग्राम भनेको छातीको विशेष प्रकारको एक्सरे हो । म्यामोग्रामको प्रयोगले छातीमा देखिएको कुनै पनि अस्वाभाविक परिवर्तन क्यान्सरको लक्षण हो कि होइन भन्ने कुरा ८५ प्रतिशतसम्म पत्ता लगाउँछ । 



तर, मोटो महिला वा छातीको आकार ठूलो भएका महिलामा यस्ता विधि प्रभावकारी नहुन पनि सक्छन् । यदि यसो भएमा एमआरआई गर्नुपर्छ ।

यति गर्दा पनि क्यान्सर नै हो भन्ने निश्चित नभएमा फाइन निडल एस्पिरेसन साइटोलोजी (एफएनएसी) विधि अपनाइन्छ । यो विधिमा छातीमा देखिएको अस्वाभाविक वृद्धि वा गाँठोमा रहेका कोषलाई सिरिन्जको माध्यमबाट झिकेर जाँच गर्ने गरिन्छ । यो परीक्षणबाट क्यान्सर नै हो भन्ने प्रमाणित भएपछि क्यान्सरको औषधि–उपचार प्रक्रिया सुरु हुन्छ ।

क्यान्सरमा स्टेज (चरण) तोक्ने गरिन्छ । उपचारमा सहज होस् भन्नका लागि क्यान्सरलाई ४ चरणमा विभाजन गरिन्छ ।

पहिलो अर्थात् एक नम्बर स्टेज भन्नाले क्यान्सर लागेकोे निश्चित भएको, तर अन्यत्र कतै नफैलिएको अवस्था भन्ने बुझाउँछ । यो स्टेजमा रहेको क्यान्सर पूर्णतया निको पार्न सकिन्छ ।

दोस्रो अर्थात् दुई नम्बर स्टेज भनेको क्यान्सर देखिएको स्थानबाट थोरै फैलिएको भन्ने बुझाउँछ । जस्तो छातीमा देखिएको क्यान्सर फैलिएर काखीसम्म पुगेको छ भने यसलाई स्टेज दुई भन्ने गरिन्छ । दुई नम्बर स्टेजमा रहेको क्यान्सरलाई पनि निको पार्न सकिन्छ ।

तेस्रो अर्थात् तीन नम्बर स्टेज भन्नाले क्यान्सर देखिएको अंग वा भागभन्दा क्यान्सर टाढासम्म फैलिएको अवस्था भन्ने बुझिन्छ । जस्तो, छातीको क्यान्सर गर्धनसम्म पुगेको छ भने यसलाई तेस्रो चरण भनिन्छ । तीन नम्बर स्टेजमा पुगेको क्यान्सर निको हुने वा नहुने निश्चित गर्न सकिँदैन । यो स्टेजमा उपचार मात्रै गरिन्छ, निको हुने वा नहुने भन्न सकिँदैन ।

चौथो अर्थात् स्टेज चार भन्नाले क्यान्सर देखिएको स्थानबाट धेरै टाढासम्म फैलिएको अवस्थालाई बुझिन्छ । जस्तो, छातीको क्यान्सर लिभर, फोक्सो, मस्तिष्क वा हड्डीसम्म पुगेको छ भने त्यसलाई स्टेज चार भनिन्छ । स्टेज चारमा भने क्यान्सर निको पार्ने सम्भावना लगभग शून्य हुन्छ । बिरामीको सहजताका लागि दुखाइ कम गर्ने औषधि प्रयोग गर्नु नै यो स्टेजको पहिलो प्राथमिकता हुन्छ ।

क्यान्सरको उपचार गर्दा पनि विभिन्न प्रकारका विधि अपनाइन्छन् । पहिलो र लोकप्रिय विधि हो, अप्रेसन गर्ने । स्तनमा क्यान्सर देखिएको छ भने केही भाग वा पूरै काटेर फाल्ने गरिन्छ ।

किमोथेरापी पनि क्यान्सर उपचारको एउटा विधि हो । यो विधिबाट क्यान्सरको औषधि शरीरमा पठाउने गरिन्छ । यसैगरी, रेडियोथेरापी पनि गर्ने गरिन्छ । 

क्यान्सरको उपचारमा हर्मोन थेरापी पनि प्रयोग गरिन्छ । शरीरमा हुने हर्मोनले क्यान्सर पनि गराउँछ र क्यान्सर  निको पनि गराउँछ । हर्मोनका कारण क्यान्सर भएको छ भने हर्मोन थेरापी प्रयोग गर्ने गरिन्छ । ब्रेस्ट क्यान्सरको उपचारका लागि ५ देखि १० वर्षसम्म हर्मोन प्रयोग गरिन्छ ।

क्यान्सरको उपचार विधि लामो हुन्छ । सम्पूर्ण उपचार विधि अपनाइसकेपछि बिरामीलाई पहिलो १ वर्ष तीन महिनाको अन्तरालमा जाँच गर्ने गरिन्छ । त्यसपछि ६ महिनाको अन्तरालमा । त्यसपछि १ वर्षको अन्तरालमा जाँच गर्ने गरिन्छ । यो प्रक्रिया ५ देखि १० वर्षसम्म चल्न सक्छ ।

यति सबै उपचार गरिसकेपछि बिरामी कति समय बाँच्ने भन्ने कुरा महत्वपूर्ण हुन्छ । स्टेज १ र २ मा रहेका बिरामी उपचारपछि कम्तीमा ५ देखि १० वर्ष बाँच्न सक्छन् ।  स्टेज ३ र ४ मा रहेका बिरामी उपचारपछि कम्तीमा १ वर्षदेखि ३ महिनासम्म बाँच्न सक्छन् ।

ब्रेस्ट क्यान्सर हुनै नदिनका लागि हालसम्म कुनै उपाय पत्ता लागेको छैन । तर, सुरुमै रोग पत्ता लगाएर उपचार गर्न सकिन्छ । जसका लागि आफँैले आफ्नो छाती जाँच गर्ने । विशेषगरी, ४० वर्षमुनिका महिलाले आफैँ जाँच गर्ने र ४० वर्षमाथिका महिलाले कम्तीमा पनि वर्षमा एकपटक ब्रेस्टको म्यामोग्राम गर्ने ।

अर्को, परिवारको कुनै पनि सदस्यलाई पहिले क्यान्सर देखिएको छ भने त्यस्ता परिवारका सदस्यले नियमित परीक्षण गराउनुपर्छ । यसबाहेक महिनावारी रोक्ने औषधि प्रयोग गर्ने वा गर्भनिरोधक औषधि प्रयोग गर्ने महिलाले पनि नियमित जाँच गराउनुपर्छ । यस्ता हर्मोन औषधि सकेसम्म प्रयोग नगर्नु नै राम्रो हुन्छ । किनकि क्यान्सरको एउटा महत्वपूर्ण कारक हार्मोन नै हो । सहजै उपलब्ध हुने यस्ता औषधिले शरीरमा हुने हर्मोनको नियमित प्रक्रिया बिथोल्ने र हर्मोनको मात्रा घटबढ गर्ने गर्छन् ।

अर्काे महत्वपूर्ण कुरा, ब्रेस्ट क्यान्सर महिलालाई मात्र होइन, पुरुषलाई पनि हुन सक्छ । पुरुषमा ब्रेस्ट क्यान्सर देखिने सम्भावना १ देखि ४ प्रतिशतसम्म हुन्छ । हालैको एउटा अध्ययनले मोटो महिला र धेरै चिन्ता गर्ने महिलालाई ब्रेस्ट क्यान्सर हुने सम्भावना अधिक रहेको देखाएको छ । यसकारण पनि चिन्तामुक्त जीवन जिउने र कम मोटाउने गर्नुपर्छ ।

ब्रेस्ट क्यान्सरको उपचारकै लागि विदेश जानुपर्दैन । यस क्यान्सरको उपचार नेपालमै सम्भव छ । नेपाल सरकारले गरिब तथा विपन्न परिवारका लागि गम्भीर प्रकृतिका रोगमा स्वास्थ्य उपचार कोषमार्फत औषधिउपचारमा छुट र अनुदान दिने गर्छ । 

क्यान्सर, मृगौला तथा मुटुरोगमा सरकारबाट स्वास्थ्य उपचारमा अनुदान र छुट पाइन्छ । यसबाहेक केही वर्षयता सरकारले स्वास्थ्य बिमा पनि गरिरहेको छ । स्वास्थ्य बिमा गरियो भने सानो रोग मात्रै होइन, ठूलो रोग लाग्दा पनि उपचार शुल्क जुटाउन सजिलो हुन्छ । 
 

(डा. शाह, वरिष्ठ क्यान्सर रोग विज्ञ हुन् )

  • प्रकाशित मिति : कात्तिक ८, २०७५ बिहीबार १४:३७:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया