ओलीको भूराजनीतिक बुझाईः चीन–भारत सीमा विवाद र अफगानिस्तान घटनाका बाछिटाले नेपालमा तनाव सृजना गर्नसक्ने

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीबाट हटेपछि पहिलो पटक चीन, भारत र अमेरिकासँगको सम्बन्धका विषयमा मुख खोलेका छन् । 

उनले आज एमालेको विधान महाधिवेशनलाई सम्बोधन गर्दै चीन र भारतबीचको बढ्दो तनाव तथा अफगानिस्तान घटनाका बाछिटाले नेपाल लगायत विश्वमा तनाव सृजना गर्नसक्ने बताए । 

‘चीन र भारतबीच सुरु हुन लागेको संवाद, समझदारी र सहकार्यलाई तनाव र सीमा विवादले विस्थापित गर्दै लगेको छ । दुई देशबीच संवाद भएपनि समस्या कायम छ । दुई देशबीचको तनावको असर दक्षिण एसियामा अनुभूत भइरहेको छ,’ अध्यक्ष ओलीले भने । 

भारत र पाकिस्तानबीच पनि तनाव जारी रहेको स्मरण गर्दै उनले भारतसँग नेपाल लगायत बिभिन्न छिमेकी मुलुकका कतिपय विवादित विषय समाधान हुन सकेकोमा असन्तुष्टी जनाए ।  

चिनियाँ विशेषता सहितको समाजवाद निर्माणमा चीनले हाँसिल गरेको प्रगति अभूतपूर्व रहेको उनले बताए । सन् २०२० मा चीनले गरेको आफ्ना सबै नागरिक गरिवीबाट मुक्त भएको घोषणाको उनले प्रशंशा गरे । विश्वमा चीन उदाहरणीय बनेको उल्लेख गर्दै उनले सफलताको लागि चीन र चिनियाँ जनता बधाई समेत दिए । 

‘अफगानिस्तानबाट अमेरिका र नेटो गठबन्धनका सैनिकहरु २० वर्षपछि पछाडि हटेका छन् । त्यसले स्पष्ट पारेको छ जुनसुकै वहानामा गरिएपनि बाह्य हस्तक्षेप र आक्रमण गलत हो । त्यसको असफलता अनिवार्य छ । कुनै पनि देशको समस्याको समाधानको जिम्मा सम्बन्धित देशका जनताको हो । बाहय शक्तिको होइन,’ सम्बोधनका क्रममा अध्यक्ष ओलीले अफगानिस्तानमा हस्तक्षेप गरेर अमेरिकाले गलत गरेको बताए ।  



उनले अफगानिस्तानमा पछिल्ला दिन भएका घटनाले विश्वलाई नै असर गर्ने जनाए । उनले अगाडि भने, ‘अफगानिस्तान घटनाका बाछिटा दक्षिण एसियामा पर्नसक्ने र अफगानिस्तानलाई लिएर भूराजनीतिक तनाव सृजना हुनसक्ने सम्भावनालाई पनि ध्यानमा राख्दै नेपाल खुला रुपमा अहस्तक्षेप, लोकतन्त्र, खुलापन र क्षेत्रीय शान्तिको पक्षमा दृढतापूर्वक उभिनुपर्दछ ।’  

चीन–भारत सम्बन्धको प्रभाव नेपाल लगायत दक्षिण एसिया र समग्र विश्वमा गहिरो गरी परेको अध्यक्ष ओलीले बताए । 



‘हामी चीन र भारत लगायतको सीमा समस्या र मतभिन्नताहरु चाँडै समाधान हुन् र दुई देशबीच सार्थक साझेदारी विकास होस् भन्ने चाहन्छौं । यसले विकास र सहयोग त्रिदेशीय सहकार्यको सम्भावना पनि बढ्नेछ,’ उनले स्पष्ट शब्दमा भने । 

आफ्नो भूभाग कुनै पनि छिमेकी तथा मित्रराष्ट्रहरूको विरुद्ध प्रयोग हुन नदिने नीतिमा नेपाल दृढ रहेको दाबी उनले गरे । नेपाल एक चीन नीतिमा अडिग रहेको उनले बताए । 

नेपाल–भारत सीमामा अपराध नहोस् र आतंककारीहरूले लाभ उठाउन नसकुन् भन्ने विषयमा भारतको चासो रहेको उनले जनाए । भारतसँगको व्यापार घाटा, लिपुलेक लिम्पियाधुरा, कालापानी र सुस्ता क्षेत्रमा नेपाली भूभाग फिर्ता, नेपालको आन्तरिक मामिलामा हुने अनावश्यक चासो र हस्तक्षेप जस्ता विषयमा नेपालको चासो र सरोकार रहेको उनले बताए ।  

‘हामी हाम्रा छिमेकीका जायज चासो र  सरोकारप्रति सजग छौं । त्यस्तै सजगता र सम्मान हामी हाम्रा मित्रराष्ट्र र विशेषत हामी छिमेकीहरूबाट चाहन्छौं । दुई देशबीचको समस्यालाई जिम्मेवार कुटनीतिक पहलका माध्यमबाट समाधान गर्न हामी चाहन्छौं,’ ओलीले भने ।  

नेपाल नयाँ र न्यायपूर्ण विश्व व्यवस्थाको पक्षमा दृढतापूर्वक उभिएको उनले बताए । 
 


  • प्रकाशित मिति : असोज १५, २०७८ शुक्रबार १५:५:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया